Nepal Life

आइपिओ एफपिओ भनेको के हो ? कसरी दिने आवेदन ?

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Thu 04:45
आइपिओ एफपिओ भनेको के हो ?  कसरी दिने आवेदन ?
Sanima Reliance

काठमाडौं । नेपालमा दोस्रो बजारमा भन्दा प्राथमिक बजारमा सर्वसाधारणको आकर्षण धेरै छ । सिडिएससीकै तथ्याङ्क अनुसार ५९ लाख भन्दा धेरै डिम्याट खाता सञ्चालनमा छ । यति धेरैको संख्यामा डिम्याट खाता भए पनि अधिकाम्सलाई शेयर बजारको सामान्य जानकारी पनि हुँदैन त्यसैले के कसरी लगानी गर्ने भनेर अलमलिरहेका हुन्छन् । 

NIMB

अहिले अधिकांश नेपाली जनताहरु सेयर र सेयर बजारप्रति आकर्षित छन् । त्यसमा पनि आईपिओ र एफपिओप्रतिको आकर्षण झनै बढेको छ । कुनै पनि कम्पनीले आईपिओ र एफपिओ जारी गरेको अवस्थामा अत्यधिक रूपमा परेको आवेदनले यो कुरालाइ पुष्टि गर्दछ ।

अहिले सेयर बजारमा दिनहुँजसो हजारौं लगानीकर्ता प्रवेश गरिरहेका छन । तीमध्ये कतिपयलाई सेयर र सेयर बजारको बारेमा सामान्य ज्ञानको समेत अभाव छ । कुनै पनि कम्पनीको सेयरमा लगानी गर्नुअघि आधारभूत पक्षमा जानकारी राख्न जरुरी छ । प्राथमिक सेयर बजार दोस्रो बजारभन्दा जोखिम न्यून भएको बजार हो । यो बजारमा प्रवेश गर्नका लागि धेरै ठूलो रकमको आवश्यकता पनि पर्दैन । न्यूनतम रु ५००० रुपैयाँ भए हामीले प्राथमिक सेयरमा लगानी गरी सेयर बजारमा प्रवेश गर्नसक्छौ । प्राथमिक सेयर बजार दोस्रो बजारमा छिर्ने माध्यम पनि हो । केहि कम्पनीले प्रिमियममा शेयर निष्काशन गरिरहेकाले यस्तो लगानी अलि बढि चाहिन्छ । यति बेला थुप्रै कम्पनीका साधारण सेयर(आइपिओ र एफपिओ) निश्कासनका लागि पाइपलाइनमा छन् । 

के हो आइपीओ र एफपीओ ?

कुनै पनि कम्पनीको विकास र विस्तारको लागि पुँजीको आवश्यकता पर्दछ । पूँजीको आवश्यकता भएपछि कम्पनीको साधारणसभाले निर्णय गरी आइपिओ तथा एफपिओ निश्कासन गर्ने काम गर्दछ । साधारणसभाबाट पारित आइपिओ र एफपिओ निश्कासन कम्पनी आफैले गर्न नसक्ने भएकोले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सेयरको निश्कासन तथा बिक्री प्रबन्धकको नियुक्ति गरिन्छ । बिक्री प्रबन्धकलाई मर्चेन्ट बैंक पनि भनिन्छ । यी संस्थाले कम्पनीको सेयरको निशसनको सम्पूर्ण जिम्मा लिने गर्दछन् ।

पब्लिक कम्पनीले पुँजी संकलनका लागि प्रथमपटक निश्कासन गरेको सेयरलाई आइपिओ भनिन्छ भने पब्लिक कम्पनीले एकपटक आइपिओ जारी गरिसकेपछि पुनः पुँजी संकलन गर्न फेरि सर्वसाधारणलाई सेयर बिक्री गर्दछ भने त्यसलाई एफपिओ भनिन्छ । हामीकहाँ धेरैजसो एफपिओ प्रिमियम मूल्यमा आउने गर्दछ । अंकित मूल्यभन्दा बढी भाउ राखेर सेयर बिक्री गरिएमा बढी मूल्यलाई सेयर प्रिमियम भनिन्छ । यहाँ अंकित मूल्य भनेको एकसय रुपैयाँ हो । जस्तै, कुनै कम्पनीको अंकित मूल्य सयमा तीनसय रुपैयाँ थपेर चार सयमा सेयर जारी गरियो भने तीनसय रुपैयाँ प्रिमियम मूल्य हो ।

एक कित्ता आइपीओ रु १०० रुपैयाँमा खरिद गर्न सकिन्छ भने एफपिओको मूल्य एकसयभन्दा बढी हुन्छ । तर, विगत तीन बर्षसम्म नाफा आर्जन गर्न नसकेको कम्पनीले प्रिमियममा एफपिओ जारी गर्न पाउँदैन । थप पुँजीको आवश्यकता परेपछि सर्वसाधारणलाई कम्पनीको केही सेयर हिस्सा बिक्री गरेर पुँजी संकलन गर्न आइपिओ र एफपिओ बिक्री गर्न कम्पनीहरुले विभिन्न मर्चेन्ट बैंकलाई बिक्री प्रबन्धक तोकेका हुन्छन् । जस्तैः सानिमा क्यापिटल, एनमबी क्यापिटल, सिद्धार्थ क्यापिटल, लक्ष्मी क्यापिटल,  नबिल क्यापिटल, भिवोर क्यापिटल, एनआईसि क्यापिटल आदि ।

कुनै पनि कम्पनीले आइपिओ र एफपिओ निष्कासन का लागि दर्खास्त लिने कार्य बिक्री खुल्ला भएको मितिबाट सामान्यतया न्युनतम चार दिन र अधिकतम पन्ध्र दिनसम्म राखेका हुन्छन् । हामीहरुले यो चार दिनभित्रमा आईपिओ र एफपिओ खरिद गरिसक्नु पर्छ । किनभने कम्पनीलाई चाहिने आवेदन यो चार दिनभित्रै परिसकेको हुनसक्छ, कम्पनीलाई चाहिने आवेदन परेपछि बिक्री बन्द हुन्छ । आईपिओमा न्यूनतम ५० कित्ता रु ५००० रुपैयाँको आवेदन दिन सकिने हामीकहाँ चलन छ । तर, यो भन्दा कम पनि गर्न नमिल्ने भन्ने चाहिँ होईन, जस्तै उन्नति माईक्रो फाईनान्स कम्पनीले आइपिओमा रु १००० आवेदन गर्नसक्ने अबसर दिएको थियो ।

प्राथमिक बजारबाट आईपिओ र एफपिओ खरिद गर्न पनि डिम्याट खाता अनिवार्य हुनु पर्दछ । डिम्याट खाता बैंक तथा वित्तीय संस्था र ब्रोकर कम्पनीको कुनै पनि शाखामा गएर खोल्न सकिन्छ । डिम्याट खाताको बारेमा अर्को सेयर शिक्षा श्रृंखलामा बिस्तृत रुपमा वर्ण गरिनेछ ।

कसरी आवेदन गर्ने ?

अहिले पहिला–पहिलाको जस्तो बैंक तथा बैंकका शाखाहरु र आईपिओ एफपीओ निश्कासन अनुमति पाएका बिक्री प्रबन्धक(मर्चेन्ट बैंक)मा गएर घण्टौसम्म लाइनमा बसेर सेयर आवेदन दिनुपर्ने अवस्थाको अन्त्य भइसकेको छ । यस मानेमा नेपाली सेयर बजारले एउटा ठूलो फड्को मारेको छ ।

त्यसो भए अहिले सेयर आवेदन कसरी गर्ने हो त ? 

वर्तमान अवस्थामा दुई तरिकाले तपाईहरुले सेयर आवेदन गर्न सक्नुहुन्छ । पहिलो सी–आस्वा प्रणाली र दोस्रो आस्वा प्रणालीबाट ।  

सी–आस्वा प्रणाली भनेको के हो ? यो प्रणालीबाट कसरी सेयर आवेदन गर्न सकिन्छ ?

ईन्टरनेटको माध्यमबाट घरमै बसी बसी कम्प्युटर तथा मोबाईल वा यस्तै डिभाइसबाट सेयर आवेदन दिन सकिने व्यवस्थालाई सी–आस्वा प्रणाली भनिन्छ । यो प्रणालीबाट सेयर आवेदन दिन लगानीकर्ताले आफ्नो बैंक खाता भएको बैंकमा गएर सुरुमा सी–आस्वा प्रणालीको एक्सेस(सुविधा) लिनलाई आवेदन दिनु पर्छ । त्यसपछि बैंकले लगानीकर्ताको पहिचान गरी सफ्टवेरमा भेरिफिकेसन गरिदिनेछ र लगानीकर्तालाई एउटा भेरिफिकेसन कोड दिनेछ, जसलाई सिआरएन(सी–आस्वा रजिस्ट्रेसन नम्बर) भनिन्छ । यहि कोड नम्बर प्रयोग गरी लगानीकर्ताले बैंकमा नगई हरेक पटक आईपिओ र एफपिओ घरमै बसेर जुनसुकै समयमा भर्न सक्नेछन् । अहिले सबै बाणिज्य बैंक र केही अन्य वित्तीय संस्थाले यो सुविधा प्रदान गरिरहेका छन् ।

आस्वा प्रणाली भनेको के हो? यो प्रणाली बाट कसरी सेयर आवेदन दिने ?

सेयरको सार्वजनिक निश्कासनमा आवेदन दिने आवेदकको पैसा सेयरको बाँडफाँड नहुञ्जेलसम्म आवेदककै खातामा रोक्का हुने व्यवस्था आस्वा प्रणाली हो ।

लगानीकर्ताले सेयरको सार्वजनिक निश्कासनका लागि धितोपत्र बोर्डबाट दरखास्त संकलन गर्न अनुमतिप्राप्त र आफ्नो खाता रहेको बैंक वा वित्तीय संस्थाबाट मात्र दर्खास्त लिनुपर्ने हुन्छ । दर्खास्त फाराम सम्बन्धित बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराउँछन् । यसरी आफ्नो बैंक खाता रहेको बैंक वा वित्तीय संस्थामा गएर फारम भरेर बुझाएर सेयर आवेदन गर्ने प्रणालीलाई आस्वा प्रणाली भनिन्छ ।

दुबै तरिकाबाट सेयर खरिदका लागि आवेदन प्राप्त गर्ने बैंक वा वित्तीय संस्थाले सेयर बाँडफाँड नहुञ्जेलसम्म झिक्न नपाउने गरी आवेदकको खातामा रहेको रकममध्ये दरखास्तमा माग गरे बमोजिमको सेयर किन्न लाग्ने रकम तत्काल रोक्का राख्दछ । सेयर बाँडफाँड भएको बढीमा तीन चार दिनभित्र सेयर नपर्ने आवेदकको रोक्का रकम फुकुवा गरिनेछ भने सेयर पर्ने आवेदकको बाँडफाँडमा परेका सेयर बापतको रकम निश्कासन तथा बिक्री प्रबन्धकको खातामा स्थानान्तरण गरेपछि बाँकी रकम फुकुवा हुनेछ । 

सी–आस्वा र आस्वामा के भिन्नता छ ?

सी–आस्वा सम्बन्धी सेवा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई एकै केन्द्रीकृत प्रणालीमा आबद्ध भई लगानीकर्ताको डिम्याट खाता र बैंक खाताको रुजु गरी रुजु भएका लगानीकर्ताको आवेदन मात्र प्रविश्टी गर्ने प्रणाली नै सी–आस्वा हो । अर्थात ईन्टरनेटको सहायतामा घरमै बसेर कम्प्युटर र मोबाइलबाट सेयर आवेदन गर्ने प्रणाली सी–आस्वा हो भने लगानीकर्ताले आस्वा सेवा प्रदान गर्ने बैंक वा वित्तीय संस्थामा गएर सेयर फारम भरेर सेयर आवेदन गर्ने प्रणाली आस्वा प्रणाली हो ।

इन्टरनेट र प्रविधिमा पहुँच भएका व्यस्त लगानीकर्ताहरुले सी–आस्वा प्रणालीबाट सेयर आवेदन गर्न सक्छन् भने इन्टरनेट प्रविधिमा पहुँच नभएका फुर्सद भएका लगानीकर्ताहरुले आफ्नो बैंक खाता भएको बैंकमा गएर फारम भरेर सेयर आवेदन गर्न सक्छन्, तर दुवै तरिकाबाट आवेदन गर्दा सिआरएन नम्बर अनिवार्य चाहिन्छ ।

यसरी नयाँ लगानीकर्ताहरुले आईपिओ र एफपिओको बारेमा बुझेर यी दुई तरिकाबाट सेयर आवेदन गर्न सक्नुहुनेछ ।

यो पनि पढ्नुहोस 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया