बैंक तथा वित्तीय संस्थालाई अपाङ्गमैत्री सेवा विस्तार गर्न राष्ट्र बैंकको निर्देशन
- BFIS News
- 2026 May 23 14:04
काठमाडौँ, जेठ ९ गते । नेपाल राष्ट्र बैंक ले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक तथा साक्षरता नभएका व्यक्तिलाई सहज बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई विशेष निर्देशन दिएको छ ।
केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै यस्ता ग्राहकका लागि विशेष काउन्टरमार्फत सेवा दिनुपर्ने व्यवस्था गरेको हो ।
निर्देशनअनुसार प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्गमैत्री बनाउनुपर्ने तथा त्यस्ता शाखाको विवरण सम्बन्धित संस्थाले आफ्नो वेबसाइटमा अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्नेछ ।
यसैगरी, एटिएम लाउञ्ज भएका स्थानमा कम्तीमा एक अपाङ्गमैत्री एटिएम राख्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्ता एटिएममा ब्रेल लिपि संकेत र ध्वनि सहयोग प्रणाली हुनुपर्नेछ ।
बैंक तथा वित्तीय संस्थाले दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिका लागि मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ लगायत डिजिटल सेवा सहज रूपमा प्रयोग गर्न सक्ने गरी प्रणाली विकास गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।
त्यस्तै, दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न सक्ने गरी वेबसाइट तथा मोबाइल एप विकास गर्नुपर्ने र क्रेडिट तथा डेबिट कार्डमा समेत दृष्टिविहीनमैत्री प्रविधि समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
निर्देशनमा अतिरिक्त समयमा काम गर्ने कर्मचारीलाई प्रचलित कानुनअनुसार अतिरिक्त पारिश्रमिक दिनुपर्ने तथा कर्मचारीलाई जबर्जस्ती अतिरिक्त समयमा काममा लगाउन नपाइने व्यवस्था समेत स्पष्ट गरिएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)











प्रतिक्रिया