बाध्यात्मक मर्जरको यथार्थलाई बुझेर मिलेर जानुको विकल्प छैन, प्रभु महालक्ष्मी लाइफका सिइओ भट्टराईसँगको अन्तर्वार्ता
- BFIS News
- 2023 Oct Sun 10:59
काठमाडौं । मर्जरको पहिलो दुई महिनामै राम्रो सिनर्जी निकाल्न सफल प्रभु महालक्ष्मी लाइफले रणनीतिक रुपमा व्यवसाय विस्तार गरिरहेको छ । मर्जर अगाडी नै दुई कम्पनीका कर्मचारी र अभिकर्तालाई मिलन गराउदै उदाहरणीय काम गरेको प्रभु महालक्ष्मी लाइफले अभिकर्तादेखि कर्मचारी व्यवस्थापकको पाटोलाई लगभग सल्टाइसकेको छ । बैंक बीमा क्षेत्रमा चार दशक भन्दा लामो अनुभवी प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको कार्य कुशलताका कारण साना भन्दा साना कुराहरुलाई पनि कम्पनीले व्यवस्थापन गर्न सफल भएको छ ।
मर्जर तथा आर्थिक मन्दीले जीवन बीमा व्यवसायमा परेको असर लगायतका विषयमा केन्द्रित भइ बिएफआइएस न्युजले प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईसँग लिएको अन्तर्वार्ता :
साविक प्रभु लाइफ र महालक्ष्मी लाइफ मर्जर भए पछि जीवन बीमा व्यवसायमा कत्तीको सिनर्जी प्राप्त भएको छ ?
मर्जर लगत्तै ब्यवसायमा सिनर्जी प्राप्त भैहाल्छ भन्ने हुँदैन। मर्जर पछि कर्मचारी ब्यवस्थापन र शाखा उपशाखा मिलान गर्नु पर्ने हुन्छ। दुई वर्किङ कल्चरमा काम गरिरहेका कर्मचारीलाई एउटै कल्चरमा ल्याउने काम र एकीकृत प्रणालीको विकास गर्ने प्रकृयाँ तथा कर्मचारी र अभिकर्ता तालिम सम्पन्न गर्न समय दिनु पर्ने हुन्छ। यी सबै काम भैसके पछि बल्ल एउटा राम्रो वातावरण बन्छ, अनि मात्र ब्यवसायमा सिनर्जी आउट।त्यसैले तपाईले भने जस्तो सिनर्जी आउन केही समय कुर्नै पर्छ।
मर्जर अगाडी एक किसिमको वर्किङ कल्चरमा काम गर्दै आएका कर्मचारीहरुलाई मर्जर पछिको अवस्थामा सहजै काम गराउन कित्तीको गाह्रो पर्ने रहेछ ?
परिवर्तनलाई सहजै स्विकार गरिएको अवस्थामा फरक कल्चरबाट आउदा पनि काम गराउन गारो हुदैन। तर हामी कहाँ त्यति सहज अवस्था देखिन्दैन। कम्पनी प्रति स्वामित्व लिएर काम गर्ने संस्कार र जागिरे मेन्टालिटी लिएर सुबिधा मात्र खोज्ने संस्कारलाई मिलाएर लैजान नढाटी भन्दा गारो नै हुने रहेछ।
पोष्ट मर्जर पछि बैंक बीमा कम्पनीमा कर्मचारीदेखि लिएर धेरै कुराहरुमा समस्या देखिदै आएको छ । हालसम्मको अवस्थामा प्रभु महालक्ष्मी लाइफले कस्ता कस्ता समस्या झेल्दै आइरहेको छ ?
संसार कै मर्जरको ईतिहास हेर्ने हो भने पनि ७०/७५ प्रतिशत मर्जरको अवस्था राम्रो देखिएको छैन। मर्जरमा कर्मचारी ब्यवस्थापन नै सबै भन्दा ठूलो चुनौति हो। हामी कहाँ काम गर्ने शाखा उपशाखा स्तरमा खासै समस्या छैन। तर प्रधान कार्यालयमा उच्च स्तरका कर्मचारी बढी हँदा मिलाउन गाह्रो छ। बिभागहरुको बाँडफाँड, अधिकारको प्रत्यायोजन, शंका उपशंकाको वातावरण तथा ईगो र दम्भ नै समस्याको रुपमा देखा परेको छ। यो सबै स्थितिलाई सहमति, समझौता र अलि लो प्रोफाईलमा बसेर मिलाउन सकिन्छ। तर केहि समय पर्खनु चाहिँ पर्छ।
मर्जर पछि बीमा कम्पनीबाट कर्मचारी घट्ने क्रम एकदमै बढेको छ । यसको प्रमुख कारण के होला ?
मर्जरको मुख्य फाईदा भनेकै कर्मचारी खर्च र कम्पनी संचालन खर्चमा कटौती हो। मर्जर पछि दुबै संस्थाका खर्च मात्र बढाउने शाखाहरु बन्द गर्ने, अनुत्पादक कर्मचारीहरु कटौती गर्ने र दुबै संस्थामा रहेका बेष्ट कर्मचारी र प्राक्टिसलाई निरन्तरता दिने रहेको हुन्छ। त्यो अवस्थामा कर्मचारी संख्या घटदै जानू स्वभाविक नै हो।
अहिले मर्जर पछिको ठुलो समस्या कर्मचारी व्यव्थापनमा देखिदै आएको छ । हिजोका दिनमा आ-आफ्नो कम्पनीमा प्रमुख कार्यकारी अधिकृत भएर बसेका मध्ये एक जना सिनियर डिसिइओको रुपमा खुम्चिनु परेको छ। त्यस्तै हिजोका दिनमा विभागिय प्रमुख भएकाहरु मध्ये कतिपयको पोर्टफेलियो घटेको छ। यस्तो अवस्थामा उहाँहरुको साथ सहयोग कत्तीको पाउनु भएको छ?
अधिकार र सुबिधा कटौती हुँदा असन्तष्टी हुनु स्वभाबिकै हो। परिवर्तनलाई सबैले स्विकार गरेको अवस्था छैन। चाहे र सोचे जस्तो उच्च तहका कर्मचारी र संचालक समितिबाट सहयोग पाईएको छैन। प्रतिफल दिन गाह्रो रहेको स्थिति र लगानीकर्ताले लगानी थप्न नचाहेको अवस्थामा बाध्यात्मक मर्जर भएको यथार्थ हामी सबैले बुझ्नु पर्छ। गर या छोडको अवस्था छ। मिलेर जानुको बिकल्प छैन।
प्रभु महालक्ष्मी लाइफले बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी कसरी जुटाउदैछ?
मर्जर पछि हाम्रो चुक्ता पूँजी ४ अर्ब २९ करोड ६० लाख पुगिसकेको छ। बीमा प्राधिकरणले तोकेको पाचँ अर्बको चुक्ता पूँजी पुर्याउन ९० करोडको एफपिओ जारि गर्ने बिषयमा मर्जर एग्रिमेन्ट मै उल्लेख छ। बीमा प्राधिकरणले मर्जर गरेर पनि पूँजी नपुग्ने कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न दिने सुबिधा दिएको छ। प्रभु महालक्ष्मी लाईफको सन्दर्भमा संचालक समितिको आगामी बैठकले यस बिषयमा के गर्ने भनी निर्णय गर्नेछ।
कम्पनीले हकप्रद निष्काशन गर्ने कुरा आइरहेको छ । पहिला मर्जर कि एफपिओ? एफपिओको मोडालिटी के हुन्छ ?
कम्पनीले हकप्रद निष्काशन गरेको अवस्थामा पनि बीमा ऐनले तोके बमोजिम संस्थापक र पब्लिकको शेयर ७०:३० को अनुपातमा पुर्याउन एफपिओ जारि गर्नै पर्छ। हकप्रद पहिले कि एफपिओ पहिले भनी निर्णय गर्ने काम संचालक समिति र साधारण सभाको हो। जे गर्दा लगानीकर्तालाई फाईदा हुन्छ, त्यहि पहिले हुन्छ होला।
जीवन बीमा व्यवसायमा आर्थिक संकटको प्रभाव कस्तोको परेको छ?
बर्तमान आर्थिक संकटले जीवन बिमा ब्यवसायलाई पनि नराम्ररी प्रभाबित पारेको छ। पहिले पहिले बार्षिक २५/३० प्रतिशतले हुने ब्यवसाय वृद्धि हुँदै आएकोमा गत आब २०७९/८० मा ३ प्रतिशतको हाराहारिमा झरेको छ। जीवन बीमाको प्रकृति अनुसार लामो अवधिको ब्यवसाय त झनै ३० प्रतिशतको अनुपातमा घटेको छ। खान लाउन र ब्यवसाय चलाउन नसकेको अवस्थामा बीमा प्राथमिकतामा परेको छैन। सहकारी संस्थाहरु डुब्नु, लघु बित्त वित्तीय संस्थाहरु समस्यामा पर्नु र बैंकहरुबाट सहजै कर्जा प्रवाह नहुनुले आर्थिक गतिबिधि चलायमान हुन सकेको छैन। त्यो स्थितिमा यो चालू आर्थिक बर्षमा पनि बीमा ब्यवसाय झनै ओरालो लाग्ने स्थिति देखिदैछ।
समग्र अर्थतन्त्र नै कमजोर बन्दै गइरहेको छ। नेपालको वित्तीय क्षेत्रमा हजुरले चार दशक भन्दा लामो समय विताइसक्नु भएको छ। अर्थतन्त्रको सुधारको पाटोमा तपाईको अनुभवले के भन्छ?
नेपालको अर्थतन्त्र सारै सानो छ। ५४ खर्ब जिडिपि बराबर। थोरै प्रयासले मात्र पनि राम्रो गर्न सकिन्छ। तर बिगतमा कृषि र साना मझौला उधोगको उत्पादनमा जोड दिनु पर्नेमा मान्छे निर्यातमा जोड दियौ। कृषि र उधोग दुबै ओरालो लाग्यो।निर्यातको सट्टा आयातमा आधारित राजस्व नीति लियौ। आयात घट्यो, सरकार टाट पल्टने अवस्थामा पुग्यो। बैंकहरुको कर्जा उत्पादन क्षेत्रमा जानू पर्नेमा घर जग्गा, शेयर र सिमित धनाड्यको हातमा पुग्यो। बैंकहरु एकदम नाजुक अवस्थामा पुगे। फलस्वरुप देश चरम आर्थिक मन्दिमा गयो।
अब यसबाट वच्न देशले दरो, ईमान्दार र भिजन भएको नेतृत्व खोजेको छ। सामाजिक सुरक्षामा गईरहेको खर्बौ रकम रोकेर युवाहरुलाई देशमै काम गर्ने बाताबरण बनाउनु पर्छ। कृषि, जडिबुटि, फलफुल, पशुपन्क्षी पालन र पर्यटन उधोगलाई प्रोत्साहन गर्नु पर्छ।
आजको २१ औं शताव्दिमा बस्तु र सेवाको निर्यात भन्दा प्रबिधि निर्यातमा जोड दिनु पर्छ। बिकसित देश सबै डिजिटल ईकोनोमिमा गैसके। प्राबिधिक शिक्षालाई खुला र प्रोत्साहन गर्नु पर्छ। यस्मा जति सक्दो लगानि बढाउनु पर्छ। शिक्षित युवालाई देशमा रोक्न सफ्टवेयर निर्माण र निर्यातमा जोड दिनु पर्छ। यसलाई सरलिकरण, सहजिकरण र अवरोध मुक्त बनाउनु पर्छ। अनि मात्र देश आर्थिक रुपमा चलायमान र समृद्ध हुन सक्छ।
प्रतिक्रिया