सुस्तामा तटबन्ध निर्माण रोक्न एसएसबीको दबाब, काम स्थगित
- BFIS News
- 2026 Jun 01 12:39
काठमाडौं, जेठ १५ गते । नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन तटबन्धको काम रोक्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले दबाब दिएपछि निर्माण कार्य स्थगित भएको छ।
सुस्ता गाउँपालिका–५ मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत निर्माण हुन लागेको १३२ मिटर लामो तटबन्धको काम रोक्न एसएसबीको टोली निर्माणस्थलमा पुगेको बताइएको छ। उक्त टोलीले क्षेत्रलाई विवादित भन्दै काम तत्काल रोक्न आग्रह गरेको जनाइएको छ।
नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले एसएसबीले नयाँ तटबन्ध निर्माण रोक्न आग्रह गरेको पुष्टि गर्दै यसअघि निर्माण भइरहेको अर्को तटबन्धको काम भने जारी रहेको जानकारी दिनुभयो। उहाँका अनुसार दुवै पक्षका अधिकारीबीच सहमति भएपछि मात्र नयाँ संरचना निर्माण गर्न एसएसबीले प्रस्ताव गरेको छ।
सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले हातहतियारसहित आएको एसएसबी टोलीले निर्माणस्थलमा पुगेर काम रोक्न निर्देशन दिएको बताउनुभयो। उहाँले उक्त क्षेत्र नेपालको भूभाग भएको दाबी गर्दै तटबन्ध निर्माण रोकिँदा सुस्ता क्षेत्र बाढीको जोखिममा पर्न सक्ने उल्लेख गर्नुभयो।
नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत पर्ने सुस्ता क्षेत्रमा लामो समयदेखि सीमा सम्बन्धी विवाद रहँदै आएको छ। कटान र डुबान नियन्त्रणका लागि सरकारले करोडौँ रुपैयाँ लगानीमा तटबन्ध निर्माण गरिरहेको अवस्थामा निर्माण कार्य रोकिएपछि स्थानीय तहले चासो व्यक्त गरेको छ।
घटनाबारे नेपाल र भारतका सम्बन्धित निकायबीच थप छलफल हुने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)











प्रतिक्रिया