विद्युतमा लगाइएको भ्याट फिर्ता हुँदैन, उपभोक्तालाई मार नपर्ने विकल्प ल्याइन्छ : अर्थमन्त्री
- BFIS News
- 2026 Jun 01 12:58
काठमाडौँ, जेठ १८ — अर्थमन्त्री स्वर्णिम वाग्ले ले विद्युत् उपभोगमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी निर्णयबाट सरकार पछाडि नहट्ने स्पष्ट पार्नुभएको छ। यद्यपि अन्तिम उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी विभिन्न विकल्पबारे छलफल भइरहेको उहाँले बताउनुभयो।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार आयोजना गरेको ‘पोस्ट बजेट’ छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले आगामी साउनदेखि नै उपभोक्तामैत्री व्यवस्था लागू गरिने संकेत गर्नुभयो।
उहाँले भन्नुभयो, “विद्युतमा भ्याट आएको छ, आउँछ पनि। तर उपभोक्तालाई मार नपर्ने गरी हामीले विकल्पहरूबारे सोचिरहेका छौँ।”
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि कर लाग्ने व्यवस्था गरिएपछि यसको व्यापक आलोचना भइरहेको छ। त्यसबारे प्रतिक्रिया दिँदै अर्थमन्त्री वाग्लेले सरकारले ठूलो राजनीतिक तथा नीतिगत साहसका साथ यो निर्णय गरेको बताउनुभयो।
उहाँका अनुसार विगतमा पनि विद्युतमा भ्याट लगाउने विषय उठे पनि कार्यान्वयन हुन सकेको थिएन। “सबै कुरा निःशुल्क वितरण गर्ने हो भने अवस्था बिग्रिन सक्छ,” भन्दै उहाँले आयमा आधारित करभन्दा उपभोगमा आधारित कर प्रणालीतर्फ सरकार अघि बढेको स्पष्ट पार्नुभयो।
अर्थमन्त्री वाग्लेले बजेटले आगामी पाँच वर्षको नीतिगत दिशा तय गरेको उल्लेख गर्दै राम्रो सोच र सकारात्मक उद्देश्यका साथ अर्थतन्त्रलाई बलियो बनाउने प्रयास गरिएको बताउनुभयो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया