NIMB Header 2
Nepal Life

प्रमोटर सेयर बिक्रीमा चलखेल भएको आरोप, लगानीकर्ताद्वारा अर्थमन्त्री र सेबोनको ध्यानाकर्षण

IME LIFE
  • BFIS News
  • 2026 Jun 19 17:55
प्रमोटर सेयर बिक्रीमा चलखेल भएको आरोप, लगानीकर्ताद्वारा अर्थमन्त्री र सेबोनको ध्यानाकर्षण
United Ajod

काठमाडौं । पुँजी बजारमा प्रमोटर सेयरको लक-इन अवधि समाप्तिपछि हुने कारोबारमा कृत्रिम मूल्य नियन्त्रण, बजार चलखेल तथा सर्वसाधारण लगानीकर्तामाथि अन्याय भइरहेको आरोप लगाउँदै लगानीकर्ताहरूले अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्ड (सेबोन) को ध्यानाकर्षण गराएका छन्।

Nepal Life
NIMB

अर्थमन्त्री र सेबोन अध्यक्षलाई सम्बोधन गर्दै पठाइएको ध्यानाकर्षण पत्रमा बजार नियमन कमजोर बन्दा वित्तीय अवस्था कमजोर रहेका तथा ऋणात्मक प्रतिसेयर आम्दानी (नेगेटिभ ईपीएस) भएका केही कम्पनीका प्रमोटरहरूले दोस्रो बजारलाई आफ्नो सेयर बिक्री गर्ने माध्यमका रूपमा प्रयोग गरेको आरोप लगाइएको छ।

पत्रमा तीन वर्षे लक-इन अवधि समाप्त भएपछि प्रमोटरहरूले ठूलो परिमाणमा सेयर बिक्री गर्ने र त्यसक्रममा केही ब्रोकरमार्फत कृत्रिम माग सिर्जना गरेर मूल्यलाई अस्वाभाविक रूपमा स्थिर राख्ने अभ्यास भइरहेको दाबी गरिएको छ। लगानीकर्ताहरूले यस्तो गतिविधिले बजारको वास्तविक माग र आपूर्तिको अवस्था प्रतिबिम्बित नगर्ने तथा अन्ततः सर्वसाधारण लगानीकर्तालाई घाटा व्यहोर्नुपर्ने अवस्था सिर्जना गर्ने बताएका छन्।

ध्यानाकर्षण पत्रमा एउटै ब्रोकरमार्फत ठूलो परिमाणमा सेयर आपूर्ति भइरहँदा अन्य ब्रोकरमार्फत ती सेयर निरन्तर खरिद गरेर मूल्यलाई निश्चित तहमा कायम राख्ने प्रयास हुने गरेको उल्लेख गरिएको छ। प्रमोटरहरू बजारबाट बाहिरिएपछि माग घट्ने र मूल्यमा तीव्र गिरावट आउने अवस्थाले आम लगानीकर्ता प्रभावित हुने उनीहरूको भनाइ छ।

लगानीकर्ताहरूले यस्ता गतिविधिमाथि नियामक निकायले प्रभावकारी निगरानी गर्न नसकेको आरोप लगाउँदै पाँच बुँदे माग अघि सारेका छन्।

उनीहरूले प्रमोटर र सर्वसाधारण सेयरका लागि छुट्टाछुट्टै डुअल आईएसआईएन प्रणाली लागू गर्न, ठूला लगानीकर्ता वा प्रमोटरले सेयर बिक्री गर्नुअघि कम्तीमा १५ दिन अगावै सार्वजनिक सूचना दिनुपर्ने व्यवस्था गर्न तथा शंकास्पद कारोबारमा संलग्न ब्रोकरहरूको फरेन्सिक अडिट गर्न माग गरेका छन्।

त्यस्तै, वित्तीय अवस्था कमजोर रहेका वा आयोजनाको ऋण दायित्व पूरा नगरेका कम्पनीका प्रमोटरलाई निश्चित अवधिसम्म न्यूनतम सेयर स्वामित्व कायम राख्नुपर्ने व्यवस्था गर्नुपर्ने र कृत्रिम मूल्य नियन्त्रण, कर्नरिङ तथा इनसाइडर ट्रेडिङमा संलग्न पाइए कानुनअनुसार कडा कारबाही गर्नुपर्ने माग पनि पत्रमा उल्लेख छ।

लगानीकर्ताहरूले पुँजी बजारलाई देशको अर्थतन्त्रको महत्वपूर्ण आधार मानेका छन्। बजारमा पारदर्शिता, उत्तरदायित्व र निष्पक्षता कायम गर्न नियामक निकायले तत्काल आवश्यक कदम चाल्नुपर्ने उनीहरूको जोड छ। साथै, बजारमा देखिएका विकृति र अनियमितताप्रति समयमै सम्बोधन नभए लगानीकर्ताको विश्वास थप कमजोर हुने चेतावनी पनि पत्रमा दिइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया