बलेफी गाउँपालिकाले अध्यक्ष–उपाध्यक्षको घरभाडामा खर्च गर्यो ४.२० लाख, महालेखाद्वारा अनियमित ठहर
- BFIS News
- 2026 Jul 12 16:36
काठमाडौं, असार २८ महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले अध्यक्ष र उपाध्यक्षका लागि कानुनी आधारबिना घरभाडा उपलब्ध गराएर ४ लाख २० हजार रुपैयाँ खर्च गरेको उल्लेख गरिएको छ।
प्रतिवेदनअनुसार बागमती प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७५ मा स्थानीय तहका अध्यक्ष तथा उपाध्यक्षलाई घरभाडा सुविधा उपलब्ध गराउने व्यवस्था छैन। तर गाउँपालिकाले अध्यक्ष र उपाध्यक्षका लागि सरकारी खर्चमा घर भाडामा लिएको पाइएको हो।
महालेखाका अनुसार गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङका लागि मदनकुमार तामाङको घर मासिक २० हजार रुपैयाँमा भाडामा लिई आर्थिक वर्षभर २ लाख ४० हजार रुपैयाँ भुक्तानी गरिएको थियो। त्यसैगरी उपाध्यक्ष सरु लामा तामाङका लागि श्रीदेवी श्रेष्ठको घर मासिक १५ हजार रुपैयाँमा भाडामा लिई १ लाख ८० हजार रुपैयाँ खर्च गरिएको उल्लेख छ।
यसरी अध्यक्ष र उपाध्यक्षको आवास व्यवस्थापनका नाममा गरिएको ४ लाख २० हजार रुपैयाँ खर्च कानुनमा व्यवस्था नभएको सुविधा भएकाले अनियमित भएको महालेखा परीक्षकको कार्यालयले औंल्याएको छ।
यस विषयमा गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले उक्त आर्थिक वर्षमा घरभाडा लिएको स्वीकार गर्दै महालेखाले अनियमित ठहर गरेपछि उक्त रकम फिर्ता गरिसकिएको बताएका छन्।
महालेखाले स्थानीय तहले सार्वजनिक स्रोतको उपयोग गर्दा प्रचलित कानुन तथा सेवा–सुविधासम्बन्धी व्यवस्था कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिएको छ। कानुनी आधारबिनाका सुविधा उपलब्ध गराउँदा राज्यकोषमा अनावश्यक भार पर्ने र वित्तीय अनुशासन कमजोर हुने जोखिम रहने प्रतिवेदनमा उल्लेख गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया