नबिल बैंकमा मुरारी अर्यालको ३२ वर्षको समर्पण, ५ हजार प्रतिस्पर्धीबाट छनोट भएर बने प्रखर बैंकर
- BFIS News
- 2026 Jul 29 12:58
काठमाडौं। कुनै संस्थामा तीन दशकभन्दा बढी समयसम्म निरन्तर सेवा गर्नु आफैंमा एउटा इतिहास हो। अझ परिवर्तन, चुनौती, अवसर र अनुभवका अनेकौँ मोड पार गर्दै एउटै संस्थासँग आफ्नो व्यावसायिक जीवन जोडिरहनु झन् दुर्लभ उपलब्धि हो। नबिल बैंक (तत्कालीन नेपाल अरब बैंक) मा ३२ वर्ष सेवा गरेर हालै अवकाश प्राप्त गरेका मुरारी अर्यालको यात्रा यस्तै प्रेरणादायी छ। उनको यो यात्रामा समर्पण, इमानदारीता, निरन्तर सिकाइ र संस्थाप्रतिको निष्ठाले भरिएको छ।
काठमाडौंको सरस्वतीनगर निवासी अर्यालले २८ अगस्ट १९९४ मा नेपाल अरब बैंकमा सहायक (Assistant) पदबाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए। विज्ञान संकायबाट बीएस्सी उत्तीर्ण गरेपछि व्यवस्थापन क्षेत्रमा प्रवेश गर्ने योजना भने उनको थिएन। तर साथीले विज्ञापन फारम भरिदिए पछि बल्ल उनले के रहेछ भनेर चासो व्यक्त गरे। करिब पाँच हजार प्रतिस्पर्धीबीच आफ्नो नाम सफल उम्मेदवारको सूचीमा परेको क्षणलाई उनी आज पनि जीवनको निर्णायक मोडका रूपमा सम्झिन्छन्। “मैले बैंकिङ रोजेको होइन, अवसरले मलाई बैंकिङसम्म ल्यायो,” उनी मुस्कुराउँदै भन्छन्। जवकी जुन साथिले उनको फारम भराइदिएका थिए उनकै भने नाम निष्किएन।
शाखादेखि व्यवस्थापनसम्मको अविरल यात्रा
अर्यालको बैंकिङ यात्रा एउटा शाखामा सीमित रहेन। विराटनगरबाट सुरु भएको उनको सेवा कान्तिपथ, जोरपाटी, पोखरा, नेपालगञ्ज, नारायणगढ, कौशलटार, तुलसीपुर, घोराही हुँदै पुनः काठमाडौंसम्म फैलियो। यसबीच उनले टेलर, क्यासियर, क्लियरिङ अफिसर, अपरेसन इन्चार्ज, क्रेडिट इन्चार्ज, शाखा प्रबन्धक, क्लस्टर हेडदेखि क्रेडिट रिस्क म्यानेजमेन्टका जिम्मेवारीसम्म सफलतापूर्वक निर्वाह गरे।
उनको करियरको अर्को महत्वपूर्ण अध्याय कतारको दोहामा सञ्चालन गरिएको रेमिट्यान्स परियोजनाको नेतृत्व थियो। अन्तर्राष्ट्रिय अनुभवसँगै उनले बैंकिङ व्यवस्थापनको फराकिलो दृष्टिकोण पनि हासिल गरे।
करियरको अन्तिम चरणमा उनी क्रेडिट रिस्क म्यानेजमेन्ट विभागमा व्यवस्थापक (Manager) का रूपमा कार्यरत रहे र सोही जिम्मेवारीबाट सम्मानपूर्वक अवकाश लिए।
एउटै संस्थाप्रतिको अटल विश्वास
निजी बैंकिङ क्षेत्रमा कर्मचारीहरूले राम्रो अवसर खोज्दै संस्था परिवर्तन गर्नु सामान्य मानिन्छ। तर अर्यालले भने अनेक आकर्षक प्रस्तावका बाबजुद नबिल बैंक छोडेनन्।
उनका अनुसार विभिन्न विकास बैंकबाट प्रमुख कार्यकारी अधिकृत (CEO) बन्ने प्रस्तावसमेत आएका थिए। तर संस्थाको दीर्घकालीन स्थायित्व, सुशासन र आफ्नो कार्यसंस्कृतिप्रतिको विश्वासका कारण उनले ती अवसर अस्वीकार गरे।
उनका लागि जागिर केवल पदोन्नतिको दौड थिएन; संस्थाप्रतिको प्रतिबद्धता, जिम्मेवारी र व्यावसायिक नैतिकता अझ महत्वपूर्ण थियो।
अध्ययन कहिल्यै रोकिएन
बैंकिङ सेवासँगै अर्यालले आफ्नो शैक्षिक यात्रालाई पनि निरन्तर अघि बढाए। उनले एमबीए पूरा गरे, एलएलबी अध्ययन गरे, नेपाल बार काउन्सिलको लाइसेन्स परीक्षा उत्तीर्ण गरे र हाल अर्थशास्त्रअन्तर्गत क्रेडिट रिस्क म्यानेजमेन्ट विषयमा विद्यावारिधि (PhD) को अन्तिम चरणमा पुगेका छन्। उनको अनुसन्धान नेपाली बैंकिङ प्रणालीको क्रेडिट जोखिम व्यवस्थापनलाई कौटिल्य अर्थशास्त्रको दृष्टिकोणसँग जोडेर अध्ययन गर्ने विषयमा केन्द्रित छ। यसले उनको परिचय सफल बैंकर मात्र नभई अनुसन्धानमुखी व्यक्तित्वका रूपमा पनि स्थापित गरेको छ।
बैंकिङ प्रणालीप्रति स्पष्ट दृष्टिकोण
तीन दशकभन्दा लामो अनुभवले अर्याललाई नेपालको निजी बैंकिङ प्रणालीलाई नजिकबाट बुझ्ने अवसर दियो। उनका अनुसार बाहिरबाट व्यवस्थित देखिने बैंकिङ क्षेत्रभित्र अझै पनि नीति कार्यान्वयन, सरुवा, पदोन्नति र संस्थागत सुशासनका क्षेत्रमा सुधार आवश्यक छ। उनले मेहनती कर्मचारीहरू वर्षौं एउटै पदमा सीमित रहँदा केही कर्मचारी भने छोटो अवधिमै अस्वाभाविक रूपमा माथिल्लो तहमा पुग्ने प्रवृत्तिलाई चुनौतीका रूपमा औँल्याउँछन्।
उनको विचारमा संस्थागत पारदर्शिता, निष्पक्ष मूल्यांकन र सक्षम नेतृत्वले मात्र बैंकिङ क्षेत्रलाई दीर्घकालीन रूपमा सबल बनाउन सक्छ।
अनुभवलाई साहित्यमा उतार्ने प्रयास
बैंकिङ जीवनका उतारचढावले अर्याललाई अर्को यात्रातर्फ पनि डोर्यायो 'लेखन'। सन् २०१७–१८ तिर विराटनगरमा कार्यरत रहँदा उनले बैंकिङ प्रणालीभित्र देखेका व्यवस्थापकीय कमजोरी, कर्मचारीका पीडा र कार्यस्थलका यथार्थलाई डायरीमा टिप्न थाले। ती अनुभवलाई उनले प्रत्यक्ष संस्मरण नभई काल्पनिक कथाको स्वरूपमा साहित्यिक कृतिमा रूपान्तरण गर्ने निर्णय गरे।
“रिपोर्ट लेखेर मात्र पाठक आकर्षित हुँदैनन्। अनुभवलाई कथामा बदल्दा त्यसले धेरैलाई छुन्छ,” उनको विश्वास छ। उनको उद्देश्य कसैलाई आरोप लगाउनु होइन, बरु बैंकिङ जीवनका यथार्थलाई साहित्यमार्फत समाजसामु प्रस्तुत गर्नु हो। उनले नेपालको कर्पोरेट पोलिटिक्सलाई उजागर गर्दै 'चुतिया क्लब' नामक पुस्तक बिमोचन गरेका छन्।
अवकाश होइन, नयाँ यात्राको सुरुआत
औपचारिक सेवाबाट अवकाश लिए पनि अर्यालको सक्रियता रोकिएको छैन। अनुसन्धान, लेखन र ज्ञान बाँड्ने अभियानलाई उनले आफ्नो दोस्रो इनिङका रूपमा अघि बढाइरहेका छन्।
उनका लागि ३२ वर्षको बैंकिङ यात्रा केवल रोजगारीको अवधि होइन, जीवनको सबैभन्दा महत्वपूर्ण विद्यालय हो, जहाँ उनले जिम्मेवारी, नेतृत्व, धैर्यता, संघर्ष र निरन्तर सिकाइको पाठ सिके। अवकाशपछि सामाजिक सञ्जालमार्फत उनले नबिल परिवारप्रति भावुक सन्देश पनि व्यक्त गरेका छन्।
“नबिल बैंकमा बिताएका हरेक पल र यहाँहरूबाट पाएको अगाध माया मेरो जीवनको अमूल्य सम्पत्ति हो। मेरो अवकाशको अवसरमा मलाई यति आत्मीय र भव्य बिदाइ दिनुहुने नबिल परिवारका सम्पूर्ण साथीहरूमा हृदयदेखि नै हार्दिक धन्यवाद। भविष्यमा पनि हाम्रो यो आत्मीयता यसरी नै कायम रहोस्।”
मुरारी अर्यालको यात्रा एउटा कर्मचारीको सेवावृत्त मात्र होइन; अवसरलाई समर्पणमा, अनुभवलाई ज्ञानमा र संघर्षलाई प्रेरणामा रूपान्तरण गर्न सकिने उदाहरण पनि हो। निजी बैंकिङ क्षेत्रमा प्रवेश गर्ने नयाँ पुस्ताका लागि उनको जीवनकथाले एउटा महत्वपूर्ण सन्देश दिन्छ। सफलता केवल पदमा होइन, इमानदार यात्रा र छोडेर जाने सकारात्मक विरासतमा पनि मापन गरिन्छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया