मन्त्रिपरिषद्का पाँच निर्णय : विद्युतीय एम्बुलेन्समा कर छुटदेखि एनसेलको प्रतिवेदन सार्वजनिक गर्नेसम्म
- BFIS News
- 2026 Aug 11 17:06
काठमाडौं । सरकारले विद्युतीय सवारीसाधनबाट सञ्चालन हुने एम्बुलेन्स तथा शव वाहनमा कर छुट दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
मन्त्रिपरिषद् बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। सरकारले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो निर्णय गरेको हो।
त्यस्तै, सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। शहीद घोषणा हुनेमा सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र कुमार मेहता तथा सिराहाका गणेश कुमार यादव रहेका छन्।
बैठकले पोर्चुगल सरकारलाई काठमाडौंमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने निर्णय पनि गरेको छ। यससँगै नेपालमा पोर्चुगलको कन्सुलर सेवा विस्तारका लागि बाटो खुलेको छ।
यसैगरी, मन्त्रिपरिषद्ले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा बाराका निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा ढुंगालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको २०८० सालको प्रतिवेदन सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)





.jpg)


प्रतिक्रिया