अपर हेवाखोलालाई १ः१ हकप्रद सेयर निष्कासनको अनुमति, ५७ लाख ५० हजार कित्ता जारी गर्ने
- BFIS News
- 2026 Aug 25 11:32
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ। आयोगले भदौ २ गतेको बैंठकबाट कम्पनीलाई हकप्रद सेयर निष्कासनको अनुमति दिएको हो।
स्वीकृतिअनुसार कम्पनीले चुक्ता पुँजीको १०० प्रतिशत अर्थात् ५७ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका आधारमा हकप्रदबाट कम्पनीले ५७ करोड ५० लाख रुपैयाँ पुँजी जुटाउनेछ।
कम्पनीको १४औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८१/८२ का लागि १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ५७ करोड ५० लाख रुपैयाँ पुगेको छ। सोही पुँजीका आधारमा कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो। अर्थात् कम्पनीका १०० कित्ता सेयर भएका सेयरधनीले थप १०० कित्ता हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीले हकप्रदबाट जुटेको रकममध्ये ५१ करोड रुपैयाँ १५ मेगावाट क्षमताको सिसुवा खोला जलविद्युत् आयोजनामा लगानी गर्ने जनाएको छ। उक्त रकम आयोजनाको प्रवर्द्धक कम्पनी मातृभूमि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीमा ५१ प्रतिशत स्वामित्व कायम गर्न प्रयोग गरिनेछ।
बाँकी ६ करोड ५० लाख रुपैयाँ भने कन्सोर्टियम बैंकबाट लिएको ऋणको किस्ता भुक्तानीमा प्रयोग गरिनेछ। सेबोनले पनि हकप्रदबाट प्राप्त रकममध्ये ६ करोड ५० लाख रुपैयाँ टर्म लोन भुक्तानीमा प्रयोग गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ।
अपर हेवाखोलाले संखुवासभा जिल्लामा ८.५ मेगावाट क्षमताको जलविद्युत् आयोजना सञ्चालन गर्दै आएको छ। कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि वितरण गरेको १५ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा समेत सूचीकृत भइसकेको छ।
हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ। यसबाट कम्पनीको जलविद्युत् आयोजनामा लगानी क्षमता विस्तार हुनुका साथै सिसुवा खोला आयोजनामा स्वामित्व बढाउने योजना कार्यान्वयनमा जानेछ।
जुन २०२६ सम्मको तथ्यांकअनुसार कम्पनीको सेयर बजार मूल्य प्रतिकित्ता ५९० रुपैयाँ रहेको थियो। सो समयमा कम्पनीको बजार पुँजीकरण ३ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो। कम्पनीको ५२ साताको उच्च मूल्य ६९२.६० रुपैयाँ र न्यून मूल्य ५१४ रुपैयाँ रहेको छ। अब कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाए पछि मात्रै हकप्रद शेयर निष्काशनको अनुमति पाउनेछ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया