सर्वोत्तम सिमेन्टको आइपिओ मंसिर ६ गतेदेखि, बुक विल्डिङ विधि अनुसार संस्थागत लगानीकर्ताले बोलकबोल गर्ने
- BFIS News
 - 2023 Nov 03 09:33
 
                    
काठमाडौं । सर्वोत्तम सिमेन्टले यहि मंसिर ६ गतेदेखि बुक विल्डिङ विधिबाट नेपालमै पहिलो पटक प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले यस विधिअनुसार संस्थागत लगानीकर्ताहरुलाई चार दिनसम्म बोलकबोलका लागि आह्वान गर्नेछ । नेपाल धितोपत्र बोर्डमा सूचिकृत कम्पनीहरुले मंसिर १० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । इच्छुक संस्थागत लगानीकर्ताले न्युनतम ४०१ रुपैयाँदेखि ६०१.५० रुपैयाँको विचमा बोलकबोल गर्नु पर्नेछ ।
कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर बुक बिल्डिङ्ग प्रक्रियामार्फत निष्काशन गर्न अनुमति पाएको थियो। सोमध्ये ४० प्रतिशत अर्थात २४ लाख कित्ता शेयरका लागि शुरुमा बिक्री मूल्य सीमा ५०१ रुपैयाँदेखि ७५१ रुपैयाँ रहेको रहेकोलाई परिमार्जन गरी बिक्री मूल्य सीमा ४०१ रुपैयाँ देखि ६०१.५० रुपैयाँ कायम गरिएको छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह-निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ। योग्य संस्थागत लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्जको रजिष्टर्ड कार्यालय, यूएनआई शान्तिमार्ग, भद्रकालीमा गई बोलपत्र आवेदन फाराम रितपूवर्तक भरी शिलबन्दी गरिएको गोप्य बोलपत्र फाराम बुझाउन सक्ने छन् ।
बोलपत्र पेश गर्ने अन्तिम मितिको भोलीपल्ट धितोपत्र बजारले योग्य संस्थागत लगानीकर्ताहरुलाई निष्काशित धितोपत्र पूर्ण रुपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको कट अफ मूल्य निर्धारण भएको जानकारी गराउनेछ।
कट अफ मूल्य निर्धारण गरेपछि सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कटअफ मूल्यमा बाँडफाँट गरिनेछ। कबोल गरिएको मूल्य कट अफ मूल्यभन्दा कम भएमा त्यस्तो योग्य संस्थागत लगानीकर्तालाई धितोपत्र नगरिने कम्पनी जनाएको छ।
शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रुपले वित्तयि दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ।
कम्पनीको उद्योग नवलपरासी जिल्ला, सुनवल नगरपालिका वडा नं. ११, जोडेनीमा रहेको छ। कम्पनीले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आइरहेको छ। सो उद्योगको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट रहेको छ। उद्योगले डेनमार्कको भीआरएम प्रविधि प्रयोग गरिरहेको छ।
                        ![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)







                                                            
                                                            
                                                            
                                                            
                                                            









प्रतिक्रिया