NIMB Header 2
Nepal Life

बालेन सरकारले सर्भेयरको लागि छुट्टै सफ्टवेयर बनाउदै, एउटैले धेरै अरूले कामै नपाउने अवस्थाको अन्त्य

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Sep 08 21:39
बालेन सरकारले सर्भेयरको लागि छुट्टै सफ्टवेयर बनाउदै, एउटैले धेरै अरूले कामै नपाउने अवस्थाको अन्त्य
United Ajod

काठमाडौं । बालेन नेतृत्वको सरकारले बीमा दाबी मूल्यांकनका क्रममा सर्भेयर खटाउने प्रणालीलाई थप पारदर्शी, निष्पक्ष र स्वचालित बनाउन छुट्टै सफ्टवेयर निर्माण गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पहलमा निर्माण भइरहेको उक्त सफ्टवेयर सञ्चालनमा आएपछि सर्भेयरलाई काम खटाउने अहिलेको अभ्यासमा व्यापक परिवर्तन आउने अपेक्षा गरिएको छ।

Nepal Life
NIMB

सर्भेयर नियुक्ति तथा काम बाँडफाँडमा देखिँदै आएको असमानता हटाउन अटोमेसन प्रणाली विकास गर्न लागिएको हो। हाल केही सर्भेयरले लगातार धेरै काम पाउने र कतिपयले पर्याप्त अवसर नै नपाउने गुनासो बढ्दै आएपछि सरकारले सफ्टवेयरमार्फत स्वचालित प्रणाली लागू गर्न लागेको हो।

एउटै सर्भेयरलाई बारम्बार काम दिने अभ्यास अन्त्य गर्ने तयारी

हाल निर्जीवन बीमा कम्पनीहरूले दाबीको प्रकृति र आवश्यकताका आधारमा सर्भेयर खटाउँदै आएका छन्। तर, सर्भेयर छनोट र काम वितरणमा पर्याप्त पारदर्शिता नभएको तथा केही सीमित व्यक्तिले दोहोर्‍याएर धेरै काम पाउने गरेको गुनासो सर्भेयरहरूबाट समेत उठ्दै आएको थियो।

बीमा क्षेत्रसँग सम्बन्धित अधिकारीका अनुसार नयाँ प्रणालीको मुख्य उद्देश्य यही असमानतालाई हटाउनु हो। सफ्टवेयरमा बीमा प्राधिकरणमा दर्ता भएका सक्रिय सर्भेयरहरूको विस्तृत प्रोफाइल समावेश गरिनेछ। उनीहरूको विशेषज्ञता, अनुभव, क्षतिको प्रकृति तथा आवश्यक प्राविधिक क्षमतासहित विभिन्न मापदण्डका आधारमा प्रणालीले सर्भेयर छनोट गर्ने व्यवस्था मिलाइने गरी सफ्टवेयरको निर्माण भएरहेको छ।

दाबी वा क्षतिको विवरण सफ्टवेयरमा प्रविष्ट भएपछि त्यसको प्रकृतिअनुसार प्रणालीले स्वचालित रूपमा उपयुक्त सर्भेयरहरूको सिफारिस गर्ने बताइएको छ। प्रारम्भिक अवधारणा अनुसार सफ्टवेयरले एउटै दाबीका लागि तीन जना उपयुक्त सर्भेयर सिफारिस गर्न सक्नेछ।

यसबाट बीमा कम्पनीले व्यक्तिगत पहुँच वा सीमित समूहमा आधारित भएर सर्भेयर छनोट गर्ने अभ्यासलाई कम गर्दै थप वस्तुगत आधारमा निर्णय गर्नुपर्ने अवस्था बन्ने अपेक्षा गरिएको छ।

कम्पनीहरूले तत्काल सर्भेयर खटाउन भने पाउने

नयाँ सफ्टवेयर निर्माणाधीन रहेकाले अहिले सर्भेयर खटाउने काम भने रोकिएको छैन। अधिकारीहरूका अनुसार सफ्टवेयर सञ्चालनमा नआउँदासम्म बीमा कम्पनीहरूले विगतदेखि अपनाउँदै आएको प्रक्रियाअनुसार नै आवश्यक सर्भेयर खटाउनेछन्। यसको अर्थ सर्भेयरको काम ठप्प हुने वा बीमा दाबीको सर्भेक्षण रोकिने अवस्था नरहेको सम्बन्धित पक्षले स्पष्ट पारेका छन्।

विशेषगरी दुर्घटना, आगलागी, बाढीपहिरो तथा अन्य ठूला क्षतिपछि तत्काल सर्भेयर खटाउनुपर्ने भएकाले सफ्टवेयर तयार नहुँदासम्म अहिलेको प्रणालीलाई निरन्तरता दिनुपर्ने अवस्था रहेको बताइएको छ।

प्रधानमन्त्री कार्यालयले बनाउँदैछ सफ्टवेयर

कुराकानीमा सहभागी अधिकारीका अनुसार प्रधानमन्त्री कार्यालयले सफ्टवेयर विकासका लागि प्राविधिक टोली परिचालन गरिसकेको छ। बीमा उद्योग र नियामक निकायको आवश्यकताअनुसार प्रणाली तयार पार्न प्राविधिक सहयोग तथा सुझावसमेत आवश्यक पर्नेछ।

निर्जीवन बीमा क्षेत्रले भने सफ्टवेयर बीमा व्यवसायको व्यावहारिक आवश्यकता बुझेर निर्माण हुनुपर्नेमा जोड दिएको छ। उद्योगको आवश्यकता र दाबी व्यवस्थापनको वास्तविक प्रक्रियासँग मेल खाने प्रणाली बनेमा यसले बीमा क्षेत्रमा निष्पक्षता, पारदर्शिता र संस्थागत विश्वसनीयता बढाउने अपेक्षा गरिएको छ।

सम्बन्धित पक्षका अनुसार काम सुरु भएको करिब एक साताजति भएको छ र प्रारम्भिक रूपमा करिब १५ दिनभित्र प्रणालीको प्रारम्भिक स्वरूप तयार हुने अपेक्षा गरिएको छ। यद्यपि, प्राविधिक परीक्षण, उद्योगको आवश्यकता र प्रणाली सञ्चालनका क्रममा देखिने चुनौतीका कारण कार्यान्वयनको समय केही फरक पर्न सक्नेछ।

नयाँ प्रणालीमा कम्पनीहरूले छुट्टै आफ्नै रोस्टर बनाएर सीमित सर्भेयरलाई मात्र काम दिने अभ्यासलाई निरुत्साहित गर्ने तयारी गरिएको छ। बीमा प्राधिकरणमा विधिवत् दर्ता भई सक्रिय रहेका सर्भेयरहरू नै प्रणालीको आधार बन्नेछन्।

सक्रिय सर्भेयरहरूले आफ्नो विशेषज्ञता र व्यावसायिक प्रोफाइल सफ्टवेयरमा अद्यावधिक गर्न सक्ने व्यवस्था मिलाइने बताइएको छ। त्यसपछि दाबीको आकार, क्षतिको प्रकृति, प्राविधिक जटिलता र सर्भेयरको विज्ञताका आधारमा उपयुक्त व्यक्ति छनोट हुने प्रणाली विकास गरिनेछ।

यसले विशेष प्रकारको क्षतिका लागि सम्बन्धित विषयमा अनुभव र क्षमता भएका सर्भेयरलाई प्राथमिकता दिन सक्ने अपेक्षा गरिएको छ।

ठूलो दाबीको मूल्यांकनमा विशेषज्ञता चुनौती

तर, सर्भेयरलाई पूर्ण रूपमा स्वचालित प्रणालीमार्फत पालोका आधारमा काम बाँड्ने विषयमा केही व्यावहारिक चुनौती पनि देखिएका छन्। विशेषगरी ठूला औद्योगिक, जलविद्युत् तथा जटिल प्राविधिक प्रकृतिका दाबीमा सामान्य पालोको आधारमा मात्र सर्भेयर खटाउन उपयुक्त नहुने बीमा कम्पनीहरूको धारणा छ।

बीमा उद्योगका अधिकारीहरूका अनुसार यसअघि पनि ठूला तथा जटिल दाबीको मूल्यांकन अनुभवी र विशेषज्ञ सर्भेयरहरूले गर्दै आएका छन्। त्यस्ता सर्भेक्षणलाई पुनर्बीमा कम्पनीहरूले समेत स्वीकार गर्ने भएकाले ठूलो ‘लस रिस्क’को मूल्यांकनमा सर्भेयरको विशेषज्ञता प्रमुख आधार हुनुपर्ने तर्क गरिएको छ।

अर्कोतर्फ सर्भेयरहरूको समूहले भने कामको बाँडफाँड पूर्ण रूपमा पारदर्शी र अटोमेसन प्रणालीमा आधारित हुनुपर्ने माग गर्दै आएको छ। उनीहरूले यस विषयमा प्रधानमन्त्री कार्यालयलाई समेत जानकारी गराउँदै आफ्ना धारणा प्रस्तुत गरेका छन्।

यही कारण कामको समान वितरण र जटिल दाबीका लागि आवश्यक विशेषज्ञता बीच सन्तुलन कसरी कायम गर्ने भन्ने प्रश्न नयाँ सफ्टवेयरको सबैभन्दा महत्वपूर्ण चुनौती बन्ने देखिएको छ।

पारदर्शिताको अपेक्षा, कार्यान्वयनमा परीक्षा

सर्भेयर खटाउने प्रणालीमा अटोमेसन लागू भएमा बीमा क्षेत्रमा लामो समयदेखि उठ्दै आएको काम वितरणको विवाद कम हुने अपेक्षा गरिएको छ। एउटै व्यक्ति वा सीमित समूहले निरन्तर धेरै काम पाउने र अन्य योग्य सर्भेयर अवसरबाट वञ्चित हुने अवस्थालाई नियन्त्रण गर्न नयाँ प्रणाली प्रभावकारी हुन सक्ने विश्वास गरिएको छ

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया