Nepal Life

घोराही सिमेन्टको आईपीओ निष्कासन खुला गर्ने निर्णय, छानबिन भने जारी नै रहने

Global Ime detail Page
  • BFIS News
  • 2023 Jul Thu 07:02
घोराही सिमेन्टको आईपीओ निष्कासन खुला गर्ने निर्णय, छानबिन भने जारी नै रहने
Sanima Reliance

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आईपीओ विवाद सम्बन्धमा छानबिन जारी राख्दै निष्कासन खुला गरिने भएको छ । नेपाल धितोपत्र बोर्डले जाचबुझ समितिको प्रतिवेदनका आधारमा कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिएका लगानीकर्ताको रकम बन्धक नबनाउने उद्देश्यसहित निष्कासन खुला गर्न बाटो खोलिदिने निर्णय गरेको हो ।

NIMB

बोर्डले कम्पनीको आईपीओ खरीदका लागि सर्वसाधारणहरूको करीब रू. ३ अर्ब ६१ करोड रकम बन्धक भएको पुष्टि गरेको छ । त्यस्तै वैदेशिक रोजगारीमा गएका नेपाली र उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गरिएको शेयर बाँडफाँट भई रू. २९ करोड ४६ लाख ७८ हजार २०० कम्पनीको खातामा रकमान्तर समेत भएको जानकारी बोर्डले दिएको छ ।

आर्थिक वर्ष ०७९/८० समेत समाप्त हुन लागेको अवस्थालाई ध्यानमा राखेर बोर्डले छानबिनलाई निरन्तरता दिई सार्वजनिक निष्कासन प्रक्रियालाई भने खुला गर्ने निर्णय गरेको जानकारी बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले दिएका छन् । बोर्डले आगामी निष्कासनका लागि सि–आस्बा प्रणालीमा दर्ता भएका आवेदकहरूको हकमा आवेदन गरेको शेयर कित्ता थपघट गर्न वा आवेदन फिर्ता तथा खारेज गर्नसक्ने व्यवस्था समेत गरेको श्रेष्ठको भनाइ छ । 

आवेदन फिर्ता वा थपघट गर्न निष्कासन तथा विक्री प्रबन्धकले सूचना प्रकाशित गरेको मितिले तीन दिनको समय दिने जानकारीसमेत प्रवक्ता श्रेष्ठले दिएका छन् । धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम १० को उपनियम (२) मा उपनियम (१) बमोजिमको अवधिभित्र निष्कासन गरिएको सबै धितोपत्र विक्री नभएमा संगठित संस्थाले त्यस्तो दरखास्त भएको मितिले बढीमा १५ दिनका लागि धितोपत्रको दरखास्त खुला राख्न सक्ने व्यवस्था छ ।

यसर्थ थप गरिएको तीन दिनको अवधिभित्र माग गरिएको सम्पूर्ण धितोपत्र विक्री नभएमा २०८० जेठ ३२ गतेदेखि असार ४ गतेसम्म पाँच दिन निष्कासन तथा विक्री खुला भइसकेको सन्दर्भमा आवेदन संशोधनका लागि थप गरिएको तीन दिनको समयपश्चात बढीमा थप ७ दिन निष्कासन खुला राख्न सकिने व्यवस्था गरिएको छ । 

बोर्डले कम्पनीको आईपीओ सम्बन्धमा थप छानबिनका लागि नेपाल प्रहरीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बोर्डले जाँचबुझ समितिको प्रतिवेदनका आधारमा केही आवेदकहरूले बैंक खातामा पर्याप्त रकम नहुँदा नहुँदै सर्वसाधारण लगानीकर्ताहरूलाई भ्रमित पार्ने गरी आवेदन दिएको पाइएकाले जालसाजी सम्बन्धमा नेपाल प्रहरीसमक्ष थप छानबिनका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

उक्त कार्यमा निष्कासनकर्ता कम्पनी र निष्कासन तथा विक्री प्रबन्धकको कुनै संलग्नता नदेखिएको जाँचबुझ समितिको प्रतिवेदनमा उल्लेख छ । तर, निष्कासन तथा विक्री प्रबन्धकले मागभन्दा बढी आवेदन परिसकेको अवस्थामा समेत समयअवधि थप गरेको सम्बन्धमा समेत थप छानबिन गर्ने निर्णय बोर्डले गरेको छ ।

आस्बा सदस्य एनआईसी एशिया बैंकले आवेदकको खातामा पर्याप्त रकम नभई आवेदन स्वीकृत गरेको थियो । आवेदकको खातामा पर्याप्त रकम नहुँदा पनि आवेदन स्वीकृत भएको कारणबारे समेत थप छानबिन गरी काराबाही अघि बढाउने निर्णय बोर्डले गरेको छ । 

घोराही सिमेन्टको आईपीओ सार्वजनिक निष्कासनकै क्रममा असार ४ गतेदेखि बोर्डले आवश्यक छानबिनका लागि भन्दै स्थगित गरेको थियो । आफ्नो खातामा रकम नभएको अवस्थामा १२ जना आवेदकहरूले १० लाख कित्ताका दरले आवेदन दिएको प्रमाण भेटिएको थियो । नक्कली आवेदन परेको स्पष्ट प्रमाणका आधारमा बोर्डले छानबिन अघि बढाएको थियो ।

कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणमा प्रिमियमसहित प्रतिकित्ता रू. ४३५ मूल्यमा ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ विक्री खुला गरेको थियो । आईपीओ विक्री अवधि असार ४ गतेभित्र नै मागभन्दा ३ गुणा बढी आवेदन परिसकेको अवस्थामा कम्पनीले विक्री अवधि थप गरी असार १४ गतेसम्म कायम गरेपछि बोर्डले विशेष निगरानी बढाई छानबिन गरेको हो । 

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार कम्पनीको आईपीओ निष्कासन प्रक्रिया रोक्का गर्दासम्म ५ लाख ६२ हजार ४३ जना आवेदकहरूबाट २ करोड २६ लाख १७ हजार ३७० कित्ता शेयर खरीद माग भएको छ । 

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड छन् । यस कम्पनीले २०६९ सालदेखि आफ्नै चुनढुंगा खानीमार्फत क्लिंकर उत्पादन गर्दै आएको छ ।

हाल कम्पनीले दाङमा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रविधि प्रयोग गरी सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ । हाल कम्पनीले नेपालमा प्रसिद्ध सगरमाथा ब्रान्डअन्तर्गत क्लिंकर तथा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा विक्री वितरण गरिरहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया