भूकम्प जोखिम र निर्जीवन बीमा अन्तर्गतको क्षति न्युनिकरण, हाङमा सुब्बाको लेख
- हाङमा सुब्बा
- 2023 Dec Mon 14:19
काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको विवरण हेर्ने हो भने नेपालमा विभिन्न म्यागनिच्युटका भूकम्पको मापन भई नै रहेको देखिन्छ । हामीले पनि भूकम्पको अनुभव गरि नै रहेका हुन्छौ ।
भूकम्पविद्हरुका अनुसार नेपाल भूकम्पीय क्षेत्रमा रहेको कारण दक्षिणबाट सर्दै आएको इन्डियन प्लेट र उत्तरको युरेसियन प्लेटको continental collision बीचमा अवस्थित हुनाले यसका कारण नेपालमा भूकम्प आइरहने र अझै ठुलो भूकम्प जाने सम्भावना रहेको उल्लेख गरिरहेका छन् ।
हुन त यस प्रकारका प्राकृतिक प्रकोपलाई हामीले रोक्न सक्ने सामर्थ्य हामी संग छैन तर यसबाट हुने क्षति न्युनिकरणका लागि आवश्यक कार्ययोजना आवश्यक छ ।
बीमा आर्थिक नोक्सानी विरुद्धको सुरक्षा कवच
“बीमाले आर्थिक नोक्सानी विरुद्ध सुरक्षा प्रदान गर्दछ” बीमाको मुल उद्देश्य नै यही हो । यस अर्थमा सामान्य नागरिक देखि लिएर सरकारी स्तर सम्म यो तथ्य लागु हुने गर्दछ ।
जस्तै, कुनै एक व्यक्तिले आफुले जेनतेन गरि कमाएको पैसाले घर बनाइ बीमा गर्यो । भूकम्पको कारणले उक्त घर भत्कियो भने बीमा कम्पनीले बीमालेमा भएका सर्त बमोजिम दाबी भुक्तानी गर्छ । यसरी प्राप्त हुने दाबी रकमबाट फेरि उसले अर्को घर किन्न सक्छ । उनले दुख गरेर बनाएको उक्त घर भत्कियो भने बीमा कम्पनीले बिमालेख बमोजिम दावी भुक्तान गरि उनलाई फेरि अर्को घर बनाउन सहयोग गर्दछ ।
तर उनले बीमा नगराएको खण्डमा उनले फेरि अर्को घर बनाउन असमर्थ हुने सम्भावना रहन्छ । कतिपय अवस्थामा त मानिसहरु घरवार विहिन भएका अनुभवहरु पनि हामी संग छन् ।
त्यस्तै अर्को उदाहरण कुनै व्यक्तिले आफुसंग भएको पैसाले केही उद्यमशीलता गर्ने सोच बनाई मानौ कुनै व्यवसाय शुरु गर्यो । आफनो व्यवसाय संगै उनले वीमालाई पनि आफनो व्यवसाय जस्तै प्राथमिकताका साथ राखे भने कुनै पनि बेला आउने भूकम्पले उनको व्यवसायलाई आर्थिक नोक्सान पारेको अवस्थामा उनले आफनो बीमा कम्पनीबाट उक्त क्षतिपुर्ति वापत दावी भुक्तानी पाउन सक्दछ । र त्यस असहज परिस्थितिमा उनलाई बीमाले सहज निश्चित रुपमा बनाई दिनेछ । यसरी साधारण मानिस पनि व्यवसायिक र आत्मनिर्भर बन्द सक्दछ ।
यसरी महाभूकम्प जस्तो महाविपत्तीको आर्थिक दायित्वबाट बीमाले सरकारलाई पनि आर्थिक भार कम गरिदिने कार्य गर्दछ भने सहज रुपमा आर्थिक चलायमान कार्यमा पनि मद्दत गर्दछ ।
त्यस्तै निमार्ण सम्पन्न भएका भौत्तिक संरचनाहरु सबैको बीमा गर्न आवश्यक छ । भूकम्पको कारणले यी संरचनाहरु क्षति भएमा यसलाई पुननिर्माण गर्न का लागि ठुलै पूँजीको आवश्यकता पर्दछ । र उक्त पूँजीको व्यवस्थापन गर्न पनि समय लाग्न सक्दछ । तसर्थ यी भौत्तिक संरचनाका बीमा हुने हो भने बीमा कम्पनीहरुले समयमा नै दावी भुक्तान गरि पुर्न निमार्ण कार्य सहज हुने देखिन्छ ।
२०७२ सालको महाभूकम्प र बीमा क्षेत्रले खेलेको भुमिका
२०७२ सालमा महाभूकम्प बैशाख १२ र २९ गरि दुई पल्ट गएको थियो भने त्यसपछि पराकम्पनहरु गइ रहेका थिए । साच्चै भन्ने हो भने त्रासदी पुर्ण अवस्था थियो त्यो । बीमाकर्मी का लागि पनि नौलो अनुभव भएको थियो । कारण महाभूकम्प र बीमा कम्पनीले निभाउनु पर्ने उत्तरदायित्व अर्थात दावी भुक्तानी ।
यस कार्यका लागि नियमनकारी निकायदेखि लिएर बीमाकर्मी तथा सर्भेयर सबैको आफनो आफनो महत्वपुर्ण जिम्मेवारी थियो । भूकम्प आइ रहेका छ भनि चुपचाप लागेर बस्ने अवस्था थिएन ।
मेरो आफनो अनुभवमा पनि बीमा कम्पनीहरुले महाभूकम्प गएको दोश्रो वा तेश्रो दिनबाट नै विशेष गरि आफना प्रधान कार्यलयका कर्मचारीहरुलाई सम्पर्क गरि कार्यलयमा उपस्थित हुन निर्देशन दिइएको थियो । यसरी त्यस विषम परिस्थितिमा पनि कर्मचारीहरुलाई उत्प्रेरित गर्दै उनीहरुलाई कार्य सम्पादनका लागि उचित स्थानको व्यवस्थापन गर्दै ९कतिपय कार्यालय भवनहरु भूकम्पले पुर्न रुपमा भत्काएको अवस्था० विशेषत दावी भुक्तानीका लागि वातावरण तयार बनाईएको थियो ।
यसमा नियमनकारी निकाय तत्कालिन श्री बीमा समितिले पनि बीमा कम्पनीहरुलाई छि६ो छरितो दावी भुक्तानीका लागि पहल गरि महत्वपुर्ण भुमिका खेलेको थियो ।
प्रक्रियागत रुपमा दावी भुक्तानीका लागि बीमा कम्पनीहरुलाई क्षति मुल्याकंन का लागि सर्भेयरको रिर्पोट प्राप्त गर्ने देखि लिएर पुनर्बीमाबाट प्राप्त हुने रिकभरी हरु थिए वा पर्दछन् तब मात्र बीमा कम्पनीले दावी भुक्तान गर्न सक्दछ । यी सबै कुरालाई व्यवस्थित गर्नाले बीमा उद्योगले महाभूकम्पबाट भएको क्षति वापतको दावी भुक्तानी छोटो समयमा तिर्न सफल भए । यदाकदा बीमा गर्दाका क्रममा भएका त्रुटी अलावा अरु कुनै विवाद देखिएन ।
जसले गर्दा सबैलाई सहज भयो । उदाहरणका लागि बैंकका ऋणीहरूलाई पनि लिन सकिन्छ । कारण अधिकांश त बैंकबाट ऋण लिएकाहरु नै थिए र बैंकले आफना ऋणीहरूलाई अनिवार्य बीमा गर्न लगाउँछन् वा गरिदिन्छन् । यसरी बैंक तथा ऋणीहरूको भूकम्पले पुर्याएको क्षतिको दावी भुक्तानी भएपछि कसैलाई पनि आर्थिक भार परेन ।
बीमाले रक्षावरण गर्ने प्राकृतिक तथा अन्य जोखिमहरु
बीमाको विषयमा विशेषत सम्पत्ति बीमा निर्देशन, २०८० बमोजिम कुनै पनि बीमा गरिएको सम्पत्ति प्रत्यक्ष क्षति भएको अवस्थामा व्यापक जोखिमहरूको विरुद्ध बीमा सुरक्षा प्रदान गर्दछ । जस्तै भूमी जन्य क्षति, पानी जन्य क्षति, खस्ने वा भासिने सम्बन्धी क्षति, हावा जन्य क्षति आदि । यस बाहेक अन्य क्षतिहरू जस्तै अग्नी जन्य क्षति, विस्फोटनजन्य क्षति, आवासीय सामाग्री जन्य क्षति, धक्का दिएर, छोएर, लडेर वा लागेर हुने क्षति, स्वजन, हुलदंगा तथा आतंकवादजन्य क्षति आदि ।
यहां यो पनि स्पष्ट पार्न जरुरी छ कि यस्ता निर्देशिकाहरु समय र बीमितका आवश्यकता अनुरुप समय समयमा परिमार्जन हुदैँ आइ रहेको छ ।
नीतिगत तहबाट गरिनु पर्ने कार्यहरु
नेपाल भूकम्पीय क्षेत्रमा अवस्थित छ यो विषय सर्वविदितै छ । देशभित्र पनि कुन क्षेत्र अझ बढी भूकम्पीय हिसाबले जोखिममा छ यसलाई वर्गिकरण गर्न सकियो भने बीमाको हिसाबले अझ राम्रो हुने छ जस्तो लाग्छ । त्यस्तै भूकम्पको return period हरु उल्लेख भएमा सबैले लाभ लिन सक्छन् ।
भूकम्पीय क्षेत्रको जोखिमको आधारमा वर्गिकरण हुने हो भने बीमा क्षेत्रलाई पनि risk assessment गर्न सहयोग प्राप्त हुने गर्दछ भने भूकम्पको return period निर्यौल हुने हो भने पुनर्बीमा व्यवस्थापन गर्नका लागि सहयोग प्राप्त हुने देखिन्छ तथापि यसका आधारभुत र प्राविधिक पक्षहरु होलान् तर यस्ता किसिमका कृयाकलापले भौत्तिक संरचनाहरुको निमार्ण विधिहरु पनि परिमार्जन हुन सक्छन ।
भूकम्प गएको बेलामा मात्र विद्धानहरूका विचारहरु बढी बुझन, पढ्न पाईने बाहेक यस्ता खोजहरू, अनुसन्धानहरु नियमित प्रकाशित हुने गरेमा सबै सरोकारवाला लाभान्वित हुनेछन् ।
बीमाका बारेमा आम धारणा र कार्यान्वयन पक्ष
२०७२ को गोरखा भूकम्प पछि २०८० को जाजरकोटको भूकम्पले हामीलाई भूकम्पको बारेमा गम्भीर हुन झस्काई दिएको छ । सबैले आफनो सम्पत्तिको बीमा गर्नु पर्छ भनि बुझन आवश्यक छ । बीमा वापत तिर्नु पर्ने न्युन बीमा शुल्कलाई आर्थिक नोक्सानका रुपमा नहेरि यो भवितव्य आई पर्ने जोखिमका लागि लगानी हो भनि सबैलाई आफनो सम्पत्तिको बीमा गराई निश्चिन्त हुन जरुरी छ ।
अन्त्यमा सम्पुर्ण आर्थिक विकासका लागि बीमाले गर्ने भुमिकालाई बुझेर समयमा नै ”वित्तिय स्थायित्वका लागि बीमा आवश्यक छ“ भन्ने संस्कारको चौतर्फी विकाश हुन आवश्यक देखिन्छ ।
प्रतिक्रिया