सात नयाँ ब्रोकर कम्पनीले शुरु गरे कारोबार

  • BFIS News
  • 2023 Jul Fri 05:10
सात नयाँ ब्रोकर कम्पनीले शुरु गरे कारोबार

काठमाडौं । धितोपत्र बजारमा नयाँ सात ब्रोकर कम्पनीहरूले बिहीवारदेखि कारोबार शुरू गरेका छन् ।

नेप्सेको सदस्यता लिइसकेका सात ब्रोकर कम्पनीहरू गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालयन ब्रोकरेज लिमिटेड, सन सेक्युरिटिज प्रालि, मियो सेक्युरिटिज प्रालि, शेयरप्रो सेक्युरिटिज प्रालि र प्रोपर्टी विजार्ड लिमिटेडले औपचारिक रूपमै कारोबार शुरू गरेका हुन् । लाइभ कारोबारमा जानुअघि यी कम्पनीहरूले परीक्षण कारोबार समेत गरेका थिए । 

परीक्षण कारोबारमा सफल भई नियमित कारोबारमा सहभागी भएको जानकारी सन सेक्युरिटिज प्रा.लिका कार्यकारी अध्यक्ष कृष्ण गिरिले दिएका हुन् । पहिलो दिन सातओटै ब्रोकर कम्पनीले थोरै मात्रामा धितोपत्र कारोबार गरेको उनले जानकारी दिए ।

नयाँ प्रविधि, नयाँ राफसाफ प्रणालीमा अभ्यस्त हुँदै विस्तारै कारोबार बढाउँदै जाने गिरीको भनाइ छ । नयाँ कम्पनीहरूलाई यतिबेला नयाँ अवसरसँगै चुनौतीसमेत रहेकाले यो अवस्थामा लगानीकर्ताको सहयोग र साथको उनले अपेक्षा गरेका छन् ।

नेपाल धितोपत्र बोर्डले पहिलो चरणमा जेठ ८ गते यी सात कम्पनीहरूलाई ब्रोकर लाइसेन्स वितरण गर्ने निर्णय गरेको थियो । नेप्सेको सदस्यता भने यी कम्पनीहरूले असार २० गतेको निर्णय अनुसार प्राप्त गरेका हुन् । बोर्डबाट हालसम्म १८ कम्पनीहरूले ब्रोकर लाइसेन्स प्राप्त गरिसकेका छन् भने अझै २५ कम्पनी लाइसेन्सको प्रतीक्षामा छन् ।

ब्रोकर लाइसेन्स पाउने १८ कम्पनीमध्ये एक कम्पनी पुरानो ब्रोकर कम्पनीसँग मर्जर प्रक्रियामा छ भने बाँकी १० कम्पनीले नेप्सेको सदस्यताका लागि आशयपत्र समेत पाइसकेका छन् । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया