Nepal Life

हिमालयन रिइन्स्योरेन्सले बढायो शेयर बजार, अझै कति दिनसम्म लाग्ला सर्किट ? (विश्लेषण सहित)

Global Ime detail Page
  • प्रभात कुईकेल
  • 2024 Jan Mon 18:42
हिमालयन रिइन्स्योरेन्सले बढायो शेयर बजार, अझै कति दिनसम्म लाग्ला सर्किट ? (विश्लेषण सहित)
Sanima Reliance

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयरले समग्र शेयर बजारलाई नै बढाउन मुद्दत पुर्याएको छ । दोस्रो बजारमा कारोबार सुरु भएको दिनदेखिनै सकारात्मक सर्किट लाग्दै आएको हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर मूल्य ५ कारोबार दिनमा ४९७.८० रुपैयाँ पुगेको छ ।

NIMB

चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा उछाल आउदा ५ दिनमै सर्वाधिक १० ठुलो कम्पनी भित्र पर्न सफल भएको छ । हिमालयन रिको शेयर करोबार हुनु भन्दा अगाडि बजार पूँजीकरण ३१ खर्ब ४३ अर्ब थियो । हिजो आइतबारसम्ममा बजार पूँजीकरण ३३ खर्ब ३० अर्ब पुगेको छ । यस अवधिमा अन्य कम्पनीको शेयर मूल्यमा पनि राम्रो सुधार भएको छ । यसमा हिमालयन रिको आइपिओले बजारमा मुभमेन्टम सिर्जना गरेको छ । जसले सुतेको बजारलाई जगाइदिएको छ ।  

३२ सयको बुलमा नेपाल रिको ठुलो साथ

यस भन्दा अगाडी बुलमा नेपाल रिइन्स्योरेन्स कम्पनीले ठुलो साथ दिएको थियो । त्यतिवेला नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य १९७५ रुपैयाँसम्म पुग्यो । ५ सय हाराहारीमा कारोबार भइरहेको नेपाल रिइन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन गर्दै भन्ने हल्ला चलाएर शेयर बजारका केहि व्यक्तिले राम्रै पैसा कमाएका थिए । जतिवेला कम्पनीको उच्च व्यवस्थापन तथा सञ्चालक समिति नै भित्री रुपमा शेयर कारोबारमा संलग्न भएको थियो ।

कम्पनीलाई बजार विस्तारका लागि थप पूँजी आवश्यक पर्ने र हकप्रद शेयर निष्काशनका लागि मन्त्रालयबाट अनुमति लिने प्रकृयाँमा रहेको भन्ने हल्ला चलाएर कम्पनीको शेयर मूल्यमा राम्रै खेल भयो । कम्पनीले १६.५ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद सहित कुल १९ प्रतिशत लाभांश दिने निर्णय पछि कम्पनीको शेयर मूल्यमा राम्रै गिरावट आयो । हल्ला चले अनुसार हकप्रद पनि निष्काशन हुन सकेन त्यसैले कम्पनीको शेयर मूल्य विगत एक वर्षको अवधिमा न्युनतम ५८५ र अधिकतम ९२७ रुपैयाँको विचमा घुमिरहेको छ ।

अवको बुलमा हिमालयन रिको साथ

त्यतिवेलाको नेपाल पुनर्बीमाको अवस्था र अहिले हिमालयन रिको अवस्था लगभग उस्तै उस्तै देखिन्छ । मात्र के हो भने हिमालयन रिले १०६ रुपैयाँ प्रिमियम संकलन गरेको हुँदा जगेडामा तीन अर्ब १८ करोड रुपैयाँ जम्मा भएको छ । यसले लगानीकर्तालाई राम्रो सँग लोभ्याउने छ । बीमा प्राधिकरणले तत्कालका लागि उक्त कोषबाट लाभांश वितरण गर्न रोक लगाएको हुँदा बोनस शेयर पाउन शेयरधनीले केहि समय पर्खनु पर्छ । यो भनेको दोस्रो बजारमा लगानीकर्ताले अझै लामो समय यस कम्पनीको शेयरलाई खेलाउने निश्चित छ ।

कम्पनीले अहिलेसम्म आर्जन गरेको जगेडा रकम र शेयरधनी सँग उठाएको प्रिमियमबाट कम्तिमा पनि ३० प्रतिशत भन्दा माथिको लाभांश दिन सक्ने क्षमता बनाएको छ । कम्पनीले यस वर्ष नसके पनि अर्को वर्ष यहि प्रिमियमबाट आकर्षक लाभांश दिन सक्ने हुँदा कम्पनीको शेयर मूल्य नेपाल पुनर्बीमाको भन्दा माथि नै हुने निश्चित छ ।

तुलनात्मक अवस्था

प्रतिस्पर्धी नेपाल पुनर्बीमा कम्पनी सँगै तुलना गर्ने हो भने पनि कम्पनीले पूँजी बढाउनु पर्ने बाध्यता छ । नेपाल बीमा प्राधिकरणले जीवन र निर्जीवन बीमा कम्पनीको पूँजी बृद्धि गर्दा पुनर्बीमा कम्पनीको भने गरेको थिएन । सुरुमै १० अर्ब पूँजी तोकिएको हुँदा तत्कालका लागि थप पूँजी बढाउनु पर्ने बाध्यता नभएको बीमा प्राधिकरणको तर्क छ । तर बीमा प्राधिकरणले दुई पुनर्बीमा कम्पनी मध्ये हिमालयन रिले आइपिओ समेत निष्काशन नगरेको हुँदा अहिले पुनर्बीमा कम्पनीको पूँजी बृद्धि योजना ल्याएन । अव हिमालयन रिले आइपिओ पनि निष्काशन गरिसकेको अवस्थामा बीमा प्राधिकरणले न्युनतम चुक्ता पूँजी बढाउने सम्भावना पनि छ ।

नेपाल रिले धेरै पटक हकप्रद शेयर निष्काशनको प्रयास गरे पनि मन्त्रालयले बीमा प्राधिकरण सँग समन्वय गरेर थप पूँजी आवश्यक छ कि छैन भनेर छलफल गरेको थियो । बीमा प्राधिकरणले पनि अहिले नै पूँजी बराबरको व्यवसाय गर्न नसकेको हुँदा तत्काल पूँजी बढाउन आवश्यक नभएको भन्दै सल्लाह दिए पछि कम्पनीको कयौ प्रयास असफल भयो । यसको मूल्य कारण थियो दोस्रो बजार । हकप्रद शेयर निष्काशनको सूचनामा शेयर मूल्य बढाउने कम्पनीको दाउलाई मन्त्रालयले असफल बनाइदिएको थियो ।

अव हकप्रद आउला

अझै पनि बीमा प्राधिकरण पुनर्बीमा कम्पनीको पूँजी बृद्धि गर्ने योजनामा छैन । नेपाल पुनर्बीमाको चुक्ता पूँजी १२ अर्ब ८१ करोड रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफाबाट लाभांश वितरण गरिसकेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन बनाउने काम गरिरहेको छ । यस पछि पनि ५ प्रतिशत भन्दा धेरै लाभांश दिन सक्ने छैन । यदि ५ प्रतिशत नै बोनस शेयर दियो भने पनि चुक्ता पूँजी १३ अर्ब ४५ करोड हाराहारी पुग्नेछ ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विरण अनुसार चुक्ता पूँजी जति पनि व्यवासय भित्र्याउन सकेको छैन । कम्पनीले जीवन बीमा व्यवसाय तर्फ ५ अर्ब ५० करोड र निर्जीवन तर्फ २ अर्ब एक करोड सहित कुल ७ अर्ब ५१ करोड हाराहारी मात्रै व्यवसाय गरेको देखिन्छ । यसरी चुक्ता पूँजी बराबर पनि व्यवसाय गर्न नसकिरहेको अवस्थामा सरकारले पनि कम्पनीलाई हकप्रद शेयरमा लगानी गर्न सक्ने देखिदैन । पछिल्लो समय आएको हिमालयन रिको यति पनि व्यवसाय छैन ।

शेयर मूल्य कतिसम्म माथि पुग्ला

५ कारोबारदिनदेखि लगातार शेयर मूल्यमा सर्किट लाग्दै आएको छ । नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्यलाई भेटाउन अझै तीन कारोबार दिन सर्किट लाग्नु पर्छ । ५ प्रतिशत मात्रै लाभांश दिन सक्ने क्षमता भएको नेपाल पुनर्बीमाकै शेयर मूल्य ६७२ रुपैयाँ छ ।

पछिल्ला दिनमा शेयर बजारमा सुधार देखिदै आएको हुँदा नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्यमा पनि केहि सुधार पक्कै हुन्छ । लगानीकर्ताले हेर्ने अर्को पाटो भनेको कम्पनीले दिन सक्ने लाभांश नै हो । हिमालयन रिले प्रिमियमबाटै ३० प्रतिशत भन्दा माथि बोनस शेयर दिन सक्ने क्षमता राख्छ ।

शेयर संरचना

शेयर संरचनाका हिसावले हिमालयन रि भन्दा नेपाल पुनर्बीमा कम्पनीको शेयर सप्लाइ कम छ । नेपाल रिको कुल पूँजी मध्ये जम्मा १६ प्रतिशत अर्थात २ करोड ५ लाख कित्ता मात्रै दोस्रो बजारमा फ्लट छ । हिमालयन रिको अहिले नै ३० प्रतिशत अर्थात ३ करोड शेयर दोस्रो बजारमा फ्लट रहेको छ । तर म्युचुअल फण्ड र कर्मचारीले पाएको शेयर तत्कालका लागि लकिङ भएको हुँदा वैदेशिक रोजगारमा गएका नेपाली र सर्वसाधारण लगानीकर्ताले मात्रै शेयर बिक्री गर्न सक्ने अवस्था रहेको छ । वैदेशिक रोजागारमा गएका अधिकाम्स नेपालीले आइपिओ किने अनुसार दोस्रो बजारमा बिक्री गर्दैनन् ।

हालसम्म हिमालयन रिको आइपिओ ९ हजार ४३६ जनाले मात्रै बिक्री गरेका छन् । हालसम्म एक लाख ४१ हजार ६९८ कित्ता शेयर मात्रै दोस्रो बजारमा बिक्री भएको छ । सर्वसाधारणले अझै पनि शेयर बिक्री गर्न चाहिरहेका छैनन् । लगानीकर्ताहरुमा हिमालयन रिको शेयर एक हजार हाराहारीमा पुग्ने हिल्लाले पनि सर्वसाधारण लगानीकर्ताले होल्ड गरेर बसिरहेका छन् । भोलिका दिनमा एक हजार पुग्ला नपुग्ला तर कम्पनीले लाभांश वितरण नगरुन्जेलसम्मको अवस्थामा नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य भन्दा माथि नै बस्ने निश्चित छ ।

नोट : यो विश्लेषण वास्तविक तथ्याङ्कमा आधारित भएर गरिएको हो । तर शेयर बजारको उतारचढावमा यस्ता तथ्याङ्कले सधै काम गर्दैन । बजारको गति अनुसार र लगानीकर्ताको कन्फिडेन्सका आधारमा मूल्य तय हुने भएकाले लगानीकर्ताले आफैले मूल्याङ्कन गरेर लगानी गर्नु पर्छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया