सरकारले शेयर बजारबाटै संकलन गर्यो साढे ५ अर्ब पूँजीगत लाभकर, सेक्टरल बुलका कारण ८५ प्रतिशतले बृद्धि
- अरुण सापकोटा
- 2024 Jul Tue 13:22
काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा शेयर बजारबाट सरकारले साढे ५ अर्ब रुपैयाँ पूँजीगत लाभकर उठाएको छ । सरकारले यस भन्दा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ८५.४० प्रतिशतले पूँजीगत लाभकर बढि पाएको हो । अघिल्लो आर्थिक वर्षमा सरकारले २ अर्ब ९७ करोड रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको थियो ।
त्यस भन्दा अगाडीको आर्थिक वर्ष २०७८/७९ मा सरकारले १० अर्ब ३५ करोड रुपैयाँ पूँजीगत लाभकर संकलन गर्यो । अझ आर्थिक वर्ष २०७७/७८ मा अहिलेसम्मकै सर्वाधिक धेरै १४ अर्ब १३ करोड रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको थियो । यि दुई आर्थिक वर्षमा शेयर बजार ११ सयको विन्दुबाट सुधार भएर ३२ सयसम्म पुगेको थियो । यस भन्दा अगाडीको वर्ष २०७६/७७ मा सरकारले केवल ९८ करोड ५२ लाख रुपैयाँ मात्रै पूँजीगत लाभकर संकलन गरेको थियो ।
बजारमा उछाल आउदा सरकारले पनि राम्रै लाभकर संकलन गर्ने गरेको छ । तर शेयर बजार ३२ सयबाट एकै पटक १८२६ अंकसम्म तल झर्दा लगानीकर्ताले राम्रै पोर्टफेलियो गुमाउनु पर्यो । जसले गर्दा राज्यले पनि अघिल्लो आर्थिक वर्षमा ठुलै लाभकर गुमाउनु परेको हो ।
गत आर्थिक वर्षमा नेप्से सूचक १८२६ अंकसम्म तल झरेर २२५७ अंकसम्म पुग्यो । यस क्रममा शेयर बजारमा ४३२ अंकसम्मको उतारचढाव देखिएको थियो । बाणिज्य बैंक र केहि कम्पनीहरुको शेयर मूल्यमा खासै सुधार नभए पनि लो क्यापका कम्पनीमा अत्याधिक सुधार भयो ।
अल्पकालिन लगानीकर्ताबाट सर्वाधिक धेरै कर संकलन
सरकारले आर्थिक वर्ष २०७८/७९ देखि शेयर बजारमा लागु हुने पूँजीगत लाभकरलाई दुई भागमा वर्गिकरण गरेको थियो । एक वर्ष भित्रमा शेयर बिक्री गरेर लाभ भएमा सरकारलाई साढे ७ प्रतिशत र एक वर्ष भन्दा माथिको अवधिमा शेयर बिक्री गरेर लाभ भएमा ५ प्रतिशत मात्रै कर तिर्नु पर्ने व्यवस्थाका कारण सरकारले अल्पकालिन लगानीकर्ताबाट सबैभन्दा धेरै कर उठाएको हो ।
गएको वर्ष सरकारले साढे ५ अर्ब पूँजीगत लाभकर संकलन गर्दा अल्पकालिन लगानीकर्ताबाट मात्रै तीन अर्ब ३४ करोड रुपैयाँ उठाएको छ । यस भन्दा अगाडीको आर्थिक वर्ष २०७९/८० मा पनि सरकारले २ अर्ब ९७ करोड पूँजीगत लाभकर संकलन गर्दा अल्पकालिन लगानीकर्ताबाट एक अर्ब ७४ करोड संकलन गरेको छ । यसरी अल्पकालिन लगानीकर्ताबाट उठेको लाभकर तर्फ भने १०३ प्रतिशतले सुधार भएको छ । यसले पनि शेयर बजारमा अल्पकालिन लगानीकर्ता हाबी भएको प्रष्ट देखिन्छ ।
शेयर कारोबारमा कर कसरी लाग्छ ?
नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएको कम्पनीको शेयर कारोबारबाट प्राप्त लाभमा बासिन्दा प्राकृतिक व्यक्तिलाई एक वर्ष भित्र बिक्री गरेर प्राप्त हुने लाभको ५ प्रतिशत तथा एक वर्ष पछि बिक्री गरेर प्राप्त हुने लाभको ७.५ प्रतिशत, वासिन्दा निकायको हकमा १० प्रतिशत र अन्यको हकमा २५ प्रतिशतले कर लाग्दछ । यसमा नेपाल स्टक एक्सचेन्जले अग्रिम कर कट्टी गरी दाखिला गर्नुपर्दछ । नेपाल स्टक एक्सचेन्जमा सूचीकरण नभएको कम्पनीको शेयर कारोबारमा बासिन्दा प्राकृतिक व्यक्तिको हकमा १० प्रतिशतले वासिन्दा निकायको हकमा १५ प्रतिशत र अन्यको हकमा २५ प्रतिशतका दरले सम्बन्धित कम्पनिले अग्रिम कर कट्टी गरी दाखिला गर्नुपर्दछ ।
सरकारले आर्थिक वर्ष २०७८/७९ देखि अल्पकालिन लगानीकर्ता र दीर्घकालिन लगानीकर्तालाई विभाजन गरी छुट्टाछुटटै पूँजीगत लाभकरको निर्धारण गर्न सुरु गरेको थियो । नयाँ व्यवस्था अनुसार १ वर्षभन्दा कम अवधिलाई अल्पकालीन र १ वर्षभन्दा बढी अवधि लगानी गर्दा दीर्घकालीन भनिएको छ ।
१ वर्षभन्दा कम अवधिको लागि सेयर होल्ड गर्नेले ७.५% लाभकर तिर्नु पर्छ भने एक वर्षभन्दा बढी अवधि होल्ड गर्दा ५% लाभकर तिरे पुग्छ । यसअघि अल्कालिन र दीर्घकालिन दुवै प्रकारका कारोबार गर्ने लगानीकर्ताहरुले ५ प्रतिशत पूँजीगत लाभकर तिर्ने गरेका थिए ।
शेयर कारोबार गर्दा कुन समयमा कर लाग्छ ?
शेयर कारोबारमा शेयर निसर्ग भएकै समयमा जस्तै खरीद बिक्री भएकै बखत कर लाग्दछ र अग्रिमकर कट्टीको रुपमा दाखिला हुनु पर्दछ ।
शेयर कारोबारम करको रकम कहाँ र कहिले दाखिला गर्नुपर्छ ?
करको रकम अग्रिम कर कट्टी गर्ने स्टक एक्सचेन्ज वा निकायले नजिकको आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयमा कट्टी गरेको महिना समाप्त भएको मितिले २५ दिनभित्र विवरण सहित दाखिला गर्नुपर्दछ । करदाता स्वयंले कर दाखिला गर्दा भने अरु आय कर सरह दाखिला गर्नुपर्दछ ।
किनेको मूल्य भन्दा सेयर बिक्री मूल्य कम भएमा के हुन्छ ?
खरीद मूल्यभन्दा बिक्री मूल्य कम भएको शेयरको बिक्री कारोबारमा नोक्सानी भएकोले अग्रिम कर कट्टी गर्नु पर्दैन । सम्बन्धित करदाताले यस्तो नोक्सानी आय विवरण पेश गर्दा दावी गर्न पाउँछ र लगानीको अन्य आयमा मिलान गर्न पाउँछ ।
पूँजीगत घाटालाई आगामी कारोबारमा मिलान गर्न पाइन्छ वा पाईँदैन ?
पूँजीगत घाटालाई अगामी कारोवारमा पूँजीगत आय/लाभमा मात्र मिलान गर्न पाइन्छ । तर यस्तो नोक्सानी रोजगारी वा व्यवसायको आयमा मिलान गर्न पाइँदैन ।
प्रतिक्रिया