निश्चित उद्देश्य प्राप्तिको लागि अप्राकृतिक तरिकाले सेयरको बजार मूल्यलाई कस्ता उपायहरूद्वारा हेरफेर गर्ने गरिन्छ ?
- सुमन सुवेदी
- 2024 Aug Sat 14:39
काठमाडौं । नेपाली सेयर बजार हाल बुलिस यात्रामा छ। यसरी क्रमश नेप्से इन्डेक्सले माथिल्लो सूचकाङ्क चुम्दै गर्दा यसमा निहित जोखिम पनि क्रमशस् बढिरहेको छ। लगानी गर्नका लागि सेयर स्क्रिप्टको चुनाव गर्दा लगानीकर्ताले कम्पनीको वित्तीय प्रतिवेदनका साथै त्यस स्क्रिप्टमा निहित जोखिमको पनि उचित तरिकाले अध्ययन गर्नुपर्ने आवश्यकता छ, अन्यथा बजारमा डुब्ने भनेका कुनै गहन अध्ययन तथा जोखिम विवेचना बिना बजार हल्लाका भरमा लगानी गर्ने आम लगानीकर्ताहरु नै पर्ने गर्दछन्।
बजारमा बिना अध्ययन निवेश गर्दा ठूलो घाटा पनि हुन सक्दछ तसर्थ कारोबारका लागि स्क्रिप्टहरू छनोट गर्दा प्रशस्त छानबिन तथा जोखिम विवेचना सहित विवेकशील र चनाखो समेत हुनु अत्यन्त आवश्यक छ।
बजारका नामुद खेलाडीहरूले विभिन्न तरिकाले कमजोर कम्पनीहरुकोको सेयर मूल्य लाई समेत कृत्रिम तरिकाले प्रभाव पारेर उचालेका हुन्छन् र यसको पासामामा सर्वसाधारण लगानीकर्ताहरूलाई पार्न योजनाबद्ध तरिकाले लागेका हुन्छन् जसलाई बुझ्न नसक्नु र र उनीहरुको खेलमा प्रवेश गरिसकेपछि उचित समयमा आफ्नो सेयर बेचेर निक्लिन नसक्नुका कारण सर्वसाधारण लगानीकर्ताहरुले ठूलो घाटा पनि बेहोर्नु पर्ने समेत हुनसक्छ । यसरी कृत्रिम तरिकाले सेयरको मूल्य हेरफेर गर्न निम्न उपाय वा प्रपञ्चहरू अपनाइन्छन्।
Stock Bashing / Runs:
अमुक कम्पनी वा अमुक सेयरको बजार मूल्यमा प्रभाव पार्नको लागि विभिन्न प्रकारका नकारात्मक तथा सकारात्मक हल्ला वा अफवाहहरू सृजना गरेर विभिन्न माध्यमद्वारा प्रसारण गरिन्छन् जसको उद्देश्य उक्त कम्पनीको सेयर मूल्य तल वा माथि गर्नु हुने गर्दछ। यस्तो प्रक्रियालाई स्टक बासिङ वा रन भनिन्छ।
Pump and Dump:
नेपाली सेयर मार्केटलाई अध्ययन गर्दा सेयरको मूल्यलाई कृत्रिम रुपमा हेरफेर गर्न अपनाइने विभिन्न उपायहरुमा पम्प र डम्प एक प्रमुख उपाय हो। कुनै पनि कम्पनीको सेयरलाई पम्प एण्ड डम्प गर्दा एकै लबी वा योजना रहेका सेयर कारोबारीहरूको समूहले उक्त सेयरको आपसमा धेरै कारोवार संख्यामा थोरै थोरै संख्यामा कारोबार क्रमश बढ्दो मूल्यमा गरेर उक्त शेयरको बजार मूल्य निकै माथिसम्म पुर्याउने गर्दछन् र अन्ततः आफूसँग भएका सबै शेयरहरू नयाँ र बजारहल्लाको भरमा लगानी गर्ने आम लगानीकर्ता हरुलाईलाई कृत्रिम रूपमा बढाइएको मूल्यमा बेचेर आफूहरू चाहिँ बजारबाट निस्किन्छन् ।
Ramping:
कुनै निश्चित कम्पनीको सेयरको शीघ्र ठूलो मात्रामा कारोबार हुने र यसबाट शीघ्र तथा अधिकतम दरमा नाफा कमाउन सकिने इम्प्रेसन प्रवाह गरेर अमुक सूचीबद्ध शेयरहरूको बजार मूल्य अत्याधिक बढाउन डिजाइन गरिएको कार्यहरू र्याम्पिङमा पर्दछ।
Wash Trade:
यस किसिमको गतिविधि गर्ने कारोबारीहरूले कुनै निश्चित सेयरको मूल्य बढाउनको लागि आफूहरूले नै पहिला ठूलो संख्यामा उक्त सेयर बेच्ने र पछि आफूहरूले नै खरिद गर्ने गर्दछन् गर्दछन् र यसरी बजारमा उक्त सेयरको अत्याधिक कारोबार भइरहेको छाप पार्ने प्रयास गर्दछन्। यस प्रपञ्चद्वारा कृत्रिम रुपमा गरिएको कृत्य मार्फत अमुक सेयरको माग सृजना गर्ने कार्य हुने गर्दछ, यसले गर्दा उक्त सेयरको मूल्य समेत माथि जाने हुन्छ र यसमा सर्वसाधारण लगानीकर्ताहरू फस्ने समेत सम्भावना हुने गर्दछ।
Churning:
अमुक सेयर को मूल्य तथा कारोबारमा प्रभाव पार्ने यस विधिमा एकै समूहका सेयर कारोबारीहरूले विभिन्न ब्रोकरहरू को प्रयोग गर्दै एकै समयमा एकै मूल्यमा खरिद र बिक्री आदेशहरू राख्दछन् र उक्त सेयरको बढ्दो कारोबारको इम्प्रेसन सृजना गर्दछन्। यस कार्यको उद्देश्य लगानीकर्ताहरूलाई उक्त सेयरको बढ्दो कारोबार तथा बढ्दो मूल्य तर्फ आकर्षित गरेर लोभ्याउनु हुने गर्दछ। यो विधि प्रयोग गरी कमजोर वित्तीय अवस्था भएको सेयरहरू तर्फ सर्वसाधारण लगानीकर्ताको ध्यानआकर्षण गरेर त्यसमा कारोबार गर्न प्रोत्साहित गरिन्छ।
Bear Raid :
यस किसिमको उपायमा कुनै निश्चित उद्देश्यको लाग कुनै सेयरको बढी सप्लाई सृजना गरी त्यसको मूल्य कृत्रिम तरिकाले घटाउने प्रयास गरिन्छ। यस कृत्यका लागि सर्ट सेलिङ तथा विभिन्न किसिमका गलत तथा भ्रामक बजार हल्लाहरु समेत चलाउने गरिन्छ जसको उद्देश्य उक्त सेयरको बजार मूल्यलाई नकारात्मक दिशातर्फ लाने हुने गर्दछ ।
Lure and Squeeze:
यस्ता कारोबारीहरूले पहिला भविष्यमा सम्भावना रहेका तर अहिले राम्रो पर्फर्मेन्स गर्न नसकेका कम्पनीका नकारात्मक कुराहरूको बढी तथा अनर्गल प्रचार गरी एक किसिमको आतंकको स्थिति सृजना गर्ने गर्दछन् जसको फलस्वरूप उक्त कम्पनीको स्टक मूल्य तल्लो बिन्दुमा कतिपय सन्दर्भमा किताबी मूल्यभन्दा तलसमेत गिरावट हुने गर्दछ। यसरी मूल्यलाई तल्लो बिन्दुमा झारिसके पछि सस्तो मूल्यमा प्रशस्त सेयर आफूहरूले उठाए पश्चात उक्त कम्पनीका राम्रा पक्षहरु जस्तो कि कम्पनी संकटबाट बाहिर निस्कन पुँजी पुनर्संरचना गरेको, नयाँ निवेशकले कम्पनीमा प्रवेश गरेको, कम्पनीको वित्तीय प्रतिवेदन सुधारन्मुख रहेको आदिलाई प्रचार गरी त्यस्ता कम्पनीको सेयर मूल्य फेरि उकालो लगाइन्छ ।
High Closing / High Pre-opening:
यस उपाय अन्तर्गत दिनको कारोबार सुरु हुनुभन्दा पहिलाको प्रि(ओपन सेसन र कारोबार दिनको अन्तमा अमुक कम्पनीको सेयरलाई उच्च मूल्य तर न्यून मात्रामा कारोबार गरेर उक्त सेयरको बजार मूल्यमा हेरफेर गर्ने प्रयास गर्ने गरिन्छ।
Cornering:
नेपालको सेयर मार्केटलाई नियालेर हेर्दा कर्नरिङ मार्फत धेरै कम्पनीका सेयर मूल्यलाई प्रभावित पार्ने गरिएको पाइन्छ। यसरी मूल्यलाई प्रभावित गर्नेहरुले बजारमा कम सङ्ख्यामा जारी भएका स्क्रिप्टहरूलाई छान्ने गर्दछन् तत्पश्चात् उक्त सेयर पर्याप्त मात्रामा आफूहरूले खरिद गरेर त्यसको सप्लाई तथा कारोबार र मूल्य निर्धारणमा प्रत्यक्ष नियन्त्रण प्राप्त गर्ने गर्दछन्। यसरी आफूहरूको नियन्त्रणमा रहेको सेयरको कारोबारमा एकाधिकार सृजनागरी त्यसको बजार मूल्यलाई आफ्नो योजना अनुरुप प्रभावित पार्ने गरिन्छ यही प्रक्रियालाई कर्नरिङ भनिन्छ।
Insider Trading:
यस अन्तर्गत कुनै निश्चित कम्पनीको बारेमा बजार मूल्य तथा वित्तीय अवस्थामामा प्रभाव पार्न सक्ने गोप्य र अप्रकाशित जानकारी कुनै विधि वा स्रोतद्वारा गलत तरिकाले थाहा पाएर निश्चित कारोबारीहरुले गर्ने गरेको निश्चित सेयरको कारोवारहरू पर्दछन् । जस्तो कि कम्पनीको हकप्रद शेयर निष्काशन, बोनस प्रतिशत, प्लान्ट थप्ने जस्ता बोर्ड बाट हुने महत्वपूर्ण निर्णयहरूको एजेन्डाको जानकारी सञ्चालक, उच्च अधिकारी, नियामकका कर्मचारी आदि मार्फत सेयर कारोबारीहरूलाई चुहावट हुने गर्दछ ।
यो कार्य संसारभर प्रतिबन्धित छ र यस्ता गतिविधिमा लागेका व्यक्तिहरूलाई उक्त देशको धितोपत्र नियामकले कडा कारबाही गर्ने गर्दछ। यति हुँदाहुँदै पनि हाम्रो देशमा यस्ता गतिविधिहरु प्रशस्त हुने गर्दछन्, तर दोषी ठहर गर्न पर्याप्त प्रमाण नहुँदा उनीहरु दण्डित हुन सकेको छैन । हाम्रो देशमा त अझै नियामक निकायकै कर्मचारीहरुलाई यस्ता इन्साइडर ट्रेडिङमा संलग्न भएको आरोप समेत लाग्ने गरेको छ र कतिपय कर्मचारीहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा रहेका छन्।
सेयर बजार अर्थतन्त्रको ऐना भएपनि यसको वृद्धि हुनलाई इफिसिएन्ट मार्केट चाहिन्छ। नेपालको सेयर मार्केटको अध्ययन गर्दा यसमा सस्टेनेबल ग्रोथ देखिँदैन, कुनै बेलामा मार्केट अत्याधिक बढ्ने र पछि अत्याधिक मात्रामा घट्ने गरेको पाइन्छ। यसले समेत नेपाली सेयर मार्केटको इनइफिसिएन्सी र भोलाटिलिटीलाई प्रस्ट्याउँछ। यस्तो भोलाटाइल तथा इनइफिसिएन्ट मार्केटमा जब इन्डेक्स उच्च बिन्दुमा पुग्छ तब आम तथा सर्वसाधारण लगानीकर्ताहरु फस्ने अत्याधिक सम्भावना रहन्छ। सेयर मार्केटमा प्रवेश तथा निवेश गर्ने लगानीकर्ताहरूमा कम्पनी, कम्पनीको वित्तीय अवस्था, अर्थतन्त्र को वर्तमान अवस्था, सेयर मार्केटको मुभमेन्ट आदि सम्बन्धी ज्ञान हुनु आवश्यक छ।
बजार हल्लाको भरमा र अर्काको लहै लहै मा लागेर लगानी गर्दा कठोर परिश्रमद्वारा आर्जित सम्पत्तिमा ठूलो हानि हुने सम्भावना पनि प्रशस्त रहने गर्दछ । तसर्थ आम लगानीकर्ताहरूले समेत सेयर कारोबारीहरूले गर्ने विभिन्न टिकडमहरूको जानकारी राखेमा लगानीको लागि त्यस्ता प्रायोजित सेयरहरू छान्नबाट बच्न सक्छन्। नियामक निकायले समेत यस्ता कृत्यहरूलाई नजिकबाट अनुसन्धान गरी यस किसिमका कृत्यमा संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याएर नेपालको सेयर मार्केटलाई थप सबल बनाउनको लागि अझै अडिक भएर लाग्नुपर्ने टड्कारो आवश्यकता भने छ।
यो पनि पढ्नुहोस्
१. हाइपोथिकेशन गरिएका सुरक्षणबाट कर्जा नउठेको भन्दै बैंकरलाई थुन्नु अव्यवाहारिक, सुमन सुवेदीको लेख
५. राष्ट्र बैंकको एकिकृत निर्देशनको संशोधन: मूल रोगको औषधी नगरी लाक्षणिक उपचार
७. Rebuilding Business Confidence: A Path to Nepal's Economic Development, Article of Suman Subedi
(पूर्व बैंकर सुवेदी नेपाल राष्ट्र बैंकको वित्तीय साक्षरता अभियानका ट्रेनर हुन् । त्रिभुवन विश्व विद्यालयका विभिन्न क्याम्पसमा अध्यापन गराउदै आएका सुवेदी सँग १७ वर्षको बैंकिङ अनुभव रहेको छ।)
प्रतिक्रिया