Nepal Life

बैंकिङ प्रणालीमा कर्जाको जोखिम व्यवस्थापन, 'उच्च कर्जा जोखिम भएका ग्राहकहरूको ब्याजदर बढि हुन्छ'

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Sun 08:42
बैंकिङ प्रणालीमा कर्जाको जोखिम व्यवस्थापन, 'उच्च कर्जा जोखिम भएका ग्राहकहरूको ब्याजदर बढि हुन्छ'
National Life

काठमाडौं । नेपाल राष्ट्र बैंकले जोखिम व्यवस्थापनका लागि समय सापेक्ष रुपमा निर्देशिकाहरु जारि गरिरहेको हुन्छ । सोहि आधारमा कम्पनीहरुले न्यूनतम पूँजीकोष सम्बन्धी व्यवस्थाहरु गर्नु पर्छ । जसको खुलासा वार्षिक लेखापरीक्षण प्रतिवेदनदेखि लिएर विभिन्न वित्तीय विवरणमा खुलाउनु पर्ने हुन्छ । बैंकहरुले निम्न प्रकारका जोखिमहरुको खुलासा गर्नु पर्छ ।

NIMB

कर्जा जोखिम :

कर्जा जोखिम बैंकका ग्राहक तथा अन्य सरोकारवालाहरुको सहमतिमा पूर्व निर्धारित शर्तहरू अनुसार उनीहरुले आफ्नो दायित्व पूरा गर्न नसक्ने सम्भावना हो । कर्जा जोखिम प्रायः कर्जा प्रवाह, acceptance, अन्तरबैंक कारोबार, ट्रेड फाइनान्सिङ्ग, विदेशी विनिमयको कारोबार, फाइनान्सियल फ्यूचर्स (Financial Futures), स्वाप, बण्ड, इक्विटी, प्रतिबद्धता (Options ) तथा ग्यारेन्टीको विस्तारका साथै उक्त कारोबारको फछ्र्यौटको समयमा श्रृजना हुन्छ । सरल शब्दहरूमा भन्नुपर्दा, यदि बैंकबाट ऋण लिएको कुनै व्यक्ति वा संस्थाले अपर्याप्त आम्दानी, व्यवसायमा घाटा, मृत्यु, अनिच्छा वा अन्य कुनै कारणले गर्दा ऋण फिर्ता गर्न सक्षम नभएमा बैंकले कर्जा जोखिमको सामना गर्दछ । त्यसकारण, बैंकको तर्फबाट कर्जा जोखिमलाई कम गर्न, उच्च कर्जा जोखिम भएका ग्राहकहरूको ब्याजदर बढि हुने गर्दछ ।

आयको अस्थिरता, न्यून कर्जा स्कोर, रोजगारीको प्रकार, धितो सम्पत्तिको अवस्था तथा अन्य तत्वहरूले ग्राहकहरूको कर्जा जोखिम निर्धारण गर्दछ । माथि उल्लेख गरिए अनुसार कर्जा जोखिम अन्तरबैंक कारोबार, वैदेशिक कारोबार र बैंक भन्दा बाहिर हुने अन्य कारोबारसँग पनि सम्बन्धित हुन सक्दछ । एक पक्षद्धारा कारोबार सम्पन्न गर्ने तर अर्को पक्षद्धारा उक्त कारोबार पुरा नगरेमा नोक्सानी हुन सक्दछ । त्यसैगरी एकपक्षबाट कारोबार मिलान गर्ने तर अर्को पक्षद्धारा मिलानमा ढिला सुस्ती गरेमा पनि अन्य लगानीका अवसरहरू गुम्न गई नोक्सानीको सामना गर्नुपर्ने हुन सक्दछ ।

बैंकिङ प्रणालीमा जोखिमको अवधारणा

जोखिम भन्नाले अन्तर्निहित तत्वहरुमा समय समयमा हुने अस्वाभाविक परिवर्तन ( अनिश्चितता ) बाट आर्थिक तथा व्यवसायिक प्रतिष्ठामा हुनसक्ने नोक्सानको सम्भावनालाई जनाउँछ । उत्कृष्ट व्यवसायिक रणनीतिहरू तयार गर्नका लागि समग्र पोर्टफोलियो र विभिन्न कारोबारबाट उत्पन्न हुने जोखिम तथा प्रतिफलको पहिचान र पुर्वानुमान गरि सम्भाव्य जोखिमहरुलाई न्यूनिकरण तथा नियन्त्रण गर्न जोखिम अवलोकनले सहयोग गर्दछ ।

बैंकमा जोखिम व्यवस्थापनको महत्व सर्वोपरी रहेकोले सोही अनुरूप बैंकले यसका लागि आवश्यक नविनतम प्रविधि, मानव संसाधन र व्यवस्थापकिय संरचनामा लगानी गरेको छ । बैंकको समग्र जोखिम व्यवस्थापनको कार्य जोखिम व्यवस्थापन समिति र आन्तरिक लेखा परीक्षण समितिले गर्दछ, जसको प्रतिनिधित्व सञ्चालक समितिका सदस्यहरूका साथै विभिन्न विभागका वरिष्ठ अधिकारीहरूले गर्छन् । जोखिम व्यवस्थापन समितिले समय समयमा विभिन्न क्षेत्रमा लगानी गरिएको सम्पत्तिको गुणस्तरको समीक्षा गर्दछ र आन्तरिक लेखा परीक्षण समितिले बैंकको आन्तरिक नियन्त्रण प्रणालीहरू पूर्व निर्धारित मापदण्ड अनुसार सञ्चालन रहेको छ भन्ने आश्वासन प्रदान गर्दछ । मानव संसाधनको व्यवस्थापन सञ्चालक समितिका सदस्यहरू तथा वरिष्ठ अधिकारीहरूको प्रतिनिधित्व भएको कर्मचारी सेवा सुविधा समिति समेतले गर्दछ । ब्याजदर जोखिम, तरलता जोखिम, विनिमय जोखिम, बजार जोखिम आदिको निगरानीको लागि बैंकका वरिष्ठ कार्यकारीहरूले प्रतिनिधित्व गरेको सम्पत्ति तथा दायित्व व्यवस्थापन समिति (Assets and Liabilities Management Committee) रहेको छ। बैंकका कार्यकारीहरूलाई आवश्यकता अनुसारको अधिकार, जिम्मेवारी र उत्तरदायित्व प्रदान गरिएको छ । बैंकले कुनै पनि नयाँ प्रोडक्ट (Product) सुरू गर्न अघि प्रोडक्ट (Product) नीतिहरू र कार्यक्रमहरू समीक्षा गरि विधिवत रुपमा स्वीकृत गरिन्छ र नियमित रुपमा समिक्षा गरिन्छ ।

कर्जा जोखिम व्यवस्थापन विभागले निश्चित प्रोडक्ट (Product) मा अन्तर्निहित जोखिम विश्लेषण गर्दछ । बैंकले कर्जा व्यवसाय इकाई (Credit Business Unit) र जोखिम व्यवस्थापन इकाई (Risk Management Unit) लाई फरक संचरनाको विकास गरे छ। कर्जा प्रदान गर्ने क्रममा कर्जाको माग भइसकेपछि सर्वप्रथम जोखिम अनुगमन र नियन्त्रण गर्ने इकाइहरूबाट अनुमोदन गराइसकेपछि मात्र अन्य प्रकृया अगाडि बढाइन्छ । बैंकको कर्जा नीति, जोखिम न्यूनीकरणका उपायहरूका साथै एकल ग्राहक सीमा बैंकको कर्जा नीति निर्देशिकामा (CPG) परिभाषित गरिएको छ ।

बैंकले कर्जा जोखिम न्यूनीकरण गर्न ऋणीको बैंकमा रहेको निक्षेप तथा अन्य बैंक र वित्तीय संस्थामा रहेको निक्षेपलाई २० प्रतिशत नियामक समायोजन (Supervisory Haircut) पश्चात् प्रयोग गर्दछ । त्यस्ता न्यूनिकरणहरुले बैंकको समग्र पूँजी पर्याप्ततामा न्यूनतम प्रभाव पार्छन् ।

बजार जोखिम

बजार जोखिम सार्वजनिक बजारबाट निर्धारण हुने इक्विटी मूल्य, ब्याजदर, कर्जा ब्याजदर अन्तर विदेशी विनिमय दर, वस्तुको मूल्य र अन्य सूचकहरुमा हुने परिवर्तनहरूका कारण बैंकको व्यवसायमा हुन सक्ने नोक्सानी जोखिम हो । यो बजारको मूल्यमा हुने उतार चढावका कारण वासलात भित्र तथा बाहिरको स्थितिमा हुन सक्ने नोक्सानको जोखिम हो । बजार जोखिमको सम्भावित कारणका आधारमा निम्नानुसार ४ प्रकारमा विभाजन गरिएको छ :

- ब्याजदर जोखिम : ब्याजदरमा हुने उतार चढावको कारण हुन सक्ने सम्भावित घाटा

- इक्विटी जोखिम : शेयरको मूल्यमा उतार चढावको कारण हुन सक्ने सम्भावित घाटा

- मुद्रा जोखिम : अन्तर्राष्ट्रिय मुद्राको विनिमय दरमा आउने उतार चढावका कारण हुन सक्ने सम्भावित घटा

- वस्तु जोखिम : कृषि, औद्योगिक र उर्जा क्षेत्रका उत्पादनहरु जस्तैः गहुँ, तामा र प्राकृतिक ग्यास जस्ता वस्तुहरुको मूल्यमा हुने उतार चढावका कारण हुन सक्ने सम्भावित घाटा

सञ्चालन जोखिम

सञ्चालन जोखिम अपर्याप्त वा असफल आन्तरिक कार्य सम्पादन गर्ने प्रक्रिया, मानव संसाधन र पूर्व निर्धारित कार्य सम्पादन प्रणाली तथा बाह्य घटनाक्रमबाट सृजना हुने जोखिम हो । यसले कानुनी जोखिम समावेश गर्दछ, तर रणनीतिक र व्यावसायिक प्रतिष्ठामा हुने जोखिम समावेश गर्दैन । बैंकमा सञ्चालन जोखिम मानव त्रुटि वा गल्तिले व्यापक रूपमा हुन सक्छ ।

सञ्चालन जोखिम भनेको, कर्मचारीहरू काम छोड्दा, अपर्याप्त आन्तरिक प्रक्रियाहरू, जानकारी र अन्य प्रणालीहरूको अपर्याप्त व्यवस्थापन तथा अप्रत्याशित बाह्य घटनाहरूको कारण बैंकको वित्तीय नतिजा तथा पूँजीमा हुने नकारात्मक प्रभाव हो । जोखिम घटनाहरू बैंक भित्रका सम्बन्धित जनशक्ति, प्रक्रिया र प्रविधिमा आधारित हुन्छ, जुन निम्नानुसार पहिचान गर्न सकिन्छ :

अ) विगतका घटनाहरूको अनुभवबाट

आ) फैसलाहरुबाट

इ) संस्थासँग सम्बन्धित घटनाहरू जस्तै बजार र कर्जा जोखिमबाट भएको नोक्सान

ई) अन्तरज्ञान (Intuition)

उ) नियामक निकायको आवश्यकता आधारमा विशेष घटनामा

ऊ) प्रणाली र प्रक्रियाहरूको भंग, आदी ।

तरलता जोखिम

तरलता जोखिम भनेको बैंकको छोटो अवधिमा श्रृजना हुने वित्तीय आवश्यकताहरु पूरा गर्न असमर्थ हुन सक्ने सम्भावना हो । यो सामान्यतया धितो वा स्थिर सम्पत्तिलाई पूँजी वा आयको नोक्सानी बिना नगदमा रूपान्तरण गर्न असमर्थताको कारण उत्पन्न हुन्छ । बैंकले ठूलो नोक्सानी नभई आफ्नो ऋण दायित्व पुरा गर्न सक्छ कि सक्दैन भनि छानबिन गर्दछ । बैंकले कडा अनुपालना र तनाव परीक्षण (Stress Testing) को सामना गर्दछ जसले बैंकको वित्तीय स्थिरता दर्साउँछ ।

अर्को शब्दमा, तरलता बैंकको वर्तमान समयको वास्तविक अवस्था बुझ्न एकदमै महत्त्वपूर्ण छ । पूँजी स्थितिले विशेष गरी सकटको अवस्थामा बैंकको तरलता प्राप्त गर्नसक्ने क्षमता दर्साउँछ । बैंकसँग तरलता जोखिम मापन, अनुगमन र नियन्त्रणको लागि उपयुक्त प्रणाली व्यवस्था गरिएको हुन्छ । बैंकले आफ्नो तरलता संरचना र सञ्चालनमा बजारको समग्र तरलतालाई ध्यानमा राखेर पूँजीको पर्याप्तता मूल्याङ्कन गर्दछ । बैंकले तरलता आवश्यकता र पूँजीको पर्याप्तता निर्धारण गर्न तनाव परीक्षण (Stress Testing) को प्रयोग गर्दछ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया