धन्तेरसमा सुन किन्नेलाई सामान्य राहात, अन्तर्राष्ट्रिय बजारमै सर्वाधिक उचाइमा पुगेर घट्न थाल्यो
- BFIS News
- 2024 Oct Mon 10:58
काठमाडौं । नेपालीहरुको महान पर्व तिहारको अवसरमा धन्तेरस पारेर सुन चाँदी खरिद गर्नेहरुलाई सामान्य राहात मिलेको छ । अन्तर्राष्ट्रिय बजारमा लगातार बढिरहेको सुनको भाउले हरेक दिन ऐतिहासिक रेकर्ड बनाउदै आइरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा पनि लगातारको बृद्धिमा ब्रेक लागेको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति ओन्स १६.३० डलरले घटेर २७३३.२६ डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा अव केहि समय सुनको भाउमा करेक्सन आउने विश्लेषण गरिएको छ ।
यस सँगै सोमबार नेपाल सुन चाँदी व्यवसायी महसंघले सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटाएको छ । आज छापावाला सुन प्रतितोला एक लाख ६७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार छापावाला सुन प्रतितोला एक लाख ६७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य भने २० रुपैयाँले घटेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला दुई हजार ६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आईतबारको चाँदी प्रतितोला दुई हजार ८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
प्रतिक्रिया