पहिलो त्रैमाशमा सलिकोको व्यवसाय सर्वाधिक धेरै, बजार हिस्सा १२.६१ प्रतिशत ओगट्न सफल
- BFIS News
- 2024 Oct Mon 19:00
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाशिक अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ११ अर्ब ३८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको तुलनामा यस वर्ष ९.०२ प्रतिशतले बृद्धि भएको छ ।
निर्जीवन बीमा कम्पनीहरु मध्ये सगरमाथा लुम्बिनी 'सलिको' इन्स्योरेन्स कम्पनीले सर्वाधिक धेरै बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत वर्षको तुलनामा ९ प्रतिशतले व्यवसाय बृद्धि गर्दै एक अर्ब ४३ करोड रुपैयाँ आर्जन गरेको हो । गत वर्षको यहि अवधिमा एक अर्ब ३१ करोड रुपैयाँ आर्जन गरेको थियो ।
असोज एक महिनामा मात्रै सगरमाथा लुम्बिनीले ४२ करोड ४१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले एक महिनामै २४ हजार ८७१ वटा पोलिसी जारी गरेको हो । तीन महिनाको अवधिमा भने ६९ हजार ७४७ वटा पोलिसी जारी गरेको छ । कम्पनीले असोज महिनामा दशै तिहारको विदाका बाबजुद पनि राम्रो व्यवसाय भित्र्याउन सफल भएको हो ।
असोज महिनामा दशै परेकाले गत वर्षको तुलनामा खासै धेरै बृद्धि गर्न नसकिएको बताउदै आएका छन् । दोस्रो नम्बरमा रहेको सिद्धार्थ प्रिमियरले एक अर्ब १७ करोड रुपैयाँ आर्जन गरेको छ । तेस्रो नम्बरमा रहेको शिखरले एक अर्ब १२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
चौथो नम्बरमा रहेको हिमालयन एभरेष्टले ९१ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दा बजार हिस्सा ८.०७ प्रतिशत ओगटेको छ । प्रमुख कार्यकारी अधिकृत विवादले गर्दा यस त्रैमाशमा कम्पनीको व्यवसाय ३.११ प्रतिशतले घट्यो । पाँचौ नम्बरमा रहेको आइजिआइ प्रुडेन्सियलले ९० करोड रुपैयाँ व्यवसाय भित्र्याएको छ । कम्पनीले गत वर्षको तुलनामा ४.५७ प्रतिशतले व्यवसाय बृद्धि गरेको छ ।
छैठो नम्बरमा रहेको नेको इन्स्योरेन्सले ८९ करोड ७५ लाख रुपैयाँ व्यवसाय भित्र्याएको छ । कम्पनीले गत वर्षको तुलनामा ६.८ प्रतिशतले व्यवसाय बृद्धि गरेको छ । दि ओरियण्टलले ८३ करोड ७६ लाख रुपैयाँ व्यवसाय गर्दा गत वर्षको भन्दा ५९ प्रतिशतले बढेको छ । एनएलजीले ७५ करोड व्यवसाय गरेको छ । युनाइटेड अजोडले ६८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा नेपाल इन्स्योरेन्सको ६१ करोड मात्रै छ ।
प्रतिक्रिया