डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी, अमेरिकी जनताको ‘सानदार जित’ : ट्रम्प
- BFIS News
- 2024 Nov Wed 16:40
काठमाडौं । अमेरिकी राष्ट्रपति पदको चुनावमा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि विजयी भएका छन् । कुल ५३८ सिटमा ट्रम्पले २७७ र कमला ह्यारिसले २२४ सिट प्राप्त गरेको अमेरिकी सञ्चारमाध्यम एपी न्यूजले जनाएको छ । जित्नका लागि कम्तीमा २७० सिटमा विजय हुनुपर्ने थियो । ट्रम्पको जितसँगै अमेरिकामा राजनीतिक दिशामा परिवर्तन आउन सक्ने सङ्केत देखिएको छ ।
उनको विजयले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विभिन्न प्रतिक्रिया उत्पन्न गराएको छ, विशेषगरी अमेरिका–चीन सम्बन्ध, जलवायु परिवर्तन नीतिहरू र नाटो जस्ता मुद्दाहरूमा गहिरो प्रभाव पर्ने अनुमान गरिएको छ ।
ट्रम्पको दोस्रो कार्यकालले ‘अमेरिका प्रथम’ नीति अघि बढाउँदै अमेरिका र अन्य राष्ट्रहरूबिचको सम्बन्धलाई पुनः परिभाषित गर्ने सम्भावना छ । व्यावसायिक पृष्ठभूमिका ट्रम्पले पहिलो कार्यकालमा आर्थिक सुधारका कदमहरू उठाउनुका साथै आप्रवासन, कर नीति र व्यापार सम्बन्धमा कडा अडान लिएको इतिहास रहेको छ । उनका समर्थकहरूले यो जितलाई अमेरिकाको ‘स्वतन्त्र’ तथा ‘सशक्त’ नीति पुनःस्थापनाको विजय मानेका छन् भने आलोचकहरूले यसलाई अन्तर्राष्ट्रिय सम्बन्धमा अस्थिरता निम्त्याउने चेतावनी दिएका छन् ।
ट्रम्पको विजयले आर्थिक मोर्चामा समेत नयाँ तरङ्ग ल्याउने अपेक्षा गरिएको छ । विशेष गरी अमेरिकी बजारमा सकारात्मक सङ्केत देखिएको छ भने अमेरिका–चीन व्यापार युद्धलाई पुनः सुरु गरिने डर पनि छ । ट्रम्पको दोस्रो कार्यकालमा जलवायु परिवर्तन लगायतका अन्तर्राष्ट्रिय मुद्दामा अमेरिकाको सहभागितामा कमी आउन सक्ने र यसले विश्वव्यापी असर पार्न सक्ने विश्लेषकहरूको राय छ ।
अन्ततः ट्रम्पको विजयले अमेरिकाको आन्तरिक र बाह्य नीति, विश्वव्यापी सन्तुलन र कूटनीतिक रणनीतिमा दीर्घकालीन प्रभाव पार्ने विश्वास गरिएको छ ।
ट्रम्पले अमेरिकी जनताको सानदार जित भएको बताएका छन् । फ्लोरिडा राज्यको पाल्म बिचमा समर्थकहरूलाई सम्बोधन गर्दै उनले ‘आफ्नो आगामी कार्यकाल अमेरिकाका लागि ‘स्वर्ण युग’ हुने दाबी गरे । ‘यो अमेरिकी जनताको एक शानदार विजय हो, जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन अनुमति दिनेछ,’ उनले भनेका छन् ।
आफू राष्ट्रपति पदमा विजयी मात्र नभएको अमेरिकाको लोकप्रिय मत पनि जितेको बताए । आफूले आधिकारिक रूपमा आवश्यक इलेक्टोरल कलेज भोटहरू प्राप्त नगरेको भएपनि त्यो प्राविधिक विषय भएको उनको भनाइ छ ।
विभिन्न राज्यमा आफ्नो पक्षमा मतपरिणाम आउने क्रम जारी रहेको र आफूले कम्तीमा ३१५ इलेक्टोरल मत ल्याउने ट्रम्पको भनाइ छ । ‘हामीले सिनेटमा पनि नियन्त्रण कायम गरेका छौं । यो निकै महत्वपूर्ण र महान् छ,’ उनले भनेका छन् ।
सम्बोधनका क्रममा उनले आफ्नी पत्नी मेलानिया ट्रम्पलाई पनि स्टेजमा बोलाएर ‘पहिलो महिला’ भन्दै धन्यवाद दिएका छन् । स्टेजमा उनले मेलानियलाई अंकमाल गरेका थिए । ट्रम्पले सम्बोधन गरिरहेका बेला समर्थकहरूले भने ‘अमेरिका, अमेरिका’ भन्दै हुटिङ गरेका थिए ।
प्रतिक्रिया