पोखरा विमानस्थलमा १७ महिनापछि दोश्रो अन्तर्राष्ट्रिय उडान
- BFIS News
- 2024 Nov Thu 20:29
काठमाडौं । विमानस्थल सञ्चालनमा आएको करिब दुई वर्षको अवधिमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दोश्रोपटक अन्तर्राष्ट्रिय उडान भएको छ ।
चीनको सिचुवान एयरलाइन्सले गत वर्षको असारमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो । त्यसको १७ महिनापछि बिहीबार सिचुवानले नै पोखरामा दोश्रो अन्तर्राष्ट्रिय उडान गरेको हो ।
बिहीबार चीनको कुनमिङ विमानस्थलबाट १३४ यात्रु लिएर आएको सिचुवान एयरलाइन्सको एयर बस ३१९ चार्टर्ड विमान पोखरामा दिउँसो २:४० मा अवतरण भएको थियो ।
उक्त विमानमा पोखरामा हुन लागेको तेस्रो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिताका लागि चिनियाँ खेलाडी, दर्शक र अन्य प्रतिनिधिहरू आएका हुन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरी २०२३ बाट सन्चालनमा आएको थियो । त्यसयता आन्तरिक उडान निरन्तर भइरहेपनि अन्तर्राष्ट्रिय उडान भने यो बल्ल दोस्रो पटक मात्रै हो ।
प्रतिक्रिया