जीवन बीमा कम्पनीले तीन महिनामै कमाए एक अर्ब ९२ करोड, नयाँ व्यावसाय खुम्चिदा घट्दो खर्चले नाफा बढ्यो: विश्लेषक
- BFIS News
- 2024 Nov Sat 13:38
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा १८.६२ प्रतिशतले मुनाफा बृद्धि गरेका छन् । असोज मसान्तसम्ममा कम्पनीहरुले एक अर्ब ९२ करोड रुपैयाँ मुनाफा आर्जन गरेका हुन् । गत वर्षको यहि अवधिमा कम्पनीहरुको खुद मुनाफा एक अर्ब ६२ करोड थियो ।
यद्यपी यो मुनाफा लेखापरीक्षण पछि निकै तलमाथि हुन जान्छ । तर कम्पनीहरुले विद्यमान अवस्थामा गरेको आम्दानी तथा खर्चका आधारमा यो नाफा निकालिएको हुन्छ । कम्पनीहरुले नयाँ व्यवसाय गर्न नसक्दा ठुलो मात्रामा खर्च घटेका कारण नाफा बढेको बीमा विज्ञ रमेश भट्टराईको विश्लेषण छ । उनका अनुसार जीवन बीमा व्यवसायमा नविकरण बीमा शुल्क भन्दा पनि प्रथम बीमा शुल्क आर्जनले बृद्धिदरलाई मापन गरिन्छ ।
पछिल्लो समय जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जनको बृद्धिदर निकै कम छ । यसका साथै नविकरण बीमा शुल्क पनि सरेण्डरका कारण खुम्चिदै गइरहेको छ । बीमा कम्पनीहरुले प्रथम बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्कको ६० प्रतिशत खर्च गर्नु पर्छ । पहिलो वर्ष यति धेरै खर्च गर्नु परेपनि दोस्रो तेस्रो वर्षमा यति धेरै खर्च हुँदैन ।
अहिलेको अवस्थामा बीमा कम्पनीको मुनाफा एकदमै राम्रो देखिनुको कारण राम्रो व्यापार व्यवसाय गरेर भन्दा पनि प्रथम बीमा शुल्क आर्जन गर्न नसक्दा खर्च घटेर नाफा बढेको भट्टराईको विश्लेषण छ । अहिले खर्च घटेर नाफा बढे पनि आगामी वर्षमा यसको प्रभाव भने नकारात्मक हुने उनको भनाइ छ । अहिलेको नाफा कम्पनीको सञ्चालक समिति र सर्वसाधारणलाई झुक्याउने खालको भएको उनको आरोप छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा सबैभन्दा धेरै मुनाफा हिमालयन लाइफले २५ करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ । दोस्रो धेरै मुनाफा नेपाल लाइफको २० करोड ५४ लाख रुपैयाँ छ । जवकी नेपाल लाइफको लेखापरीक्षण पश्चातको मुनाफा २ अर्ब भन्दा माथि हुने गर्छ । यसले गर्दा जवसम्म एक्चुरियल मूल्याङ्कन पछि जीवन बीमा कोषबाट नाफामा रकमान्तर नभएसम्म वास्तविक मुनाफा हेर्न पाइदैन ।
तेस्रो धेरै मुनाफा रिलायबल नेपाल लाइफको १९ करोड ९३ लाख रुपैयाँ छ । बृद्धिदरका हिसावले सबैभन्दा धेरै सिटिजन लाइफको ८३ प्रतिशतले बढेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको मुनाफा भने गएको वर्षको तुलनामा घटेको छ ।
यस वर्ष गएका वर्षको तुलनामा बैंकको व्याजदर निकै तल छ । जसले गर्दा पनि बीमा कम्पनीको मुनाफामा धेरै प्रभाव पार्ने निश्चित छ । बैंकको व्याजदर तल झर्न थाले सँगै कतिपय कम्पनीले आफ्नो लगानीलाई अन्यन्त्र क्षेत्रमा विविधरणकरण गरिरहेका छन् । नेपालका अधिकाम्स बीमा कम्पनीहरु अन्य क्षेत्रमा लगानी गर्नु भन्दा बैंक वित्तीय संस्थामै लगानी गर्न रमाइरहेका छन् ।
प्रतिक्रिया