धितोपत्र बोर्डले अध्यक्ष पाए सँगै शेयर बजारमा सुधार, सबैभन्दा धेरै हाइड्रोपावरका शेयरधनी खुसी
- BFIS News
- 2024 Nov Tue 15:06
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ११ महिना पछि अध्यक्ष पाए सँगै शेयर बजारमा सुधार देखिएको छ । सरकारले सोमबार धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गरेको छ ।
जलविद्युत कम्पनीका लगानीकर्ता समेत रहेका श्रेष्ठको नियुक्ति सँगै जलविद्युत क्षेत्रका शेयरधनी भने खुसी भएका छन् । धितोपत्र बोर्डले जलविद्युत कम्पनीहरुको संस्थापक समुहको शेयरधनीको लकिङ पिरियड बढाउने प्रकृयाँ अगाडी बढाए सँगै यस क्षेत्रका लगानीकर्तामा तरङ्ग पैदा भएको थियो ।
नेपाल विद्युत प्राधिकरणका पुर्व सञ्चालक समेत रहेका श्रेष्ठ आफै हाइड्रोपावर डेभलपर हुन् । उनले जलविद्युत क्षेत्रको मर्का बुझ्ने भन्दै यस क्षेत्रका लगानीकर्ताहरु उत्साहित भएका हुन् । जसले गर्दा मंगलबार शेयर बजारमा जलविद्युत कम्पनीका शेयरमा उछाल आएको छ ।
आज सर्वाधिक धेरै सुधार भएका १० कम्पनी मध्ये ७ वटा जलविद्युत क्षेत्रका कम्पनी छन् । युनाइटेड इदि र कुथेली बुखेरीको शेयर मूल्यमा सकारात्मक सर्किट नै लागेको छ । हाइड्रोपावरको सूचक १.९७ प्रतिशतले बृद्धि भएको छ ।
आज नेप्से सूचक ३३.४१ अंकले सुधार हुँदा २७१६.६६ अंकमा बन्द भएको छ । कारोबार रकम पनि ७ अर्ब ४४ करोड नाघेको छ । २११ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा ३२ वटाको भने घटेको छ । थ्रिस्टार हाइड्रो र कर्णाली डेभलपमेन्टको शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । राष्ट्र बैंकले समस्याग्रस्त भएको भन्दै कर्णाली डेभलपमेन्ट बैंकलाई निक्षेप संकलन र कर्जा लगानी दुबैमा रोक लगाएको छ ।
प्रतिक्रिया