५ महिनामा ४२ कम्पनीले गरे लाभांश घोषणा, अर्थतन्त्रमा मन्दी छाउदा सूचीकृत कम्पनीको लाभांश क्षमता घट्दै
- BFIS News
- 2024 Nov Sat 12:39
काठमाडौं । दोस्रो बजारमा सूचीकृत कम्पनीहरु मध्ये गत आर्थिक वर्षको मुनाफाबाट जम्मा ४२ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन् । अझै ८० प्रतिशत कम्पनीले लाभांश घोषणा गर्न सकेका छैनन् । कतिपय लाभांश घोषणा नगरि साधारणसभा सम्पन्न गरिसकेका छन् भने कतिपयले लाभांश नदिने निर्णय गरेका छन् ।
कम्पनी ऐन अनुसार आर्थिक वर्ष सम्पन्न भएको ६ महिना भित्रमा साधारणसभा सम्पन्न गर्नु पर्छ । अझै बैंक वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले संस्थागत सुशासन भित्र रहेर तोकिएको अवधिमा साधारणसभा सम्पन्न गर्न निर्देशन दिने गरेको छ । जवकी हालसम्म ४ वटा बाणिज्य बैंकले मात्रै साधारणसभा सम्पन्न गरेका छन् भने ४ वटाले मिति तय गरेका छन् । लाभांश दिनेमा ७ वटा मात्रै छन् ।
गत आर्थिक वर्षको मुनाफाबाट अहिलेसम्म सर्वाधिक धेरै युनिलिभरले १७१४ प्रतिशत लाभांश वितरण गरेको छ । कम्पनीले साधारणसभा समेत सम्पन्न गरेर शेयरधनीलाई लाभांश दिइसकेको छ । त्यस्तै दोस्रो धेरै लाभांश बोटलर्स नेपाल तराइको छ । कम्पनीले ५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बुक क्लोज हुन बाँकी रहेकाले अझै पनि शेयर खरिद गर्नेले कम्पनीको नगद लाभांश हात पार्न सक्ने छन् ।
त्यस्तै सोल्टी होटलले ३६.८४ प्रतिशत लाभांश दिदैछ । बुक क्लोज भइसकेको हुँदा अव शेयर खरिद गर्नेले प्राप्त गर्न सक्ने छैनन् । जसलको बुक क्लोज अगाडी शेयर थियो उनिहरुले उक्त लाभांश पाउने छन् । बाणिज्य बैंकहरु मध्ये अहिलेसम्म सबैभन्दा धेरै स्ट्याण्डर्ड चार्टर्ड बैंकले २५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले यस पटक शेयरधनीलाई ६.५ प्रतिशत बोनस शेयर र १९ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । साधारणसभा प्रयोजनका लागि बैंकले बुक क्लोज पनि गरिसकेको छ ।
नेपाल ल्युव आयलले पनि २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद सहित कुल २५ प्रतिशत लाभांश वितरण गरिसकेको छ । बीमा कम्पनीहरु मध्ये सबैभन्दा पहिला सूर्यज्योति लाइफले लाभांश घोषणा गरेको छ त्यो पनि आर्थिक वर्ष सकिएको ५ महिनामै । जीवन बीमा कम्पनीहरुमा यति छिटो लाभांश घोषणा प्रायः हुँदैन ।
रु रु जलविद्युत कम्पनीले पनि १५ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि मात्रै नगद लाभांश वितरण गरिसकेको छ । त्यस्तै एभरेष्ट बैंकले यस वर्ष शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद सहित कुल १५.५३ प्रतिशत प्रतिशत लाभांश वितरण गरिसकेको छ । यस वर्ष पनि अधिकाम्स लघुवित्तको लाभांश १५ प्रतिशत रहेको छ । आकर्षक लाभांश दिने उत्पादन तथा प्रशोधन मुलक कम्पनीहरुको लाभांश खासै आकर्षक देखिदैन ।
कम्पनी ऐन अनुसार यहि पुस मसान्त भित्र साधारणसभा गरिसक्नु पर्ने भएकाले अवको एक महिना दोस्रो बजारमा लाभांश वितरणको मेला चल्नेछ । तर पनि कम्पनीहरुको यस वर्षको लाभांश विगतका वर्षको तुलनामा खासै बढ्ने देखिदैन । दोस्रो बजारमा कम्पनीहरुको लाभांश वितरणको अनुपात हरेक वर्ष घट्दै गइरहेको छ । तर यस पटक जलविद्युत कम्पनीको लाभांशमा पनि केहि सुधार हुने अपेक्षा गरिएको छ । यस बाहेक अन्य क्षेत्रका कम्पनीको लाभांश वितरण गर्ने क्षमता बढ्न सकेको छैन ।
प्रतिक्रिया