आइपिओ ल्याउदै गरेका लघु जीवन बीमा कम्पनीहरु आक्रामक रुपमा बजार विस्तार गर्दै, 'ट्रमबाट नाफा सावधिकबाट कोष बढाउदै'
- BFIS News
- 2024 Dec Wed 08:03
काठमाडौं । लघु जीवन बीमा कम्पनीहरु आक्रामक बजार विस्तार सँगै बजार हिस्सा समेत बढाउन थालेका छन् । तीन लघु जीवन बीमा कम्पनीहरु गार्डियन, क्रेष्ट र लिबर्टी माइक्रो इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको ५ महिनामा ४ लाख ९६ हजार पोलिसी जारी गरिसकेका छन् ।
तीन लघु बीमाले बैदेशिक रोजगार बाहेकको प्रथम बीमा शुल्क मात्रै २१ करोड १७ लाख रुपैयाँ आर्जन गरेका छन् । त्यस्तै नविकरण बीमा शुल्क भने १२ लाख मात्रै छ भने कुल बीमा शुल्क आर्जन ४० करोड ३४ लाख रुपैयाँ छ । यसरी तीन लघु बीमा कम्पनीले कुल बीमा शुल्क आर्जनको १.६६ प्रतिशत बजार हिस्सा ओगटेका छन् ।
तीन लघु बीमा कम्पनीले ५ अर्ब भन्दा ठुलो पूँजी भएका र ७/८ वर्षदेखि ५० औं वर्षसम्मका पुराना बीमा कम्पनी सँग प्रतिस्पर्धा गरिरहेका छन् । साढे ५२ करोड पूँजी बोकेका लघु बीमा कम्पनीहरुले छोटो समयमै आफ्नो हिस्सा देखाउन थालेका हुन् । आइपिओ निष्काशनको तयारी गरिरहेका यि कम्पनीहरुले अवको केहि समयमा चुक्ता पूँजी ७५ करोड पुर्याउने छन् । यसरी तीन बजारको पूँजी एउटा ठुलो बीमा कम्पनी बराबर पनि छैन ।
यहि हिसावले बजार विस्तार गर्दै जाने हो र राम्रो प्रतिफल दिन सक्ने हो भने लघुवीमा कम्पनीले दोस्रो बजारमा भने तहल्कै पिट्ने छन् । जसको शेयर मूल्य माइक्रोफाइनान्स हाराहारीको हुने विश्लेषकहरु बताउछन् । न्युन पूँजी उच्चतम प्रतिफल सँगै शेयर सप्लाइ कम हुँदा लघु बीमाले राम्रो पूँजीगत लाभ दिन सक्ने छन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुले मंसिर मसान्तसम्ममा ६ खर्ब ६१ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
कुन कम्पनीको बजार हिस्सा कति
तीन लघु बीमा कम्पनी मध्ये सबैभन्दा धेरै गार्डियन माइक्रो इन्स्योरेन्स आक्रामक देखिएको छ । गार्डियनले लघु बीमा कम्पनीहरुको व्यवसायमा ३८.५९ प्रतिशत बजार हिस्सा ओगटेको छ । कम्पनी सबैभन्दा धेरै ट्रम इन्स्योरेन्समा केन्द्रित देखिएको छ । गार्डियनले कर्मचारीहरुको ट्रम इन्स्योरेन्समा आफुलाई सबैभन्दा धेरै केन्द्रित गर्दै आइरहेको छ । यसले गर्दा कम्पनीले जारी गरेको बीमा पोलिसीको संख्या तीन ३२ हजार छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा बीमा क्षेत्रका अनुभवी व्यक्तित्व चिरायु भण्डारी छन् । उनि सँगै विगतमा ठुला बीमा कम्पनीमा राम्रो अभनुव हासिल गरेका व्यक्तित्वहरु रहेका छन् ।
दोस्रो धेरै बजार हिस्सा क्रेष्ट माइक्रो इन्स्योरेन्स कम्पनीको छ । कम्पनीले ३६.६५ प्रतिशत बजार हिस्सा ओगटेको छ । कम्पनीले ५ महिनामा १४ करोड ७८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा प्रतापमान श्रेष्ठ रहेका छन् । उनि नेशनल लाइफबाट आएका हुन् । बीमा क्षेत्रमा लामो अनुभव हासिल गरेका उनले कम्पनीलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य लिएका छन् ।
तेस्रो बजार हिस्सा ओगटेको लिवर्टीले ५ महिनामा ९ करोड ९८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले लघु बीमा व्यवसायमा २४ प्रतिशत बजार हिस्सा ओगटेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा रामकुमार यादव रहेका छन् ।
लघु बीमा कम्पनीले वैदेशिक रोजगार बीमालेखमा निश्चित बजार हिस्सा प्राप्त गरेका छन् । जसले पनि बजार हिस्सालाई घट्न दिने छैन । साथै बजार हिस्सा बढाउन थप मद्दत पुर्याउने देखिन्छ । नेपाल बीमा प्राधिकरणले लघु बीमा कम्पनीहरुलाई ५ लाख रुपैयाँसम्मको बीमाङ्क बराबरको पोलिसी जारी गर्ने अधिकार दिएको छ । ठुला जीवन बीमा कम्पनीहरुले जारी गर्ने पोलिसीमा ५ लाखसम्मको बीमाङ्कका पोलिसीकै हिस्सा धेरै छ । यसबाट पनि माईक्रो इन्स्योरेन्सले बजार बढाउने अवसर पाउने छन् ।
प्रतिक्रिया