नेपाल लाइफमा बीमा गर्ने मालामाल, ५० हजार भन्दा धेरैको तीन गुणा प्रतिफल, हेर्नुहोस् तपाइले म्याचुरिटीमा कति पाउनुहुन्छ ?
- BFIS News
- 2025 Jan Wed 06:02
काठमाडौं । नेपाल लाइफमा बीमा गर्ने ५० हजार भन्दा धेरै बीमितले बीमा पोलिसी परिपक्व हुँदा बीमाङ्कको तीन गुणा भन्दा धेरै प्रतिफल पाउने भएका छन् । कम्पनीले २० वर्ष भन्दा लामो अवधिको बीमा गर्ने बीमितहरुलाई घोषणा गरेको अहिलेसम्मको बोनसदरलाई हेर्दा १० लाखको बीमा गर्नेले बीमा पोलिसी परिपक्व हुँदा ३० लाखदेखि ४० लाखसम्म पाउने देखिएको छ ।
नेपाल लाइफले गत आर्थिक वर्ष २०८०/८१ को एक्चुरियल मूल्याङ्कन पछि सार्वजनिक गरेको बोनसदर अनुसार सर्वाधिक धेरै प्रतिहजार ८५ रुपैयाँसम्म दिने भएको छ । केहि मनिव्याक पोलिसीमा भने बोनसदर ५६ रुपैयाँसम्म दिने भएको छ ।
नेपाल लाइफमा प्रतिहजार ८५ रुपैयाँ बोनसदर पाउनेको संख्या ५ हजार भन्दा धेरै छ । यस्तो बोनसदर पाउने बीमितको बीमा अवधि कम्तिमा पनि २५ वर्ष रहेको हुँदा यी बीमितहरुले पोलसी परिपक्व हुँदा तीन देखि साढे तीन गुणासम्म प्रतिफल पाउने छन् । त्यस्तै २० वर्ष भन्दा लामो अवधिको बीमा गर्ने बीमितले प्रति हजार ७० रुपैयाँ भन्दा धेरै प्रतिफल पाउने भएका छन् । यस समुहमा पर्ने बीमितले झण्डै तीन गुणासम्म प्रतिफल पाउने छन् ।
यस्तो छ बोनसदर गणना विधि
बोनस दर सामान्यतया प्रतिवर्ष प्रतिहजार बीमाङ्क उल्लेख गरिन्छ । जस्तै, ८५ रुपैयाँ प्रतिवर्ष प्रतिहजार भन्नाले १० लाख बीमाङ्कमा ८५ रुपैयाँले गुणान गरी र त्यसलाई एक हजारले भाग गर्दा हुन आउने ८५ हजार रुपैयाँ प्रत्येक वर्षका दरले थप रकम प्राप्त हुन्छ । यसलाई विस्तारित रुपमा उदाहरण सहित यसरी बुझ्न सकिन्छ ।
मानौ, कुनै व्यक्तिले नेपाल लाइफमा १० लाख रुपैयाँको जीवन सारथी पोलिसी खरिद गरेको रहेछ, जसको बीमा अवधि २६ वर्ष रहेछ र बीमा कम्पनीले २६ वर्षसम्म एकनास बोनसदर ८५ रुपैयाँ प्रतिवर्ष प्रतिहजार घोषणा गर्दै गयो भने बीमा अवधि पश्चात बीमितले निम्नानुसार रकम प्राप्त गर्दछ ।
नोटः उदाहरणमा देखाइएको अंक केवल उदाहरण मात्रै हो । तपाईले पनि आफ्नो बीमाङ्क, अवधि र घोषित बोनसदर राखेर हेर्न सक्नु हुन्छ । बोनसदर हरेक वर्ष परिवर्तन हुने भएकाले म्याचुरिटी हुँदा पाउने रकममा केहि तलमाथि हुन जान्छ । यद्यपी औषतमा कति पाउन सकिएला भनेर अहिले नै मूल्याङ्कन गर्न भने सकिन्छ । त्यसैले यहाँ उदाहरण सहित बीमितले पाउन सक्ने सम्भावित रकमलाई देखाउन खोजिएको हो ।
नेपाल लाइफले आर्थिक वर्ष २०८०/८१ मा घोषणा गरेको बोनसदर अनुसार बीमितले पाउन सक्ने प्रतिफल
सावधिक जीवन बीमालेख
यो बीमालेखमा बीमितले न्युनतम ६० रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँ सम्म पाउने नेपाल लाइफले जनाएको छ । २० वर्ष अवधिसम्मको बीमालेखमा बोनसदर प्रतिहजार ६० रुपैयाँ तोकिएको छ । यस्तो पोलिसी लिनेको संख्या ११ वर्षदेखि १५ वर्ष अवधिसम्ममा २ लाख २७ हजार ९६३ जना छन् । उनिहरुले यदि १० लाखको बीमा गरेका रहेछन् भने १० वर्षमै १६ लाख र १५ वर्ष छ भने १९ लाख रुपैयाँ पाउछन् । यो पोलिसी २१ वर्षदेखि २५ वर्ष अवधिको लिने १७ हजार भन्दा धेरै छन् । उनिहरुले प्रतिहजार ७० रुपैयाँ पाउदा १० लाखकै बीमामा हिसाव गर्दा पनि २४ लाख ७० हजार र २५ वर्षको गर्दा २७ लाख ५० हजार पाउछन् । अझ ८२ रुपैयाँ पाउनेको हिसाव गर्दा ३१ लाख ३२ हजारदेखि ३४ लाख ६० हजारसम्म पाउनेछन् ।
नौलो सुरक्षित र नौलो केटाकेटी जीवन बीमा
यो बीमा लेख लिनेको संख्या ८८ हजार ७ सय भन्दा धेरै रहेको छ । यो बीमालेखमा पनि न्युनतम ६५ रुपैयाँदेखि ८२ रुपैयाँसम्म निर्धारण गरिएको छ । जसमा १० वर्ष अवधिको बीमा गर्नेले १० लाखकै बीमाङ्कलाई आधार मानेर हिसाव गर्दा साढे १६ लाख पाउने छन् । त्यस्तै २० वर्ष अवधिको बीमा गर्नेले २३ लाख पाउने छन् । यो बीमा अवधिका आधारमा रकम तलमाथि पर्न जान्छ । २६ वर्ष अवधि भन्दा माथिको बीमा गर्नेले कम्तिमा पनि ३१ लाख ३२ हजार भन्दा माथि पाउने छन् ।
एकल बीमा शुल्क भुक्तानीको सुनौलो भविष्य जीवन बीमा योजना
यस्तो बीमा गराउनेको संख्या पनि ४५ हजार भन्दा धेरै छ । उनिहरुको बोनसदर न्युनतम प्रतिहजार ६० रुपैयाँदेखि ६५ रुपैयाँसम्म छ । यसमा पनि १० वर्षको बीमा गर्नेले न्युनतम १६ लाख र २० वर्ष भन्दा माथि गर्नेले २२/२३ लाखसम्म पाउने छन् ।
केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना
यो बीमालेखबाट १० हजार हाराहारी लाभांवित भएका छन् । जस मध्ये १० वर्षदेखि २० वर्ष अवधिका बीमित धेरै छन् । उनिहरुले प्रतिहजार ६० रुपैयाँ भन्दा धेरै पाउने छन् । यस आधारमा उनिहरुले न्युनतम पनि १६ लाखदेखि २२/२३ लाख रुपैयाँसम्म पाउने निश्चित छ ।
जीवन सहारा र अनमोल जीवन
यो बीमालेख खरिद गर्नेको संख्या पनि २ लाख भन्दा धेरै छन् । उनिहरु मध्ये सबैभन्दा धेरै पाउनेको संख्या २१ सय भन्दा धेरै छन् । उनिहरुले यदि १० लाखको बीमा गरेका रहेछन् भने २८ लाख भन्दा धेरै पाउने छन् । त्यस्तै सबैभन्दा धेरै बीमालेख ११ वर्षदेखि १५ वर्ष अवधिको छ । यस समुहकाले न्युनतम पनि १६ लाख ६० हजारदेखि १९ लाख रुपैयाँसम्म पाउने छन् । त्यस्तै १५ वर्षदेखि २० वर्ष अवधिको बीमालेख खरिद गर्नेले २० लाखदेखि २२/२३ लाख रुपैयाँसम्म पाउने छन् ।
नेपाल लाइफले नेपाल बीमा प्राधिकरणको फ्युचर बोनस प्रोभिजनिङ सम्बन्धी व्यवस्थाका कारण गएका दुई वर्ष बोनसदरमा केहि समायोजन गर्नु पर्दा कम देखिन गएको हो । गएको वर्षको भन्दा यस वर्ष बोनसदर बढेको छ । प्रोभिजनिङ पश्चात बीमितले पाउने बोनसदर क्रमिक रुपमा बढ्दै जाने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले बताए । अहिलेदेखिनै प्रोभिजनिङ गर्दै जादा आगामी वर्षहरुमा बीमितले पाउने बोनसदर अझ धेरै सुनिश्चित हुन्छ ।
बीमा कम्पनीहरुले कुनै वर्ष एकदमै धेरै र कुनै वर्ष एकदमै कम बोनसदर देखाउदा बीमितहरु झुक्किने भन्दै प्रोभिजनिङको व्यवस्था गराएको हो । नेपालको बीमा उद्योगमा सबैभन्दा धेरै बीमित बनाउन सफल नेपाल लाइफले गएका वर्षमा आकर्षक बोनसदर दिदै आएको छ । विगतको वर्षहरुमा हेर्ने हो भने प्रारम्भिक वर्षमा न्युनतम ३७ रुपैयाँदेखि ६५ रुपैयाँसम्म दिएको थियो । दोस्रो वर्षमा सम्पुर्ण बीमा पोलिसीमा प्रतिहजार ५० रुपैयाँ पुर्यायो । तेस्रो र चौथो वर्षमा आइपुग्दा सावधिक जीवन बीमामा ५६ रुपैयाँदेखि ७१ रुपैयाँसम्म पुर्यायो ।
आर्थिक वर्ष २०६६/६७ देखि कम्पनीले अधिकतम ८० रुपैयाँसम्म पुर्यायो । साथै सबैभन्दा कम ६० रुपैयाँ कायम राख्न सफल भयो । यहि श्रृङ्खला अहिलेसम्म पनि कायमै छ । गएका दुई वर्षमा कम्पनीले एकल भुक्तानी बीमालेख र अग्रिम भुक्तानी बीमालेखमा बोनसदर ५५ रुपैयाँसम्म तल झार्यो ।
नेपाल लाइफका कतिपय एकल भुक्तानी बीमालेखको बीमा शुल्क गणना विधि नै एकदमै कम बीमा शुल्क तिरे पुग्ने गरी डिजाइन भएका थिए । उदाहरणका लागि १० लाख रुपैयाँ बीमा शुल्क बुझाउदा १८ लाख रुपैयाँसम्म बीमाङ्क कायम हुने गरी डिजाइन भएका छन् । जसमा कम्पनीले अधिकतम बोनसदर दिन सक्ने अवस्था नै रहदैन । जसमा बीमितिले पोलिसी खरिद गर्दा नै ८० प्रतिशत मुनाफा सुरक्षित भइसकेको थियो । यस हिसावले बोनसदर न्युनतम ५० रुपैयाँ हुँदा पनि साढे दुई गुणा बढि प्रतिफल सहित म्याचुरिटीमा साढे तीन गुणा बढि रकम पाउन सक्ने अवस्था छ । कम्पनीले यस्तो अवस्थालाई भने बुझिन आग्रह गरेको छ । यद्यपी अहिले ति पोलिसी बिक्रीमा छैनन् ।
नेपाल लाइफको जीवन बीमा कोष र समग्र वित्तीय अवस्था मजबुद बन्दै गइरहेको छ । यसले गर्दा पनि कम्पनीले जस्ता सुकै जटिल परिस्थितिमा बीमितलाई कम्तिमा पनि दोब्बर र त्यो भन्दा बढि प्रतिफल दिन सक्ने संरचना तयार पारिसकेको छ ।
जीवन बीमा गर्दा सबैभन्दा पहिला कम्पनीले विगतका वर्षमा दिएको बोनसदरलाई हेर्नु पर्छ । साथै कम अवधिको बीमा गर्दा प्रतिफल पनि कम पाइन्छ साथै रक्षावरण हुने अवधि पनि छोटो हुन्छ । त्यसैले बीमा गर्दा लामो अवधिको बीमा गर्दा प्रतिफल पनि धेरै पाइन्छ भने जोखिम बहन अवधि पनि धेरै अवधिको हुन्छ । माथिको उदाहरणमा पनि २० वर्ष भन्दा लामो अवधिको बीमा गर्नेले कम्तिमा पनि तीन गुणा बढि म्याचुरिटी पाइरहेको देखिन्छ । साथै १० वर्षको मात्रै बीमा गर्नेले दोब्बर पाउन पनि मुस्किल छ । नेपाल लाइफमा बीमा गरेर कम्तिमा पनि दोब्बर पाउन १५/१६ वर्ष अवधिको बीमा गर्नु पर्छ ।
प्रतिक्रिया