बीमा प्राधिकरणले कार्यकारी निर्देशकको नियुक्ति कार्यक्षमता मूल्याङ्कबाट गर्ने, एकै पटक चार निर्देशक बनाउदै
- BFIS News
- 2025 Jan Fri 10:55
काठमाडौं । नेपाल बीमा प्राधिकरणले विगत लामो समयदेखि रिक्त रहेको कार्यकारी निर्देशक पद कार्यक्षमता मूल्याङ्कबाट पद पुर्ती गर्ने भएको छ । हाल प्राधिकरणमा तीन जना निर्देशक कार्यकारी निर्देशकको लागि लडिरहेका छन् ।
सञ्चालक समिति तथा तत्कालिन अध्यक्ष वरियताका आधारमा सबैभन्दा अगाडी देखिएका निर्देशक कमल प्रसाद रेग्मीलाई नियुक्त गर्न चाहिरहेको थिएन । यसले गर्दा विगत लामो समयदेखि यो पद रिक्त छ । यस सँगै प्राधिकरणले कार्यक्षमता मूल्याङ्कनको आधार बनाएर तीन निर्देशकहरु कमल प्रसाद गौतम, शुशिलदेव सुवेदी र पुजन ढुङ्गेल मध्ये एक जनालाई नियुक्त गर्ने प्रकृया अगाडी बढाएको हो ।
नेपाल बिमा प्राधिकरणको कार्यकारी निर्देशकसहितका उच्च तहका ११ पदहरुमा आन्तरिक बढुवाको प्रक्रियाद्वारा पदपूर्ति गरिने भएको छ । प्राधिकरणले लोकसेवा आयोगकोे स्वीकृति पश्चात बिमा प्राधिकरणको रिक्त कार्यकारी निर्देशक, निर्देशक, उप निर्देशकदेखि सहायक निर्देशकसम्म कार्यक्षमताको मूल्यांकनबाट गरिने बढुवा, आन्तरिक प्रतियोगिता र खुला तथा समावेशी प्रतियोगितात्मक माध्यमबाट २५ वटा पदपूर्तिको लागि दरखास्त आह्वान गरेको छ ।
प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै कार्यकारी निर्देशक १ जना, निर्देशक ४ जना, उपनिर्देशक ५ जनाको कार्यक्षमताको मूल्यांकनका आधारमा बढुवा गरिने जनाएको छ । १ जना उपनिर्देशकमा आन्तरिक प्रतियोगिताका आधारमा बढुवा गरिने भएको छ । खुला तथा समावेश प्रतियोगितात्मक लिखित परीक्षाबाट सहायक निर्देशक ५ जना, सहायक निर्देशक ५ जना र सहायक प्रथम ४ जनाका लागि दरखास्त आह्वान गरिएको छ।
इच्छुक योग्य उम्मेदवारले माघ १८ गतेभित्र ललितपुरको कुपण्डोलस्थित बिमा प्राधिकरणको मानव संशोधन विभागमा दरखास्त पेस गर्नुपर्नेछ । दोब्बर दस्तुर तिरी माघ २५ गतेसम्म दरखास्त पेस गर्न सकिनेछ ।
अधिकृत तृतीय श्रेणीका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र सहायक प्रथमका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिलाका लागि भने ४० वर्षसम्मको सीमा तोकिएको छ। बिमा प्राधिकरणमा कार्यरत कर्मचारीको हकमा उमेरको हद तोकिएको छैन।
प्रतिक्रिया