आइएमई लाइफमा बीमा गर्दा यसरी हुनेछ डबल
- BFIS News
- 2025 Jan Wed 21:31
काठमाडौं । जीवन बीमा गर्दा धेरै जनाले मेरो डबल हुन्छ कि हुँदैन भनिरहेका हुन्छन् । जव दाबी भुक्तानी लिने बेला हुन्छ धेरै जना डबल नपाउदा निरास हुनेगर्छन् । बीमा गर्दा हामीले थोरै मात्रै सोच विचार गरेर योजना बनायौ भने दोब्बर होइन तेब्बरसम्म दाबी पाउन सकिन्छ ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले अधिकतम प्रतिहजार ८० रुपैयाँसम्म निर्धारण गरेको छ । जीवन बीमा गर्दा हामीले कम्पनीले दिने बोनसदरलाई हेर्नु पर्छ ताकी हामीले गरेको बीमाबाट कतिसम्म प्रतिफल पाउन सक्छौ भनेर मूल्याङ्कन गर्न सक्छौ ।
आइएमई लाइफमा बीमा गरेर डबल बनाउन सकिने तरिकाहरु
यहाँ आइएमई लाइफले आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरेको बोनसदरका आधारमा उदाहरण दिएर बोनसदर गणना गरिएको छ । तपाईहरुले पनि आफुले खरिद गरेको पोलिसीमा उल्लेखित बोनसदर, बीमाङ्क रकम र अवधिलाई लिएर मूल्याङ्कन गर्न सक्नु हुन्छ । यद्यपी कम्पनीले सार्वजनिक गर्ने बोनसदर हरेक वर्ष फरक फरक हुने भएकाले अन्तिममा पाउने रकममा केहि तलमाथि हुन सक्छ । तर पनि हामीले भविष्यमा पाउन सक्ने रकमलाई अन्दाज भने गर्न सक्छौ ।
सावधिक, सिमित अवधि भुक्तानी सावधिक तथा बाल सावधिक जीवन बीमा योजना
आइएमई लाइफले यस बीमा पोलिसीमा न्युनतम प्रतिहजार ३२ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । मानौ, तपाईले १० लाख रुपैयाँको बीमा पोलिसी खरिद गर्नु भयो । यदि तपाई यो पोलिसीबाट डबल होस् भन्ने चाहनु हुन्छ भने कम्तिमा पनि २० वर्ष अवधि राख्नु पर्ने हुन्छ । यदि ३० वर्ष अवधि राखेर बीमा गर्नु भयो भने तीन गुणा प्रतिफल पाउन सकिनेछ । कम्पनीमा यस पोलिसीबाट तीन गुणा दाबी पाउनेको बीमितको संख्या २०५ जना रहेको छ ।
सावधिक तथा आजीवन
आइएमई लाइफमा सावधिक तथा आजीवन बीमा पोलिसी खरिद गर्नेहरुले पनि डबल दाबी पाउन २० देखि २४ वर्ष अवधिकै बीमा पोलिसी खरिद गर्नु पर्नेछ । यदि ९ वर्ष अवधिको पोलिसी खरिद गरियो भने १० लाखमा साढे १२ लाख मात्रै पाइनेछ, १४ वर्षको बीमा गर्दा झण्डै १५ लाख, १९ वर्ष अवधिको बीमा गर्दा झण्डै १९ लाख पाउन सकिन्छ । २५ वर्ष अवधिको बीमा गर्दा २६ लाख २५ हजार पाउन सकिन्छ । अझ ३० वर्ष अवधिको गर्नेले ३४ लाख पाउने छन् ।
आइएमई लाइफले अग्रिम भुक्तानी बीमा पोलिसीमा प्रतिहजार ३० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । कम्पनीले वार्षिक तथा निश्चित अवधिमा अग्रिम भुक्तानी गर्दै जाने पोलिसी बनाएको हुँदा एकमुष्ठ डबल पाउने सम्भावना कम हुन्छ । जसले न्युन शुल्कमा बचत सँगै जोखिम बहन गर्ने पोलिसी चाहन्छन् उनिहरुका लागि अग्रिम भुक्तानी उपयुक्त हुन्छ । जसले अग्रिम रुपमा पाउने भुक्तानीलाई नै अर्को वर्षका लागि बीमा शुल्कको रुपमा जोहो गर्न सक्दछन् । कम्पनीहरुले अग्रिम रुपमा भुक्तानी गर्दै जानु पर्ने भएकाले स्वभाविक रुपमै आकर्षक बोनसदर दिन सक्दैनन् ।
प्रतिक्रिया