ओम मेगाश्री फार्मास्युटिकल्सले पायो आइपिओ निष्काशन अनुमति, सर्वसाधारणलाई १८ लाख कित्ता जारी गर्ने
- BFIS News
- 2025 Jan Thu 18:08
काठमाडौं, माघ ३ गते । पहिलोपटक औषधि कम्पनीले आइपीओ निष्कासन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले माघ ३ गते ओम मेगाश्री फार्मास्युटिकल्स कम्पनीलाई आइपीओ निष्कासनको लागि अनुमति दिएको हो । यस कम्पनीले आइपीओ निष्कासन अनुमति पाएसँगै नेपालमा पहिलोपटक औषधि कम्पनी पुँजी बजारमा भित्रिने भएको छ ।
ओम मेगाश्रीले १८ लाख कित्ता सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । जसअनुसार यस कम्पनीले १८ करोड रुपैयाँ बराबरको सेयर जारी गर्नेछ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
गैरआवासीय नेपाली समेतको लगानीमा स्थापना भएको औषधि उद्योग ओम मेगाश्री फर्मास्युटिकल्स २०८० फागुनमा सञ्चालनमा आएको थियो ।
“स्वास्थ्य र राष्ट्रका लागि एक संकल्प” भन्ने नारा सहित नेपाली उपभोक्ताका लागि यूरोपियन मापदण्डका औषधि उत्पादन गर्ने ओम मेगाश्री फर्मास्युटिकल्सको प्रतिबद्धता रहेको छ ।
कम्पनीको अध्यक्ष अर्जुनकुमार श्रेष्ठ हुन् । मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने औषधिमा आम समुदायको चासो र लगानीप्रवर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्दै गुणस्तरीय औषधिमा जनताको प्रत्यक्ष पहुँच स्थापित गर्न तथा निर्यातको ठोस कार्ययोजनासहित कम्पनी स्थापना गरिएको अध्यक्ष श्रेष्ठले बताएका छन् । देशलाई औषधि उत्पादन, वितरण र निर्यात व्यवस्थामा समेत आत्मनिर्भर बनाउन र जनताको प्रत्यक्ष–परोक्ष उपस्थिति अनिवार्य रहेको तथ्यलाई आत्मसात् गरी यसमा सर्वसाधारण जनताको समेत लगानीको परिकल्पना गरिएको उनले प्रष्ट पारे । झण्डै सवा अर्ब लगानीमा सुरु भएको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको उत्पादन कारखाना चितवनको जुगेडीमा रहेको छ ।
प्रतिक्रिया