श्रम बजारमा अपेक्षित सुधार देखिएन : आईएलओ
- BFIS News
- 2025 Jan Sat 07:56
काठमाडौँ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले कोभिडको प्रत्यक्ष मार खेपेको विश्व श्रम बजारमा अपेक्षित सुधार नभएको बताएको छ ।
‘विश्व रोजगार र सामाजिक दृष्टिकोण प्रवृत्ति–२०२५’ प्रतिवेदन सार्वजनिक गर्दै भूराजनीतिक तनाव, जलवायु परिवर्तनको बढ्दो लागतलगायत कारण विश्व अर्थतन्त्रको विस्तार सुस्त भएको र त्यसको दबाब श्रम बजारमा परिरहेको आईएलओको भनाइ छ ।
‘बजारमा आउने नयाँ श्रम शक्तिकै हाराहारीमा मात्र रोजगारी बढेकाले बेरोजगारी दर ५ प्रतिशत रह्यो,’ प्रतिवेदनमा भनिएको छ, ‘युवा बेरोजगारीमा थोरै सुधार देखिए पनि अझै १२.६ प्रतिशत छ । अनौपचारिक श्रम र गरिबीको स्तर महामारी पूर्वावस्थामा फर्किएको छ । यसले न्यून आयका मुलुकलाई उत्पादनशील रोजगारी सिर्जना चुनौतीपूर्ण छ ।’
सन् २०२४ मा विश्व आर्थिक वृद्धिदर ३.२ प्रतिशत मात्र रहेको छ । सन् २०२३ र २०२२ मा त्यस्तो वृद्धिदर ३.३ र ३.६ प्रतिशत थियो । ‘मुद्रास्फीतिमा केही कमी आए पनि अझै उच्च छ, जसले ज्यालाको मूल्य घटाएको छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘केही समृद्ध अर्थतन्त्रले ज्याला बढाए पनि धेरैजसो देश महामारी र मुद्रास्फीतिको प्रभावबाट बाहिर आउन खोज्दै छन् ।’
प्रतिवेदनले कम आय भएका देशमा युवाको श्रमशक्ति सहभागिता दर घट्दै गएको र उच्च आय भएका देशमा वृद्ध श्रमिक र महिलाको सहभागिता दर बढ्दै गएको पत्ता लगाएको छ । ‘श्रमशक्तिमा लैंगिक अन्तर अझै फराकिलो छ । श्रमशक्तिकमा महिलाको सहभागिता कम छ । यसले जीवनस्तरको प्रगतिलाई सीमित बनाइदिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘श्रमशक्तिमा युवा पुरुषको सहभागिता तीव्र रूपमा घटेको छ ।’
प्रतिक्रिया