वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने चार जना पक्राउ
- BFIS News
- 2025 Jan Tue 12:20

काठमाडौं, माघ १५ गते । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सल्यान छत्रेश्वरी गाउँपालिका-६ घर भई काठमाडौँ महानगरपालिका-१४ बस्ने २५ वर्षीय सुनिल दसौदी, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-५ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३१ वर्षीय विकाश दवाडी, गोरखा शहिदलखन गाउँपालिका-७ घर भई काठमाडौँ महानगरपालिका-१६ बस्ने ३७ वर्षीय सुरेन्द्र विक र काठमाडौँ गोकर्णेश्वर नगरपालिका-८ बस्ने २४ वर्षीया विशाखा पौडेल रहेका छन्।
पक्राउ मध्ये सुनिलले सर्विया पठाइदिछु भन्दै एक जना पीडितबाट २२ लाख ३८ हजार रुपैयाँ, विकाशले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख रुपैयाँ, सुरेन्द्रले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९७ लाख ५४ हजार रुपैयाँ र विशाखाले कुबेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ६० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुनिललाई काठमाडौँ टेकुबाट, सुरेन्द्रलाई काठमाडौँ महानगरपालिका-१४ बाट र विशाखालाई काठमाडौँ महानगरपालिका-१२ बाट आइतबार तथा विकाशलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट सोमबार पक्राउ गरेको हो।
पक्राउ मध्ये सुनिल, विकाश र विशाखालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ तथा सुरेन्द्रलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।
प्रतिक्रिया