बीमा कम्पनीहरु लाभांश घोषणाको अन्तिम तयारीमा, ५ वटाको वित्तीय विवरण स्वीकृतको चरणमा, कसले कति देलान् ?
- BFIS News
- 2025 Jan Tue 21:33
काठमाडौं । यस वर्ष एउटा पनि निर्जीवन बीमा कम्पनीहरुले लाभांश घोषणा गर्न सकेका छैनन् । नेपाल बीमा प्राधिकरणले यस वर्षदेखि निर्जीवन बीमा कम्पनीहरुलाई पनि अनिवार्य भ्यालुएसन गर्नु पर्ने व्यवस्था गरे सँगै लेखापरीक्षणमा ढिलाइ भएको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार अहिलेसम्म चार वटा निर्जीवन बीमा कम्पनीहरुले मात्रै वित्तीय विवरण स्वीकृतिका लागि प्राधिकरणमा पेश गरेका छन् । शिखर इन्स्योरेन्स कम्पनी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी, आइजिआइ प्रुडेन्सियल र हिमालयन एभरेष्टले लेखापरीक्षण सम्पन्न गरेर स्वीकृतिका लागि प्राधिकरणमा पेश गरेका छन् । यि चार कम्पनीले वित्तीय विवरण स्वीकृत हुने वित्तीकै आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गर्न सक्ने छन् ।
जीवन तर्फ सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले साधारणसभा नै सम्पन्न गरिसकेको छ । कम्पनीले मर्जर पश्चातको कर सुविधा प्राप्त गर्न छिट्टै साधारणसभा सम्पन्न गरेको हो । यस बाहेक नेपाल लाइफले लाभांश घोषणा गर्नुका साथै साधारणसभा नै आह्वान गरिसकेको छ । मेट लाइफको पनि लेखापरीक्षण स्वीकृत भइसकेको छ ।
त्यस्तै आइएमई लाइफ र सिटिजन लाइफले पनि वित्तीय विवरण तयार पारी स्वीकृतिका लागि प्राधिकरणमा पेश गरेका छन् । यि दुई कम्पनीले वित्तीय विवरण स्वीकृत हुने वित्तीकै लाभांश घोषणा गर्न सक्ने छन् । लघु बीमा कम्पनीहरु तर्फ भने गार्डियन माइक्रो लाइफ र क्रेष्टले वित्तीय विवरण तयार पारि स्वीकृतिका लागि प्राधिकरणमा पेश गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी जुटाउन पनि १३ वटा कम्पनीलाई थप पूँजी आवश्यक पर्छ । एशियन लाइफले प्राधिकरणले निर्धारण गरेको पूँजी जुटाउन हकप्रद शेयर नै निष्काशन गर्नु पर्ने देखिन्छ । कम्पनीलाई अझै ३२ प्रतिशत पूँजी आवश्यक छ । सन नेपालले हकप्रद शेयर निष्काशन गर्दैछ । कम्पनीलाई २०.७७ प्रतिशत पूँजी आवश्यक छ । निर्जीवन तर्फ राष्ट्रिय बीमा कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनीको धेरै पूँजी जुट्न आवश्यक छ ।
प्रतिक्रिया