मर्चेन्ट बैंकरको लाइसेन्स खुल्यो, १ अर्ब चुक्ता पुँजी पुर्याए आइपीओ जारी गर्न पाउने
- BFIS News
- 2025 Feb Thu 05:13

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकर्सको लाइसेन्स खुला गरेको छ । बोर्डले ६ वर्षदेखि स्थगित रहेको लाइसेन्स खुला गरेको हो । धितोपत्र बोर्डले मर्चेन्ट बैंकिङ व्यवसाय अन्तर्गतको निष्काशन तथा बिक्री प्रवन्धक र शेयर रजिष्ट्रेसन सेवा सञ्चालन गर्ने मर्चेन्ट बैंकर व्यवसायको अनुमति प्रदान गर्ने कार्य पुनः सुचारु गरेको हो । यस भन्दा अगाडी २०७५ साउन ७ गतेदेखि अनुमति प्रकृया बन्द गरिएको थियो ।
यस सँगै अव बीमा कम्पनीदेखि लिएर संस्थागत लगानीकर्ताका रुपमा स्थापना भएका कम्पनी, बैंक वित्तीय संस्था जसले मर्चेन्ट बैंकरको लाइसेन्स चाहिरहेका थिए उनिहरुले पनि आवेदन दिने बाटो खुला भएको छ । यस अवधिमा पुराना मर्चेन्ट बैंकर जो आफै सञ्चालन हुन सकिरहेका थिएनन् ति संस्थाहरुलाई बीमा कम्पनीहरुले खरिद गर्दै आइरहेका थिए ।
बोर्डले १ अर्ब चुक्ता पुँजी कायम रहेका मर्चेन्ट बैंकरले ३० प्रतिशत भन्दा कम नहुने गरी आइपीओ जारी गर्न पाउने व्यवस्था समेत गरेको छ । बोर्डले धितोपत्र व्यवसायी ( मर्चेन्ट बैंकर) नियमावली, २०६७ बमोजिम मर्चेन्ट बैंकिङ व्यवसाय अन्तर्गतको निष्कासन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रेसन सेवा सञ्चालन गर्ने मर्चेन्ट बैंकरको लागि मात्र व्यवसायको अनुमतिपत्र प्रदान गर्ने कार्य पुनः सुचारु गर्ने निर्णय गरेको हो ।
नियमावली बमोजिमको अनुमतिपत्र प्राप्त संस्थाले सार्वजनिक निष्कासन गर्न चाहेमा निष्कासन गर्न सक्ने व्यवस्था समेत गरेको छ । बोर्डका अनुसार आइपीओ निष्कासनका लागि नियमावली बमोजिमको व्यवसाय सञ्चालन गरेको १० वर्ष पूरा गरिसकेको हुनुपर्ने छ । कम्तीमा १ अर्ब चुक्ता पुँजी कायम रहेको भए ३० प्रतिशत भन्दा कम नहुने गरी नियमानुसार धितोपत्र सार्वजनिक निष्कासन गर्न सक्ने व्यवस्था समेत गरिएको बोर्डले जनाएको छ । यहि व्यवस्था नहुँदा केहि मर्चेन्ट बैंकर आइपिओ निष्काशन प्रकृयाँमा गएर पनि फिर्ता आउनु परेको थियो ।
प्रतिक्रिया