बुलिस ट्रेण्डमा दुई पुनर्बीमा कम्पनीको साथ, फागुन लागे सँगै १३७ अंकको सुधार, पुराना रेकर्ड तोड्ने लयमा बजार
- BFIS News
- 2025 Feb Thu 15:18

काठमाडौं । दुई पुनर्बीमा कम्पनीमा देखिएको सुधारले शेयर बजारको पछिल्लो बढ्दो ट्रेण्डलाई टेवा पुर्याएको छ । नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्स कम्पनीको शेयर मूल्य विगत केहि महिना भित्रै झण्डै दोब्बरले सुधार आउदा नेप्से सूचकमा पनि राम्रो बृद्धि भएको छ ।
साताको अन्तिम दिन आज विहीबार पनि नेप्से सूचक ४९.१५ अंकले सुधार भएको छ । कारोबार रकम पनि ११ अर्ब ३९ करोड नाघेको छ । नेप्से सूचक फागुन लागे सँगै १३७ अंकले सुधार भइसकेको छ । नेप्से सूचक ६ महिना यताकै उच्च विन्दुमा पुगेको छ । बजार गएको साउनमा तीन हजारसम्म पुगेर तल झरेको थियो । यस विचमा २४६४ अंकसम्म तल झर्यो ।
पुस र माघ महिना शेयर बजारका लागि खासै फलदायक बन्न नसके पनि फागुन लागे सँगै शेयर बजार लगातार बढिरहेको छ । यस क्रममा हाइ क्यापका कम्पनीको शेयर मूल्यमा बढि चार्मिङ देखिएको छ भने फाइनान्स जस्ता केहि कम्पनीहरुमा भने लगातार गिरावट आएको छ ।
विचको समयमा विकास बैंकमा राम्रै सुधार देखिए पनि टिक्न सकेन । अहिले तिनै लगानीकर्ता पुनर्बीमा कम्पनीहरुमा लागिरहेका छन् । लगानीकर्ताको हरेक ट्रेण्डमा कुनै निश्चित सेक्टरमा फोकर हुने प्रवृत्तीले कसैले कमाउदै गर्दा सोहि समयमा कसैले नराम्रो सँग गुमाइरहेका छन् ।
आज सबैभन्दा धेरै बाणिज्य बैंकको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । निकै तल्लो विन्दुमा रहेका बाणिज्य बैंकको शेयरमा प्रतिशतका हिसावले एकदमै राम्रो सुधार देखिएको छ । अहिले जीवन तथा निर्जीवन बीमा कम्पनीमा खासै आकर्षण देखिएको छैन । विशेषगरी अल्पकालिन लगानीकर्ताले समग्र बजार भन्दा पनि निश्चित स्क्रिप्टमा बढि खेलिरहेका छन् ।
बजार बढ्नुका कारणहरु
- यस बाहेक शेयर बजारलाई साथ दिने धेरै आधारहरु अहिले छन् । यस विचमा शेयर बजार निकै तल झर्यो । यो पनि बजारका लागि अवसर हो ।
- अर्को पक्ष बैंकिङ प्रणालीमा प्रयाप्त तरलता रहदै आएको छ । बढ्दो तरलता सँगै व्याजदर यस वर्षका लागि बढ्ने संकेत देखिदैन ।
- अहिले लगानीका लागि राम्रा अवसर छैनन् । घर जग्गाको कारोबारमा चरम मन्दी कायमै छ ।
- सर्वसाधारणमा निक्षेपको अनुपात बढ्दै गइरहेको छ । यसले पनि लगानीको क्षमता बढाउदै आइरहेको छ ।
- बजार बढ्दो ट्रेण्डमा देखिने वित्तीकै ठुला लगानीकर्ता प्रवेश गर्ने प्रवृत्ती पनि अहिले बजार बढ्नुको अर्को कारण हो । यो टाठा बाठाका लागि अवसर भए पनि सोझा साझाका लागि गुमाउने खतरा पनि हो ।
प्रतिक्रिया