Nepal Life
Global IME Bank

‘ग्लोबल मनी विक – २०२५’ आजदेखि सुरू, ६०० जना विद्यार्थी सँग चार नियामकले गरे अन्तर्क्रिया

National Life
  • BFIS News
  • 2025 Mar Mon 19:12
‘ग्लोबल मनी विक – २०२५’ आजदेखि सुरू, ६०० जना विद्यार्थी सँग चार नियामकले गरे अन्तर्क्रिया
RBB

काठमाडौं । 'Think before you follow, wise money tomorrow'  भन्ने नाराका साथ ‘ग्लोबल मनी विक – २०२५’ आजदेखि आरम्भ भएको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो तेह्रौ संस्करण हो । उक्त अभियानको पहिलो दिन नेपाल राष्ट्र बैंकले नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सहकारी विभागसँगको सहकार्यमा ग्लोबल मनी विकको उद्घाटन कार्यक्रम (National Launch Event) आयोजना गरेको हो ।

NIMB

उक्त कार्यक्रममा काठमाडौंस्थित विभिन्न विद्यालयका कक्षा ७ देखि ९ सम्म अध्ययनरत करिब ६०० जना विद्यार्थीको सहभागिता थियो । गभर्नर महाप्रसाद अधिकारीले उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् । सो अवसरमा उनले वित्तीय साक्षरताको महत्वमाथि प्रकाश पार्दै आफ्नो आवश्यकताका आधारमा वित्तीय सेवाहरू छनोट गर्नुपर्ने धारणा राखे ।

उनले भने, “बैंक तथा वित्तीय संस्थाका आ–आफ्नै ‘प्रडक्ट’ हुन्छन् । बचत र कर्जाका फरक–फरक सर्त र ब्याजदर हुन्छन् । आफूलाई उपयुक्त हुने प्रडक्ट मात्र छनोट गर्नुपर्छ ।” पछिल्लो समय डिजिटल वित्तीय कारोबारको विस्तारसँगै चुनौती समेत थपिएको उल्लेख गर्दै गभर्नर अधिकारीले डिजिटल माध्यमको प्रयोग गर्दा सतर्कता अपनाउन आह्वान गरे ।

कार्यक्रमको उद्घाटन सत्रमा डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रसँगै बैंकका कार्यकारी निर्देशक, निर्देशक, नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण, सहकारी विभागका उच्च अधिकारी र बैंकरहरूको उपस्थिति थियो ।

कार्यक्रमको दोस्रो सत्रमा नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा प्राधिकरण, सहकारी विभाग, बैंकर्स एसोसिएनका अधिकारी र विद्यार्थीहरूको सहभागितामा प्यानल छलफल भएको थियो । सो अवसरमा राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित, धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, सहकारी विभागका निमित्त रजिष्ट्रार रघुनाथ महत र नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाले आ–आफ्ना निकायको कार्य क्षेत्र र कामकारबाहीसँग सम्बन्धित विषयमा विद्यार्थीलाई जानकारी दिए ।

उक्त अवसरमा उनिहरूले विद्यार्थीले राखेका जिज्ञासाको जवाफसमेत दिएका थिए । नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाका निर्देशक हिमप्रसाद न्यौपानेले प्यानल छलफलको सहजीकरण गरेका थिए भने गभर्नरको कार्यालयका कायममुकायम कार्यकारी निर्देशक डा. डिल्लीराम पोख्रेलले समापन मन्तव्य राखेका थिए । सो अवसरमा सहभागी विद्यार्थीहरुबीच वित्तीय साक्षरतासम्बन्धी हाजिरीजवाफ प्रतियोगितासमेत आयोजना गरिएको थियो ।

चैत १० गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामूलक कार्यक्रमहरू सञ्चालन हुनेछन् । नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेडबाट अलगअलग रूपमा युवालक्षित वित्तीय चेतनामूलक कार्यक्रम आयोजना हुनेछन् । साथै, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनीले समेत ग्लोबल मनी विकका लक्षित कार्यक्रमहरू सञ्चालन गर्नेछन् । यस अभियानअन्तर्गत बैंकिङ/वित्तीय, पुँजी बजार, बीमा, सहकारी सेवाका विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रम तय गरिएका छन् ।

जसअन्तर्गत वित्तीय सचेतनामूलक अन्तरक्रिया र विद्यार्थीमाझ चेतनामूलक प्रतियोगिता सञ्चालन हुनेछन् भने सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट चेतनामूलक कार्यक्रम, श्रब्यदृष्य सामग्री र अन्तर्वार्ताहरू प्रसारण गरिनेछन् । यसै गरी, विद्यार्थीलाई वित्तीय सेवाप्रदायक संस्थाका अवलोकन गराउने कार्यक्रमसमेत तय गरिएको छ । उक्त अभियानबाट विद्यार्थीहरुमा वित्तीय साक्षरताको प्रवर्द्धन र पहुँच विस्तारसँगै वित्तीय सेवाका आधारभूत पक्षबारे सचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा राखिएको छ ।

‘ग्लोबल मनी विक’ मूलतः किशोर/किशोरी तथा युवा/युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो ।

Organization for Economic Cooperation and Development (OECD) को संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै आएको छ । राष्ट्र बैंकको संयोजनमा सन् २०१३ देखि नेपालमा ग्लोबल मनी विक मनाउँदै आइएको छ । यस अभियानबाट हालसम्म विश्वका १७६ भन्दा बढी मुलकका करिब छ करोड बालबालिका, किशोरकिशोरी र युवाहरू लाभान्वित भएको OECD ले जनाएको छ । ग्लोबल मनी विकको स्थायी नारा 'Learn.Save.Earn.' रहेको छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया