हाइ क्यापका कम्पनीमा सुधार नआएसम्म बजार साइडवेजमै, लो क्यापका कम्पनीले मात्रै सूचक बढ्दैन, सुबास चन्द्र ढुंगानाको विश्लेषण
- सुबास चन्द्र ढुंगाना
- 2025 Apr Thu 18:46

काठमाडौं, चैत १८ गते । चैत महिनामा लगानीकर्ताले बजार बढ्ने अपेक्षा गरेका थिएनन्, तर महिनाको अन्तिम सातादेखि बजार सम्हालिने आशा थियो। बजार सम्हालिन खोजे जस्तो देखिए पनि अझै अन्योलता कायमै छ। लगानीकर्ता सकारात्मक समाचारको प्रतीक्षामा छन्। हाल आन्दोलनका कुरा चलिरहेका छन्, नयाँ गभर्नरको नियुक्तिको चर्चा पनि छ। ठूला समाचार आउन बाँकी भएकाले बजार अलि फरक ढंगले चलिरहेको देखिन्छ।
यो साता अघिल्ला साता जस्तो ठूलो गिरावट भने आएको छैन। कारोबार रकम बढ्दै गइरहेकाले बजार पूर्ण रूपमा नकारात्मक भन्न सकिँदैन। धेरै लगानीकर्ता समाचार कुरिरहेको पाइन्छ।
तेस्रो त्रैमासिक अवधिको व्याज र किस्ताको विषय पनि महत्त्वपूर्ण छ। गभर्नरको कार्यकाल सकिएपछि धेरैले बजार बढ्ने अनुमान गर्दै पहिले नै शेयर खरिद गरेका थिए, जुन अहिले सेटलमेन्टमा आइपुगेका छन्। त्यसैको असरस्वरूप केहि हदसम्म बिक्री दबाब देखिएको हो।
ठूला लगानीकर्ताका लागि अहिले नै खरिदको उपयुक्त समय हो। उनीहरूले आंशिक रूपमा खरिद गरिरहेका छन्। साना लगानीकर्ताले बजार बढ्ने कुरामा ढिला भएकाले बिक्री गरेका छन्, जसको फाइदा ‘बिग मनी’ले उठाउँदैछ। तर ठूला लगानीकर्ताले समेत आक्रामक रूपमा खरिद गरिरहेका छैनन्।
केही कम्पनीको शेयर ठूला लगानीकर्ताले बिक्री गरेर अन्य कम्पनीतर्फ सिफ्ट गरिरहेका छन्। कारोबारको अन्तिम १५ मिनेटको एभरेजिङमा पनि ठूला खेलाडीहरूको संलग्नता देखिन्छ।
बजारको प्रवृत्ति
बजार अहिले साइडवेज (sideways) अवस्थामा छ। नेप्से सूचक २६५० अंकमा टिकिरहँदा बजार यही अवस्थामा रहनेछ। यदि २६५० भन्दा तल झर्यो भने, नयाँ तल्लो विन्दुमा बटम बन्ने सम्भावना छ।
लगानीकर्ताले सैद्धान्तिक र प्राविधिक विश्लेषण दुवै गर्दै छन्। बजारमा एकुमुलेसन (accumulation) भइरहेको छ कि छैन भनेर हेर्न प्राविधिक विश्लेषण आवश्यक हुन्छ। हालसम्म वितरण (distribution) धेरै देखिएको छैन। ठुला लगानीकर्ताले केहि कम्पनीको शेयर बिक्री गरे पनि क्रमिक रुपमा शेयर उठाइरहेका छन् ।
चैत प्रायः ‘पर्ख र हेर’को महिना हो। मार्चमा बजार प्रायः उकालो लाग्दैन। अप्रिल पनि साइडवेजकै अवस्थामा रहन्छ। तर मे, जुन, जुलाईमा बजारले गति लिने ट्रेन्ड देखिएको छ।
बजार बढ्ने आधारहरू
बजारलाई समर्थन गर्ने मुख्य पक्ष भनेको बैंकको ब्याजदर र तरलता हो। अहिलेको अवस्थामा पनि ब्याजदर धेरै बढ्ने वा तरलता अभाव हुने सम्भावना छैन। बैंकका कर्जाको माग कम भएकाले पैसा प्रणालीमै थुप्रिएको छ, जसले बैंकको आम्दानी घटाएको छ।
यदि कर्जाको माग बढ्यो भने बैंकिङ सूचक सुधार भएर बजारमा गति ल्याउन सक्छ। अन्यथा लो-क्याप कम्पनीहरूमा मात्र कारोबार बढे पनि बजारले २८०० भन्दा माथि जान सक्ने देखिन्न। बजारले ३००० अंक पार गर्न हाई-क्याप जलविद्युत् कम्पनीहरू र वाणिज्य बैंकहरूको चलायमानता आवश्यक छ।
तेस्रो त्रैमासिक वित्तीय विवरणको भूमिका
प्रायः कम्पनीहरूको तेस्रो त्रैमासिक वित्तीय विवरणले कम्पनीको अवस्था अनुमान गर्न सहयोग गर्छ। जलविद्युत् कम्पनीहरूको रिपोर्टमा खासै सुधार नआउने भए पनि अन्य कम्पनीहरूको प्रदर्शन राम्रो रहने अपेक्षा छ।
बैंकहरूको विवरण भने खराब कर्जाको स्थिति कस्तो आउँछ भन्नेमा निर्भर हुनेछ। ठूलो सुधार हुने नदेखिए पनि एकदमै बिग्रिने सम्भावना पनि छैन। चौथो त्रैमासमा सुधार हुने अपेक्षा गर्न सकिन्छ।
शेयर बजार प्रायः अग्रिम रूपमा प्रतिक्रिया जनाउने गर्छ, तर आउँदो हप्तामा सार्वजनिक हुने तेस्रो त्रैमासिक विवरणको असर अझै बजारले देखाएको छैन। त्यसैले बजारले अधिकतम विन्दु पार गर्न केही समय लाग्ने देखिन्छ।
यदि बीमा, उत्पादन तथा प्रशोधनमूलक कम्पनीहरू चलायमान देखिए भने बजारले गति लिनेछ। अन्यथा, अहिले नै ठूलो सुधारको अपेक्षा गर्नु भन्दा पनि केही समय प्रतिक्षा गर्नु बुद्धिमानी हुनेछ।
फाइनान्स, विकास बैंक र लो-क्याप हाइड्रोपावर कम्पनीहरूले मात्र बजार चलाउँदैनन्। नयाँ आइपीओले केही सुधार ल्याए पनि पुराना कम्पनीहरूबाट ठूलो योगदानको आशा नगर्नु राम्रो हुन्छ।
प्रतिक्रिया