१ महिनामा करिब ९ अर्ब रुपैयाँले घट्यो सार्वजनिक ऋण, सावाँ–ब्याज भुक्तानीमा जीडीपीको ४.४३ प्रतिशत खर्च
- BFIS News
- 2025 Apr Thu 19:18

काठमाडौं । सरकारले तिर्न बाँकी सार्वजनिक ऋण १ महिनामा करिब ९ अर्ब रुपैयाँले घटाएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिना अर्थात चैत मसान्तसम्ममा मुलुकको सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।
यसअघि, फागुन मसान्तसम्ममा २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ रहेको मुलुकको सार्वजनिक ऋण १ महिनाको अवधिमा ८ अर्ब ७७ करोड रुपैयाँले घटेको हो । चालु आर्थक वर्षको सुरुमा नेपालको सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो । त्यसयताको ९ महिना अर्थात चैत मसान्तसम्ममा थप २ खर्ब ३३ अर्ब १७ करोड रुपैयाँ ऋण बढेको तथ्यांकले देखाएको छ ।
सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब १ अर्ब ९४ करोड रुपैयाँ र बाह्य ऋण १३ खर्ब ६५ अर्ब ३२ करोड रुपैयाँ छ । कुल सार्वजनिक ऋणमा चैत मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५१.१९ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४८.८१ प्रतिशत रहेको कार्यालयले जनाएको छ । नेपालको अर्थतन्त्रको आकारको अनुपातमा तिर्न बाँकी सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४६.७५ प्रतिशत हो ।
यसमध्ये आन्तरिक ऋण जीडीपीको २२.८२ प्रतिशत र बाह्य ऋण २३.९३ प्रतिशत छ । यता, चालु आर्थिक वर्ष २०८१–८२ मा ऋणको सावाँ तथा ब्याज भुक्तानी (ऋण सेवा खर्च) मा ४ खर्ब २ अर्ब ८५ करोड रुपैयाँ वार्षिक बजेट रहेकोमा चैत मसान्तसम्म २ खर्ब ५२ अर्ब ४८ करोड भुक्तानी भएको छ । यो भुक्तानी वार्षिक बजेट विनियोजनको आधारमा ६२.६७ प्रतिशत हो ।
सरकारले चैत मसान्तसम्म ऋणको सावाँ तथा ब्याज भुक्तानीका लागि नै कुल ग्राहस्थ उत्पादन (जीडीपी) को ४.४३ प्रतिशत खर्च गरिसकेको छ । यस वर्ष सरकारले ऋण तिर्न ४ खर्ब २ अर्ब रुपैयाँ विनियोजन गरेको छ । जुन पुँजीगत खर्चभन्दा धेरै हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पछिल्लो ९ महिनामा सरकारले १ खर्ब ७० अर्ब ९ करोड रुपैयाँ आन्तरिक ऋण तथा ३२ अर्ब ९३ करोड बाह्य ऋणको दायित्व घटाएको छ ।
प्रतिक्रिया