नेपाललाई विश्वकै शेयर हब बनाउने कवि कुमार टिबरेवालाको त्यो ड्रिम प्रोजेक्ट, ठुलो प्रयास पछि पनि आउन सकेन
- पुरुषोत्तम सुवेदी
- 2023 Sep Wed 06:09
काठमाडौं । नेपालमा धेरै समय अगाडीदेखि नयाँ स्टक एक्सचेन्जको लागि बहस सँग सँगै पहल भए । तर अहिलेसम्म पनि मुर्तरुप लिन सकेको छैन । नेपाल धितोपत्र बोर्डका अध्यक्षमा रेवत बहादुर कार्की र नेप्सेको जिएममा सिताराम थपलिया हुँदा यसमा ठुलो बहस भयो ।
सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेन्जले पूँजी बजारको विकासमा काम गर्न सकेन भन्दै निजी स्तरको स्टक एक्सचेन्ज आवस्यक रहेको भन्दै धितोपत्र बोर्डले सकेको पहल गर्दै आइरहेको छ । तर अहिलेसम्म पनि निजी स्तरबाट आउने स्टक एक्सचेन्ज कस्तो हुनु पर्छ भनेर गहन रुपमा बहस हुन सकेको छैन । नयाँ स्टक एक्सचेन्जको आवस्यकता छ वा छैन भन्ने बहस चलिरहदा आज भन्दा ठिक ५ वर्ष अगाडी नेपालको शेयर बजारको पहिलो लगानीकर्ता निरञ्जन कुमार टिवरेवालाले युरोपको दोस्रो ठुलो स्टक एक्सचेन्ज Borse Stuttgart को सहायक कम्पनी ‘एनजिएम’ भित्राउने प्रयास गरेका थिए ।
जर्मनीको दोस्रो ठुलो स्टक एक्सचेन्ज बोर्स स्टुटगार्ट
तत्कालिन अर्थमन्त्री डा. रामशरण महत, अर्थमन्त्रालय र नेपाल धितोपत्र बोर्डलाई समेत जानकारी गराएर प्रारम्भिक मौखिक स्विकृति पछि उनले सन् २०१७ मा एनजिएम सँग प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरे । नेपालबाट आफ्नो छोरा कवि कुमार टिवरेवाला सहित तीन जनाले एनजिएमको मूख्य कार्यालयमै गएर सहमति गरेका थिए । जवकी यसको मुख्य कार्यालयमा जोसुकैलाई प्रवेश गर्ने अनुमति हुँदैन ।
यसमा पनि एउटा रोचक प्रशंग छ । छोरा कवि कुमार टिवरेवालाले सिंगापुरको विश्वविद्यालयमा अध्ययनका क्रममा विश्वकै ठुलो स्टक एक्सचेन्ज NASDAQ को एउटा प्रोजेक्टमा काम गर्ने अवसर प्राप्त गरेका थिए । उनको यो अनुभव र अध्ययनको पृष्ठभुमीलाई लिएर एनजिएमका प्रमुख प्रभावित भए । प्रस्ताव पेश गरेको केहि समयमै एनजिएम प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गर्न राजि भयो ।
उनले भने ‘नेपालमा युरोपको दोस्रो ठुलो स्टक एक्सचेन्ज ल्याउदैछु । यसलाई नेपालमा ल्याएर हङकङ स्टक एक्सचेन्ज सरह समानान्तर रुपमा काम गर्छु । नेपाल स्टक एक्सचेन्जले नेपाली कम्पनीको मात्रै शेयर खरिद बिक्री गर्छ तर हामी विश्वभरिका कम्पनीको शेयर सूचिकृत गरेर कारोबार गर्छौ ।’
यसमा नेपाली रुपैयाँमा शेयर खरिद बिक्री गर्न नपाउने भनिएको थियो । विदेशीहरुले डलरबाटै खरिद बिक्री गर्ने पाउने व्यवस्था गर्ने भनिएको थियो । यसमा नेपाललाई कमिशन मात्रै आउने र अन्य कुनै पनि किसिमको जोखिम नपर्ने भनेपछि अर्थमन्त्री महत एकै पटक राजी भए । यसरी महतको सहमतिमै उनले जर्मनीमा एक चरणको छलफल सकाएर स्विडेनमा एनजिएम सँग सहमति गरेका थिए ।
टिवरेवाला जर्मनीबाट फर्किए । आउने वित्तीकै राजनीतिक परिवर्तन भयो । अर्थमन्त्रीमा डा. युवराज खतिवडा आए । उनले आफ्नो योजना सहित प्रगति विवरण लिएर अर्थमन्त्री डा. खतिवडालाई धेरै पटक भेट गरे । खतिवडा यो प्रोजेक्ट बारे एकदमै सकारात्मक थिए । तर उनले पनि विभिन्न कारणले अगाडी बढाउन सकेनन् ।
टिवरेवालले यो स्टक एक्सचेन्ज नेपालका लागि भन्दा पनि दक्षिण पूर्व एशियालाई टार्गेट गरेर खोल्न चाहेका थिए । यदि कुनै नेपाली कम्पनीले शेयर सूचिकृत गर्न चाह्यो भने शेयरलाई डलरमा कन्भर्ट गर्ने र डलरबाटै खरिद बिक्री गर्ने व्यवस्था मिलाउन सक्थ्यो । नेपालमा यस्ता धेरै कम्पनी छन् जो विदेशी स्टक एक्सचेन्जमा सूचिकृत हुन चाहिरहेका छन् ।
उनका अनुसार यसले क्यापिटल मार्केटमा लिक्वीडिटी ग्यारेन्टी गर्थ्यो । प्रत्यक्ष बैदेशिक लगानीलाई आकर्षित गरी सोबाट नेपाली बजारलाई तरलता प्रदान गर्ने थियो । एनजिएम सँग सँगै नेपालमा अरु तीन वटा शक्तिशाली कम्पनीहरु पनि आउदै थिए । एउटा संसारका ठुला लगानिकर्ताहरुको लगानी परिचालन गर्ने संसारभर नेटवर्क भएका ब्रोकर कम्पनी तथा प्रोडक्ट डेभलपमेन्ट कम्पनी र केवाइसी ब्यबस्थापन गर्ने Market Survillance कम्पनी रहेको थियो
यदि यो स्टक एक्सचेन्ज नेपालमा ल्याउन सकिएको भए ५ वर्षमा नेपालीको वार्षिक प्रती ब्यक्ती आय ५ देखि १० हजार डलर पुर्याउन सकिने टिवरेवालाको विश्वाश थियो । उनले भने ‘यसले देशकै अर्थतन्त्रलाई धेरै माथि पुर्याउन सघाउ पुग्ने थियो ।
शुशासन, पारदर्शिता र इमान्दारिता राखेर काम गर्ने ब्यक्तीहरु मात्र लगानिकर्ता हुनुपर्ने एनजिएमको शर्त थियो । अतः सरकार समक्ष यसमा सरकारकै लगानी रहेका संस्थाहरुलाई लगानी गर्न सुझाएका थिए । यदि नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषको लगानी भयो भने कसैको पनि प्रश्न नउठ्ने उनको तर्क थियो । तर यो प्रस्ताब अगाडि बढ्न सकेन ।
Borse Stuttgart ले विश्वका ३५ वटा देशको क्यापिटल मार्केट सञ्चालन गरिरहेको छ । यदि यो स्टक एक्सचेन्ज आएको भए नेपालको नाम संसारभर चल्थ्यो । उनि भन्छन्, नेपालमा सूचिकृत हुने वित्तीकै स्वचालित रुपमा यस अन्तर्गतका सबै शेयरहरु स्टक एक्सचेन्जमा सूचिकृत हुने भएकाले विश्वका ३५ वटा देशबाट कारोबार गर्ने अवसर प्राप्त हुन्थ्यो । उनले नेपालकै अर्थतन्त्रलाई लिड गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । नाम र प्राविधिक सहयोग पाउने वित्तीकै काम गर्न कुनै गाह्रो कुरा थिएन ।
दक्षिण पूर्व एशिया भित्रका सम्पुर्ण बहुराष्ट्रिय कम्पनीले सूचिकरणका लागि नेपाल आउने थिए । त्यसैले नेपाल दक्षिण एशियाको बित्तिय हब बन्थ्यो ।
अहिले हङकङमा ४५० अर्ब डलर डिपोजिट छ । विश्वका कम्पनीहरु हङकङबाट सिफ्ट हुन खोज्दै छन् । यदि त्यो स्टक एक्सचेन्ज नेपालमा ल्याउन सकिएको भए ति सबै कम्पनी नेपालमा आउने थिए । त्यो ४५० अर्ब डलर डिपोजिटको अधिकांस हिस्सा नेपालमा ल्याउन सकिएको भए नेपालको अर्थतन्त्र धेरै माथि पुग्थ्यो । यसले बैंकिङ प्राणालीमा Low cost deposit ल्याउने थियो र देशको पुँजीको लागत पनि घटाउने थियो । यसले प्रत्यक्षरुपले नेपालको मुद्राको appreciation गराउन सफल हुनका साथै पर्यटनको बिकास तथा उच्चस्तरका पर्यटकहरुको आगमन र विश्वका ठुला ठुला कम्पनीको कार्यालय समेत यहाँ आउने थिए ।
युरोप अमेरिकाको बजारमा स्लोडाउन भइरहेको सन्दर्भमा नयाँ हब खोज्दै जादा नेपाल प्राथमिकतामा पर्ने सम्भावना उच्च छ । मात्र हामीले यहाँ राम्रो वातावरण र प्ल्याटफर्म बनाइदिन सक्नु पर्छ ।
प्रतिक्रिया