शेयरधितो कर्जाको सीमा हटाउन ढकालको आग्रह: 'पूँजी बजारमै छ आर्थिक गतिशीलताको आधार'
- BFIS News
- 2025 May Wed 14:43

काठमाडौं, जेठ ७ गते। नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले डेढ महिनापछि नयाँ गभर्नर नियुक्त भएकोमा खुसी व्यक्त गरेका छन्। उनले गभर्नरविहीन अवस्थाले पूँजी बजारमा नकारात्मक असर पारेको उल्लेख गर्दै अब भने सकारात्मक परिवर्तनको अपेक्षा गर्न सकिने बताएका छन्।
“हामीले समयमा गभर्नर नपाउँदा शेयर बजार चलायमान हुन सकेको थिएन,” उनले भने, “गभर्नरको नियुक्तिसँगै लगानीको उपयुक्त समय आएको छ। पूँजी बजारमा प्रवेश गर्न हरेक हिसाबले अनुकूल अवस्था देखिन्छ।” ढकालका अनुसार अहिले बैंकिङ प्रणालीमा पर्याप्त तरलता छ, बैंकको ब्याजदर अत्यन्त न्यून स्तरमा छ, चालु आर्थिक वर्षको १० महिनाको प्रतिफल पाकिसकेको छ अवको दुई महिनामा हामी पुरै वर्षको प्रतिफल पाउने अवस्थामा पुग्नेछौ।
उनले निवर्तमान गभर्नरले नीतिगत रुपमा पूँजी बजारलाई प्रहार गरेको आरोप पनि लगाए। “यस अगाडीका गभर्नरज्यूले केहि हदसम्म सुधार गर्नुभयो, तर त्यो पूर्णरुपमा भएन,” उनले बताए। “अब नयाँ गभर्नरबाट पूँजी बजारमा तीन ठूला नीतिगत सुधारको अपेक्षा गरिएको छ।”
ढकालले मुलुकले दक्ष र अनुभवी अर्थविदलाई गभर्नर पाएको भन्दै यसलाई सकारात्मक संकेत मानेका छन्। “उद्योगी, व्यवसायी तथा नीति क्षेत्रले समर्थन गरेको व्यक्तिलाई सरकारबाट गभर्नर बनाइनु आशाजनक हो। उहाँले मौद्रिक नीतिका बारेमा गहिरो ज्ञान राख्नु भएको छ, राष्ट्रिय योजना आयोगको उपाध्यक्षको रूपमा काम गरिसक्नु भएको छ,” उनले भने।
गभर्नरलाई सुझाव र शुभकामना
ढकालले नव नियुक्त गभर्नरलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिंदै केहि दिनमै हुन लागेको ९ महिनाको मौद्रिक समीक्षाबाट पनि गभर्नरको प्रारम्भिक कदम थाहा हुने बताए। “उहाँले पहिलो मौद्रिक समिक्षामै उद्योगी, व्यवसायी र पूँजी बजारका सरोकारवालालाई समेट्ने नीति ल्याउनु पर्छ,” उनले भने, “यसो गरेमा सबैमा आत्मविश्वास जाग्नेछ।”
शेयरधितो कर्जाको सीमा हटाउन सुझाव
ढकालले शेयरधितो कर्जामा लगाइएको १५ करोडको सीमा हटाउन माग गरेका छन्। “हामीले सम्पत्ति राखेर कर्जा लिन पाउनु पर्छ भन्ने हाम्रो माग हो। मार्जिन ल्यान्डिङमा अहिलेसम्म कुनै डिफल्ट देखिएको छैन,” उनले स्पष्ट पारे, “तीन दिनभित्र रिकभर हुने सुनिश्चितता भएको यो सुरक्षित क्षेत्र हो। त्यसैले रिष्क वेटेज पनि घटाउनु पर्छ।”
बैंकलाई पूँजी बजारमा सहजता दिनुपर्ने
उनका अनुसार बैंक तथा वित्तीय संस्थामा प्रशस्त पैसा भएको अवस्थामा ती संस्थालाई कोर क्यापिटलको निश्चित प्रतिशतसम्म शेयर खरिद–बिक्री गर्न दिने नीति ल्याउनु पर्नेछ। “यसो गरेमा राष्ट्र बैंकले बजारबाट पैसा खिचिरहन आवश्यक पर्दैन। संस्थागत लगानीकर्ताको आत्मविश्वास पनि बढ्छ र पूँजी बजारले पुनः लय समात्न थाल्छ,” उनले स्पष्ट पारे।
अर्थतन्त्रमा सकारात्मक असर
ढकालले पूँजी बजारले लय समात्नासाथ साना उद्योगी व्यवसायी पनि चलायमान हुने र समग्र अर्थतन्त्र गतिशील हुने बताएका छन्। “त्यसैले कम्तिमा तीनवटा नीति, शेयरधितो कर्जाको सीमा हटाउने, बैंकलाई शेयर कारोबारमा सहजीकरण गर्ने, र रिष्क वेटेज घटाउने व्यवस्थालाई मौद्रिक समिक्षामा समेट्न जरुरी छ,” उनले जोड दिए।
उनले पूँजी बजार स्वाभाविक रुपमा उतारचढाव हुने क्षेत्र भएको भन्दै माग र आपूर्तिको सन्तुलनबाट नै यसको दीर्घकालीन सुधार सम्भव हुने बताए। सही समयमा उचित नीति लिइयो भने पूँजी बजारबाटै अहिलेको सुस्त अर्थतन्त्रमा गति ल्याउन सकिने ढकालको भनाइ छ।
प्रतिक्रिया