Nepal Life

नेपाल इन्भेष्टर फोरमको नव नियुक्त गभर्नरसँग भेट, शेयर धितो कर्जा र लघुवित्तको लाभांश सीमा हटाउनुपर्ने माग

RBB
  • BFIS News
  • 2025 May Mon 16:06
नेपाल इन्भेष्टर फोरमको नव नियुक्त गभर्नरसँग भेट, शेयर धितो कर्जा र लघुवित्तको लाभांश सीमा हटाउनुपर्ने माग
Shikhar detail

काठमाडौं, जेठ १३। नेपाल इन्भेष्टर फोरमले नव नियुक्त नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई कार्यकक्षमै भेट गरी बधाई तथा शुभकामना दिएको छ। भेटका क्रममा फोरमले पूँजीबजार सुदृढीकरणका लागि तीन बुँदे सुझावसमेत प्रस्तुत गरेको छ।

NIMB

गत जेठ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरमा नियुक्त गरेको थियो। फोरमले गभर्नर पौडेलको कार्यकालमा पूँजीबजारले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेको छ।

फोरमले हालै सम्पन्न तेस्रो त्रैमासिक मौद्रिक समीक्षाबाट पूँजीबजारसम्बन्धी जोखिम भार १२५ बाट घटाएर १०० कायम गरिएको निर्णयको खुलेर प्रशंसा गरेको छ। अध्यक्ष तुलसीराम ढकालका अनुसार, लगानीकर्ताहरूको दीर्घकालीन मागअनुसार गरिएको यस निर्णयले बजारलाई सकारात्मक दिशा दिनेछ। फोरमले पूँजीबजार प्रतिकूल कानुनी व्यवस्थाहरू क्रमशः हट्दै जाने विश्वास पनि व्यक्त गरेको छ।

फोरमका अनुसार हालसम्म पूँजीबजारमा करिब ६४ लाख हितग्राही खाता खोलिएको छ, जसका माध्यमबाट ठूलो संख्यामा लगानीकर्ता प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोजगारीमा संलग्न छन्। पूँजीबजार मुलुकको समग्र आर्थिक विकासका लागि पूँजी निर्माणको प्रमुख माध्यमका रूपमा स्थापित हुँदै गएको फोरमको भनाइ छ। यसमार्फत सरकारलाई वार्षिक रूपमा करिब १५–१६ अर्ब रुपैयाँ बराबरको पूँजीगत लाभकर संकलन हुने गरेको समेत फोरमले जानकारी दिएको छ।

फोरमले गभर्नरसमक्ष निम्न तीन बुँदे सुझावहरू प्रस्तुत गरेको छः

१. शेयर कर्जा सीमा खारेज:

प्राकृतिक व्यक्तिका लागि तोकिएको १५ करोड रुपैयाँको शेयर कर्जा सीमा पूँजीबजारमैत्री नभएको भन्दै फोरमले यसलाई खारेज गर्न राष्ट्र बैंकसँग अनुरोध गरेको छ।

२. बैंकहरूलाई शेयर खरिदमा सहजता:

पछिल्लो मौद्रिक नीतिबाट बन्द गरिएको बैंक तथा वित्तीय संस्थाहरूलाई नियमानुसार शेयर खरिद गर्न पाउने व्यवस्थालाई पुनः सुचारु गर्न माग गरिएको छ।

३. लघुवित्तको लाभांश वितरण:

लघुवित्त वित्तीय संस्थाहरूको लाभांश वितरणमा लागू गरिएको १५ प्रतिशतको सीमा हटाई, संस्थाको लाभजन्य क्षमताअनुसार लाभांश वितरण गर्न पाउने व्यवस्था मिलाउन फोरमले आग्रह गरेको छ।

गभर्नर पौडेललाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा अध्यक्ष ढकालसहित फोरमका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। भेटका क्रममा गभर्नर पौडेलले प्रस्तुत सुझावहरूलाई ध्यानपूर्वक सुनेका थिए र पूँजीबजारको सुदृढीकरणका लागि नियमित छलफल र सहकार्यमार्फत अघि बढ्ने प्रतिबद्धता जनाए।

उनले भने, “तपाईंहरूको मागका विषयमा म जानकार छु। आगामी दिनमा पूँजीबजार सुधारका लागि मैले खेल्नुपर्ने भूमिकामा सक्रिय रहन्छु। म तपाईंहरू सबैसँग सहकार्य गर्दै अगाडि बढ्नेछु।”

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया