गभर्नरको बेसौमी बाजाले शेयर बजारमा गिरावट, लगानीकर्ताको अपेक्षा भन्दा बजार विपरित हुँदा मनोबल कमजोर

  • BFIS News
  • 2025 Jun Tue 15:05
गभर्नरको बेसौमी बाजाले शेयर बजारमा गिरावट, लगानीकर्ताको अपेक्षा भन्दा बजार विपरित हुँदा मनोबल कमजोर

काठमाडौं। गभर्नर डा. विश्व पौडेलले बाफियाको विषयमा छलफल हुँदा निश्चित व्यक्तिहरुको पहुँचमा मात्रै कर्जा पुगेको अभिव्यक्तिले मंगलबार शेयर बजारमा नकारात्मक प्रभाव पारेको छ। गभर्नरले अव्यहारिक विषयमा अभिव्यक्ति दिदा शेयर बजारले आज रियाक्ट गरेको बजार विश्लेषकहरु बताउछन्। 

सोमवार प्रतिनिधिसभाको अर्थ समितिमा बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) माथि भएको छलफलमा बोल्दै गभर्नर पौडेलले उक्त विषय सांसदहरूले गम्भीरतापूर्वक विचार गर्नुपर्ने बताएका थिए। 

उनका अनुसार हालैको एक अध्ययनले देखाएको छ कि कुल १९ लाख ४० हजार ऋणीमध्ये केवल ०.०१ प्रतिशतले ३.९ प्रतिशत ऋण उपयोग गरेका छन्। यसले ऋण प्रवाह केही सीमित व्यक्तिहरुमै केन्द्रित हुन थालेको संकेत दिएको पौडेलको भनाइ छ। “कर्जा प्रवाहको प्रक्रिया हेर्दा ऋण केन्द्रीकरणतर्फ गइरहेको जस्तो देखिन्छ,” उनले भने, “यसलाई पनि सांसदहरूले गम्भीरताका साथ हेरिदिनुपर्छ।”

गभर्नर पौडेलले बैंक सञ्चालकहरू स्वयंले ऋण लिन पाउने कि नपाउने, पाउने हो भने कति लिने भन्ने विषयलाई पनि स्पष्ट कानुनी ढंगले परिभाषित गर्नुपर्ने आवश्यकता औंल्याए। उनले थपे, “सञ्चालक भनेको के हो? बैंक सञ्चालन गर्ने व्यक्ति र व्यवसायीबीच के फरक छ? अरु देशमा व्यवस्था छ भने नेपालमा पनि त्यसको आवश्यकता छ कि छैन भन्ने कुरामा पनि सांसदहरूले निर्णय लिनुपर्छ।”

उनका अनुसार मुलुकको समग्र ऋण प्रवाह, त्यसमा देखिएको स्वार्थ द्वन्द्व र त्यसबाट उत्पन्न हुने परिणामलाई मध्यनजर गर्दै बाफिया जस्तो महत्त्वपूर्ण कानुन निर्माणमा संसदले स्पष्ट र दीर्घकालीन सोच राख्नुपर्छ।

गभर्नर पौडेलले भने, “सायद केही व्यक्तिहरुको हातमा ऋण गएको छ भन्ने एउटा साझा बुझाइ (कन्सेन्सस) छ। त्यसलाई कसरी बुझ्ने, धेरै ऋण जानु राम्रो हो कि होइन, त्यसले उत्पादनशीलता बढायो कि घटायो, राज्य सञ्चालनको सिद्धान्तसँग त्यसको कस्तो सम्बन्ध छ भन्ने कुरा सांसदहरूले ध्यान दिनुपर्ने विषय हो।” उनले कर्जा प्रवाह र ऋणीको हकअधिकारलाई बाफिया विधेयकमा स्पष्ट रूपमा परिभाषित गर्नुपर्ने आवश्यकता दोहोर्‍याए। “यो कानुनी रूपमा सुनिश्चित गर्नुपर्ने विषय हो, किनभने ऋण व्यवस्थापन पारदर्शी, न्यायपूर्ण र उत्पादनमुखी हुन जरुरी छ,” गभर्नर पौडेलले बताए।

गभर्नरले यस विषयमा बोल्दै गर्दा व्यवहारिक रुपमा सम्भवन नभएको व्यवसायीहरु बताउछन्। कर्जा जोखिम बहन गर्न सक्ने व्यक्तिहरुले मात्रै लिने र जसले जुन अनुपातमा व्यवसाय गर्छ उहि अनुपातमा कर्जा लिने भएकाले यस्ता विषयमा गभर्नरले तर्क गर्नु आवश्यक नभएको एक व्यवसायीले भने। 

लगानीकर्ताले गभर्नर पौडेल प्रति ठुलो अपेक्षा गरेका थिए। तर उनले आवश्यकता भन्दा बढि सञ्चार माध्यममा अभिव्यक्ति दिदै हिडेपछि हच्किएका छन्। उनि काम भन्दा धेरै कुरामा केन्द्रित हुन थालेको उनिहरुको आरोप छ। 

मंगलबार नेप्से सूचक ३५ अंकले घटेर २६५९ अंकमा झरेको छ। कारोबार रकम पनि ६ अर्ब ६७ करोडमा सिमित भएको छ। हरेक दिन घट्दै जादा लगानीकर्ताको पोर्टफेलियो पनि क्रमिक रुपमा घटिरहेको छ। ओम मेगाश्री र पियोर इनर्जीको सूचिकृत भए पछि लगातार सर्किट लाग्ने क्रम बज पनि कायमै छ। २१४ वटा कम्पनीको शेयर मूल्य घटेको छ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया