Nepal Life

बाफिया संसोधन विधेयकबाट किन तर्सेको?

RBB
  • पर्शुराम कुँवर क्षेत्री
  • 2025 Jun Fri 14:49
बाफिया संसोधन विधेयकबाट किन तर्सेको?
Shikhar detail

काठमाडौं। “बैंकर” र “व्यवसायी” छुट्याउन खोजेको दुई वटा दफाहरु यहाँ चर्चा गरेको छु। पहिलो हो दफा ५२ (१) । यस दफामा भनिएको छ “बैक तथा वित्तीय संस्थाले आफुसंग सम्बध्द व्यक्ति वा कुनै बैकमा उल्लेख्य स्वामित्व भएको व्यक्तिलाई कुनै किसिमको कर्जा वा सुविधा प्रदान गर्न पाउने छैन।” यस दफामा प्रयोग भएका तीन वटा शव्दहरुमा यहाँको ध्यान आकर्षण गर्दछु “आफुसँग”, व्यक्ति र “बैंक”। 

NIMB

दफा २ मा भएको परिभाषा हेर्दा “बैक” भनेको बाणिज्य बैंक र पूर्वाधार विकास बैंक हो। परिभाषा अनुसार “सम्बद्ध व्यक्ति” मा प्रयोग भएको “व्यक्ति” को अर्थ अनुसार प्राकृतिक र कृत्रिम व्यक्ति अर्थात् व्यक्ति तथा संस्था/कम्पनी दुवै पर्दछन भने “उल्लेख्य स्वामित्व” भएको वाक्यांशमा प्रयोग  भएको “व्यक्ति” प्राकृतिक व्यक्ति मात्र हो र यसले संस्था/कम्पनीलाई समेट्दैन।

यस्को आधारमा यो प्रस्तावित दफा अनुसार बैंक तथा वित्तीय संस्थाहरुले “आफुसंग” सम्वध्द व्यक्ति तथा संस्थाहरुलाई कर्जा वा सुविधा दिन पाउदैनन्।  तर, यस्ता सम्बध्द व्यक्ति तथा संस्थाहरुले अन्य बैंक तथा वित्तीय सस्थाहरुबाट भने कर्जा लिन पाउछन्।अहिले भइरहेको विद्यमान दफामा “आफुसँग” भन्ने शव्द छैन र प्रस्तावित संसोधनले झन उदार बनाउदै प्रस्ट्याएको देखिन्छ। यस्बाट कसैलाई कुनै असर पर्दैन। 

प्रस्तावित दफा अनुसार कुनै पनि बाणीज्य बैंक र पूर्वाधार विकास बैकका उल्लेख्य स्वामित्व भएका प्राकृतिक व्यक्तिलाई बैक तथा वित्तीय संस्थाले कर्जा वा सुविधा दिन पाउदैनन्।आफुसंग सम्वध्द नभएका तर अन्य बैक तथा वित्तीय संस्थाहरुका उल्लेख्य स्वामित्व भएका संस्था / कम्पनीहरुलाई र वित्तीय संस्थाहरुका उल्लेख्य स्वामित्व भएका प्राकृतिक व्यक्तिहरुलाई समेत बैंक तथा वित्तीय संस्थाहरुले कर्जा तथा सुविधा दिन यो दफाले रोकेको छैन। 

यो दफाको आधारमा बाणीज्य बैंक र पूर्वाधार विकास बैकका उल्लेख्य स्वामित्व भएका प्राकृतिक व्यक्तिहरुले व्यक्तिगत कर्जा (जस्तै, अटो लोन, होम लोन, शेयर कर्जा, ओभरड्राफ्ट आदी) कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुबाट लिन पाउदैनन्! यही कारणले देशमा न भूकम्प आउँछ न आर्थिक गतिविधि ठप्प हुन्छ। 

“बैकर” र “व्यवसायी” छुट्याउन खोजेको अर्को दफा हो- दफा १८ः “संचालकको अयोग्यता” अन्तर्गत उपदफा (१) मा थप्न प्रस्तावित गरिएको खण्ड (च१)! यस्मा भनिएको छः “सम्बद्ध व्यक्ति वा निजको परिवार वा निज र निजको परिवार सम्बध्द कम्पनी वा संस्थाले लिएको कुल व्यावसायिक ऋण निज संचालक हुन चाहेको बैक वा वित्तीय संस्थाको चुक्ता पूंजीको एक प्रतिशत भन्दा बढी भएको,”
यो प्रस्तावित व्यवस्था अनुसार यदी कुनै व्यक्ति कुनै रु १० अर्व (मानौं) चुक्ता पूँजी भएको बैक वा वित्तीय संस्थाको संचालक हुन चाहेमा यदी उक्त व्यक्ति “सम्बध्द व्यक्ति” रहेछ र उक्त व्यक्ति तथा उक्त व्यक्तिसंग सम्बध्द कम्पनी /संस्थाले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट रु १० करोड़ भन्दा बढीको ऋण लिएको रहेछ भने उक्त व्यक्ति रु १० अर्व चुक्ता पूंजी भएको उक्त बैक वा वित्तीय संस्थाको संचालक हुन पाउदैन।

तर, उक्त व्यक्ति “सम्वद्ध व्यक्ति” रहेन्छ भने रु १० करोड भन्दा बढी ऋण लिए तापनि उक्त बैंक वा वित्तीय संस्थाको संचालक हुन योग्य हुन्छ। यसर्थ, यो व्यवस्था अनुसार सीमीत “सम्बध्द” व्यक्ति अलि ठूला बैक तथा वित्तीय संस्थाको संचालक हुन पाउदैनन्। तर यसैका कारणले देशमा न भूकम्प आउँछ न देशमा आर्थिक गतिविधि रोकिन्छ। 

“बैंकर” र “व्यवसायी” छुट्याउन प्रस्ताव गरिएका कानुनी व्यवस्थाहरुले प्रतिकूल असर गर्ने नदेखिएकोले यसैलाई देखाएर समाजमा डर, त्रास र कोलाहल मचाउन खोज्नु उपयुक्त हुदैन। राज्यको “बैंकर” र “व्यवसायी” छुट्याउने उद्देश्य भने प्रस्तावित कानुनी व्यवस्थाबाट पूर्ण हाशिल हुने देखिदैन तर यी व्यवस्थाहरु उक्त उद्देश्य हाशिल गर्ने तर्फको एउटा कदम भने हो।

(बरिष्ठ बैंकर पर्शुराम कुँवर क्षेत्री बैंकिङ विज्ञ हुन्)

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया