नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिदा १७ वटा फाइदा हुने अध्ययन समितिको निष्कर्ष, शेयर बजार ५० प्रतिशतले बृद्धि हुने !
- BFIS News
 - 2025 Jun 10 20:57
 
                    
काठमाडौं, जेठ २८। नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा एकभन्दा बढी स्टक एक्सचेन्ज सञ्चालन गर्न सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ मंगलबार सार्वजनिक गरेको छ। चिन्तामणि सिवाकोटीको नेतृत्वमा गठित अध्ययन समितिको यो प्रतिवेदन गत पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकबाट कार्यान्वयन गर्ने निर्णय भइसकेको हो।
सोही निर्णयसँगै सरकारले प्रतिवेदन अर्थ मन्त्रालयलाई पठाएर कार्यान्वयन थाल्न निर्देशन दिएको थियो। अर्थ मन्त्रालयले सो जिम्मेवारी धितोपत्र बोर्डलाई दिँदै प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढाएको छ। तर, प्रतिवेदन सार्वजनिक भने हालै मात्र गरिएको हो।
प्रतिस्पर्धी स्टक एक्सचेन्जको आवश्यकता औंल्याउँदै प्रतिवेदन
सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनमा नेपालमा हाल सञ्चालित नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गर्दै नयाँ, आधुनिक र प्रतिस्पर्धी स्टक एक्सचेन्जलाई लाइसेन्स दिनुपर्ने सिफारिस गरिएको छ। प्रतिवेदनमा निजी क्षेत्रको सहभागितामा व्यवसायिक ढंगबाट स्टक एक्सचेन्ज सञ्चालन गर्दा धितोपत्र बजारमा व्यापक सुधार तथा वृद्धि हुने उल्लेख छ।
प्रतिवेदनले औंल्याएका प्रमुख उपलब्धि र परिदृश्य
प्रतिवेदन अनुसार नयाँ स्टक एक्सचेन्ज स्थापना तथा सञ्चालन पश्चात नेपालको धितोपत्र बजारमा निम्न अपेक्षित उपलब्धि र परिदृश्य देखिने छन्:
१. धितोपत्रको दोश्रो बजार पहुँच तथा वित्तीय साक्षरतामा अभिवृद्धि भै धितोपत्र बजारमा लगानीकर्ताहरूको संख्या, कारोबार रकम तथा अन्य बजार गतिविधिहरूमा उल्लेख्य वृद्धि हुने ।
२. धितोपत्रको सूचीकरण,कारोवार, राफसाफ तथा सूचना प्रवाहमा अन्तर्राष्ट्रिय रूपमा प्रचलनमा रहेको आधुनिक प्रविधिमैत्री प्रणालीको विकास तथा सन्चालन हुने ।
३. सूचीकृत सङ्गठित संस्था, धितोपत्रको औजारमा विविधीकरण लगानीकर्ताहरूका लागि नेपालको धितोपत्र बजार लगानीको लागि आकर्षक गन्तव्य हुने ।
४. धितोपत्र बजारका सहभागी ९धितोपत्र दलाल, धितोपत्र व्यापारी, केन्द्रीय निक्षेप सेवा, राफसाफ बैंक, राफसाफ सदस्य, निक्षेप सदस्य आदिको संख्यात्मक तथा गुणात्मक वृद्धि हुने ।
५. धितोपत्र दलाल व्यवसायी सेवा लगायत समग्र दोस्रो बजारको सेवाको पहुँच व्यापक एवं सर्वसुलभ हुँदा देशका ग्रामीण इलाकामा रहेका स(साना बचतकर्ताहरूलाई समेत लगानीको अवसर प्राप्त हुने
६. दोस्रो बजार पूर्वाधार तथा बजार सन्चालन व्यवस्थाको सिद्धान्त अनुरूप कार्यान्वयनमा आउने । यसबाट नेपाली कम्पनीले विदेशबाट पुँजी परिचालन गर्न तथा सूचीकरण हुने र विदेशी कम्पनी नेपालमा सूचीकरण हुने अर्थात क्रस बोर्डर लिस्टिङ्ग एण्ड ट्रेडिङ्गको व्यवस्था गर्न सकिने वातावरण तयार हुने ।
७. एउटै धितोपत्रको दुई स्टक एक्सचेन्जमा सूचीकरण हुन सक्ने व्यवस्था गरी वित्तशास्त्रको आर्विट्रेजको सिद्धान्त अनुसार ज्यादा मूल्याङ्कन भएको बजारबाट लगानीकर्ताहरू कम मूल्याङ्कन भएको बजारमा स्थानान्तरण भई धितोपत्रको वास्तविक मूल्य निर्धारण हुन तथा मूल्य स्थिरता आउनमा सहयोग पुग्ने ।
८. अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूलाई स्थानीय मुद्रामा ऋणपत्र जारी गरी पुँजी परिचालन गर्ने वातावरण तयार हुने ।
९. कृषि, उद्योग, लगाएतका उत्पादनसंग प्रत्यक्ष सरोकार राखे उर्जामुलक कम्पनीहरूको ठुलो संख्या धितोपत्रको दोश्रो बजारमा सूचीकरण हुन आउने ।
१०. रोजगारी र आम्दानीमा वृद्धि हुने, ग्रामीण क्षेत्रको आर्थिक क्रियाकलापहरूको मौद्रिकीकरण भई समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने ।
११. गैर आवासीय नेपाली र विदेशी लगानीकर्ताको लागि धितोपत्र बजार लगानीको लागि आकर्षक गन्तब्य हुने ।
१२. स्टक एक्सचेन्ज सन्चालनमा प्रतिस्पर्धाको वातावरण विकास भई कारोवार शुल्कमा कमी आउने लगानीकर्ता लाभान्वित हुने ।
१३. कारोबार शुल्क घटेपनि कारोबार संख्या र रकममा उल्लेख्य वृद्धि हुँदा धितोपत्र बजारमार्फत पुँजीगत लाभकर, आय कर तथा स्रोतमा कर कट्टी आदि मार्फत सरकारी राजस्वमा वृद्धि हुने ।
१४. धितोपत्रको दोस्रो बजारमा रहेका विभिन्न संरचनात्मक तथा संचलनात्मक कमी कमजोरीहरूमा सुधार भई समग्र बजार नियमन कार्य प्रभावकारी हुन्छ ।
१५. धितोपत्र बजार दीर्घकालीन एवं मध्यमकालीन पुँजी परिचालनको प्रभावकारी माध्यमको रूपमा विकास विस्तार हुन्छ । समग्र वित्तीय प्रणालीको स्थिरता एवं विश्वसनीयता अभिवृद्धिमा सहयोग पुग्छ ।
१६. सूचीकरण व्यवस्था सहज र सहुलियतपूर्ण हुँदा अर्थतन्त्रका वास्तविक क्षेत्रका सङ्गठित संस्थाहरूलाई सूचीकरण लागत र प्रक्रियागत समयमा कमी आई धितोपत्र बजारको माध्यमबाट पुँजी संकलन गरी सूचीकरण गर्न प्रोत्साहित हुने वातावरण तयार हुन सक्दछ ।
१७. देशको कुल ग्राहस्थ उत्पादनको वृद्धि सँगसँगै धितोपत्र बजारमा सूचीकृत सङ्गठित संस्था, धितोपत्र कारोवार, लगानीकर्ताको संख्यामा समेत वृद्धि हुने देखिन्छ ।
३०–५० प्रतिशतसम्म वृद्धि सम्भावना
छिमेकी मुलुक र अन्तर्राष्ट्रिय बजारको अनुभवलाई हेर्दा नयाँ प्रतिस्पर्धी स्टक एक्सचेन्ज स्थापनाले कारोबार, बजार आकार तथा अन्य सूचकाङ्कहरूमा कम्तीमा ३० देखि ५० प्रतिशतसम्म वृद्धि हुने अनुमान गरिएको छ।
आधुनिक बजार संयन्त्रको परिकल्पना
प्रतिवेदन अनुसार निजी क्षेत्रबाट स्थापना हुने नयाँ स्टक एक्सचेन्जमा सुदृढ राफसाफ कोष, अक्सन मार्केट, सेक्युरिटी बोरोइङ्ग एण्ड लेन्डिङ्ग, इन्ट्राडे ट्रेडिङ्ग, र विश्वसनीय बजार परिसूचकको गणना जस्ता संयन्त्र समावेश गरिनेछन्। यसले बजारलाई गतिशील तथा विश्वसनीय बनाउने विश्वास गरिएको छ।
दीर्घकालीन प्रभाव र अन्तर्राष्ट्रियकरण
नयाँ एक्सचेन्जको संचालनले एनआरएन र विदेशी संस्थागत लगानीकर्ताको प्रवेश, भेन्चर क्यापिटल, वैकल्पिक लगानी र एसएमई प्लेटफर्मको विकास जस्ता पहललाई गति दिने उल्लेख छ। यसले नेपालको धितोपत्र बजारलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार उभ्याउने प्रतिवेदनको निष्कर्ष छ।
सरकारले कार्यान्वयन प्रक्रिया अघि बढाइसकेपछि प्रतिवेदन सार्वजनिक हुनु बजारको पारदर्शिता र सूचित निर्णय प्रक्रियाका लागि महत्वपूर्ण मानिएको छ। अब यो प्रतिवेदन अनुसार नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया, नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना तथा समग्र बजार सुधारका कार्यहरू अघि बढ्ने अपेक्षा गरिएको छ। यसले नेपाली पूँजी बजारको आधुनिकता, पहुँच, र समावेशीकरणतर्फ महत्वपूर्ण मोड प्रदान गर्ने विश्वास लिइएको छ।
                        ![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)







                                                            
                                                            
                                                            
                                                            
                                                            









प्रतिक्रिया