एक्सेल डेभलपमेण्ट बैंक र एनसीएचएलबीच सम्झौता : नेपालपे कार्ड र Alipay+ मार्फत अन्तरदेशीय क्युआर भुक्तानीको सुविधा सुरु हुँदै
- BFIS News
- 2025 Jun Thu 12:33
.jpg)
काठमाडौं। एक्सेल डेभलपमेण्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच राष्ट्रिय भुक्तानी स्विच–नेशनल कार्ड स्विच (एनपीएस–एनसीएस) अन्तर्गतको नेपालपे (NEPALPAY) कार्ड सञ्चालन र Alipay+ नेटवर्कमार्फत अन्तरदेशीय क्युआर भुक्तानी सेवा सुरु गर्ने सम्झौता सम्पन्न भएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत डा. इन्द्रकुमार कट्टेल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
यस साझेदारीपछि एक्सेल डेभलपमेण्ट बैंक NEPALPAY कार्ड जारी गर्न, ग्रहण गर्न र प्रयोगकर्ताहरूलाई कम लागतमा उच्च सुरक्षा सहितको घरेलु कार्ड सेवा प्रदान गर्न सक्षम हुनेछ। यसले अन्तर्राष्ट्रिय कार्ड प्रणालीमा निर्भरता घटाउने विश्वास गरिएको छ।
यससँगै NEPALPAY QR अब Alipay+ सँग अन्तरक्रियाशील बन्नेछ, जसले चीन, दक्षिण कोरिया, मलेसिया, युरोप लगायतका मुलुकका पर्यटकहरूलाई आफ्नै डिजिटल वालेट प्रयोग गरी नेपालभर सजिलै भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध गराउनेछ।
Alipay+ ले विश्वभरका ३० भन्दा बढी डिजिटल वालेट र ३०० भन्दा बढी भुक्तानी नेटवर्कलाई जोडेको छ, जसले सीमा पार भुक्तानीलाई सहज बनाउँछ।
एनसीएचएलले हालै आफ्नो प्रणाली NEPALPAY कार्ड र QR सेवाका लागि तयार भएको घोषणा गर्दै विभिन्न बैंक तथा वित्तीय संस्थालाई प्रणालीमा आबद्ध गराउने प्रक्रिया अघि बढाएको छ।
देशभर ४७ शाखा र ३ वटा एटिएममार्फत सेवा दिँदै आएको एक्सेल डेभलपमेण्ट बैंकले यस पहलमार्फत आफ्ना डिजिटल सेवाहरूलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
थप जानकारीका लागि www.nchl.com.np वा www.edb.com.np मा भ्रमण गर्न सकिन्छ।
प्रतिक्रिया