दरम खोला हाइड्रोले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ निष्काशन
- BFIS News
 - 2025 Jun 23 11:16
 
                    
काठमाडौं, असार ९ । दरम खोला हाइड्रो इनर्जी लिमिटेडले आजदेखि (असार ९ गते) आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ।
कम्पनीले रु १ अर्ब ३ करोड ५ लाखको जारी पूँजीको ३८.३३ प्रतिशत अर्थात् ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो। यस अन्तर्गत आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० लाख ३० हजार ५०० कित्ता शेयर निष्काशन गरिएको छ। उक्त शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी गरिएको हो।
यी शेयरहरू गुल्मी जिल्ला अन्तर्गतको मुसिकोट नगरपालिका, बाग्लुङ जिल्लाको गल्कोट नगरपालिका तथा बडीगाड गाउँपालिकाका स्थानिय बासिन्दाले आवेदन दिन सक्नेछन्।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि कुल निष्काशन शेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख ९१ हजार ९५० कित्ता शेयर छुट्याइएको छ। यस्तै कम्पनीले आफ्ना कर्मचारीका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख ४५ हजार ९७५ कित्ता शेयर सुरक्षित राखेको छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाले असार २३ गतेदेखि साउन ६ गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले असार २३ गतेभित्र अनिवार्य रूपमा आवेदन दिनुपर्नेछ।
आईपीओ निष्काशनका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले दरम खोला हाइड्रो इनर्जी लिमिटेडलाई 'आईआरएन डबल बी माइनस' रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले निर्माण गरिरहेको ९.६ मेगावाट क्षमताको दरम खोला जलविद्युत आयोजना कुल लागत २ अर्ब ३८ करोड रुपैयाँ रहेको छ। प्रति मेगावाट लागत २५ करोड रुपैयाँ रहेको यो आयोजना २८ वर्षको विद्युत उत्पादन अनुमति अवधि बाँकी रहेको बताइएको छ। साधारण लगानी फिर्ता हुने अवधि ९.८३ वर्ष र छुटमा (Discounted Payback Period) लगानी फिर्ता हुने अवधि १७.९० वर्षको अनुमान गरिएको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाहरूले ग्लोबल आइएमई बैंकको वामी शाखा, लक्ष्मी सनराइज बैंकको गल्कोट शाखा, प्रभु बैंकको गल्कोट शाखा तथा दरम खोला पावरहाउसबाट आवेदन दिन सक्नेछन्। यसका लागि दरखास्त फाराम लिँदा २ रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सबै सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
                        ![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)







                                                            
                                                            
                                                            
                                                            
                                                            









प्रतिक्रिया