गभर्नर डा. विश्वनाथ पौडेल बिआइएसको ९५औं वार्षिक बैठकमा सहभागी, भारतीय र चिनियाँ समकक्षीसँग भेट
- BFIS News
- 2025 Jun Mon 15:21

काठमाडौं, असार १६। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल २०२५ जुन २७ देखि २९ तारिखसम्म स्विट्जरल्याण्डको वासेलमा आयोजित Bank for International Settlements (BIS) को ९५औं वार्षिक बैठकमा सहभागी भएका छन्।
सन् १९३० मा स्थापित BIS विश्वको प्रमुख अन्तर्राष्ट्रिय वित्तीय संस्था हो, जसमा हाल ६३ देशका केन्द्रीय बैंकहरू सदस्य छन्। यो संस्थाले विश्वभर मौद्रिक तथा वित्तीय स्थायित्व कायम राख्न, केन्द्रीय बैंकहरूबीच सहकार्य बढाउन र वित्तीय प्रणालीको विकासमा महत्वपूर्ण योगदान दिँदै आएको छ।
बैठकमा गभर्नर पौडेलले "CPMI Emerging Markets and Developing Economies – Bridging Gaps: Financial Inclusion, Regional Integration and Cross-Border Payments" तथा "BIS Innovation Hub Seminar: AI and Safety" विषयक अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाए। कार्यक्रममा अन्तरदेशीय भुक्तानी प्रणालीमा भएका उपलब्धिहरू, कृत्रिम बौद्धिकता (AI) को प्रयोगबाट उत्पन्न चुनौतीहरू र त्यसको समाधानका लागि आवश्यक नीतिगत उपायहरूबारे विस्तृत छलफल भएको थियो।
त्यसैगरी, गभर्नर पौडेलले "Regulation and Competitiveness" विषयक अन्तरक्रियामा पनि सहभागी भई आफ्नो विचार राखेका थिए। बैठकको अवसरमा BIS का महाप्रबन्धक अगस्टिन कार्सटेन्सले वार्षिक प्रतिवेदन सार्वजनिक गरेका थिए भने प्रख्यात अर्थशास्त्री प्रा. मौरिस ऑब्स्टफेल्डले "The International Monetary System: A Fork in the Road" शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए।
गभर्नर पौडेलले BIS का महाप्रबन्धक अगस्टिन कार्सटेन्ससँग छुट्टै भेटघाट गरी नेपाल राष्ट्र बैंक र BIS बीचको सहकार्यबारे छलफल गरेका थिए। साथै, BIS बैंकिङ विभागका प्रमुख लुइस वेड्ङ्गोचाको नेतृत्वमा विभागका अन्य अधिकारीहरूसँग पनि भेटवार्ता भएको थियो। सो अवसरमा विदेशी विनिमय सञ्चिति व्यवस्थापनलाई अझ लाभदायक बनाउन सुन खरिद र अन्तर्राष्ट्रिय बजारमा उपलब्ध नयाँ उपकरणहरूमा लगानी गर्ने विषयमा छलफल भएको थियो।
बैठकका क्रममा गभर्नर पौडेलले भारतीय रिजर्व बैंकका गभर्नर सञ्जय मल्होत्रासँग समेत भेट गरेका थिए। भेटमा दुई केन्द्रीय बैंकबीच द्विपक्षीय सहकार्य विस्तार, भुक्तानी प्रणाली सुदृढीकरण र जनशक्ति विकासका विषयमा सहमति भएको थियो।
त्यसैगरी, People's Bank of China (PBC) का गभर्नर पान गोङशेङसँगको भेटमा द्विपक्षीय सहयोग, बैंकिङ कारोबार तथा भुक्तानी प्रणालीलाई सहज र प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो।
गभर्नर पौडेलसँगै राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक गोविन्दप्रसाद नागिला र गभर्नरको कार्यालयका निर्देशक एवं सञ्चालक समितिका सचिव शरण कुमार अधिकारीको पनि सहभागिता रहेको थियो।
प्रतिक्रिया