NIMB Header 2
Nepal Life

बाढीले जलविद्युत आयोजनामा गम्भीर क्षति, सातको मृत्यु, उन्नाइस बेपत्ता – इप्पानद्वारा दुःख व्यक्त

Muktinath Bank
  • BFIS News
  • 2025 Jul 10 13:47
बाढीले जलविद्युत आयोजनामा गम्भीर क्षति, सातको मृत्यु, उन्नाइस बेपत्ता – इप्पानद्वारा दुःख व्यक्त
Everest Bank

काठमाडौं। चीनको तिब्बत हुँदै नेपाल प्रवेश गर्ने लेहेन्दे खोला (भोटेकोशी) मा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोट जिल्लामा निर्माणाधीन तथा सञ्चालनमा रहेका नेपालतर्फका १० भन्दा बढी जलविद्युत आयोजनामा गम्भीर क्षति पुर्‍याएको छ।

Shikhar
NIMB

यस बाढीका कारण नेपाल–चीन जोड्ने मितेरी पुल समेत बगाउनुका साथै टिमुरेस्थित निर्माणाधीन सुख्खा बन्दरगाहमा ठूलो क्षति पुर्‍याएको छ। यस दुखद घटनामा ७ जनाको मृत्यु भएको र १९ जना नागरिक बेपत्ता भएको पुष्टि भएको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ।

इप्पानका अनुसार बाढीबाट करिब २५० मेगावाट क्षमताका सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरूको उत्पादन पूर्ण रूपमा बन्द भएको छ भने ३५० मेगावाटभन्दा बढी क्षमताका निर्माणाधीन आयोजनाहरूको निर्माण कार्य अवरुद्ध भएको छ। यसले आयोजना निर्माण र सञ्चालनमा संलग्न कम्पनीहरूलाई ठूलो भौतिक र आर्थिक क्षति पुर्‍याएको छ।

बाढीबाट प्रभावित आयोजनाहरूमा १११ मेगावाटको रसुवागढी जलविद्युत, ६० मेगावाटको त्रिशूली ३ए, २५ मेगावाटको त्रिशूली जलविद्युत केन्द्र, २२ मेगावाटको चिलिमे, १४ मेगावाटको माथिल्लो मैलुङ, १४ मेगावाटको देवीघाट तथा ५ मेगावाटको मैलुङ खोला जलविद्युत आयोजना परेका छन्। यीमध्ये विद्युत प्रवाह गर्ने त्रिशूली ३बी हब सवस्टेशनमा क्षति भएको कारण देवीघाट, त्रिशूली र त्रिशूली ३ए बाहेकका आयोजनाहरूको उत्पादन बन्द भएको हो।

निजी क्षेत्रको सहभागितामा निर्माण भइरहेका माथिल्लो त्रिशूली १ (२१६ मेगावाट), सुपर त्रिशूली (१०० मेगावाट) र त्रिशूली ३बी (३७ मेगावाट) जस्ता जलविद्युत आयोजनामा पनि बाढीले ठूलो क्षति पुर्‍याएको छ। त्रिशूली नदी करिडोरमार्फत विद्युत् प्रसारण हुने त्रिशूली ३बी सवस्टेशन र प्रसारण लाइनमा क्षति पुगेकाले आगामी केही दिन विद्युत उत्पादन र प्रसारण ठप्प रहने र त्यसले दैनिक करोडौं रुपैयाँको घाटा निम्त्याउने देखिएको छ।

त्यसैगरी, टिमुरेस्थित सुख्खा बन्दरगाहबाट दर्जनौं कन्टेनर, सयौं गाडीहरू बगाउनुका साथै निर्माणाधीन सुख्खा बन्दरगाह पूर्णरूपमा ध्वस्त बनेको छ। नेपाल–चीन व्यापारको मुख्य नाका मितेरी पुल बगाउँदा नेपाली व्यवसायमा परेको असरप्रति पनि इप्पानले गहिरो दुःख प्रकट गरेको छ। नेपाल–चीनबीच वार्षिक १ खर्ब रुपैयाँभन्दा बढीको व्यापार हुने उक्त नाका बन्द हुँदा राष्ट्रको राजस्वमा गम्भीर असर पर्ने भएकोले इप्पानले तत्काल वैकल्पिक मार्ग तथा मूल नाका पुनः सञ्चालनमा ल्याउन सरकारसँग माग गरेको छ।

उद्धार कार्यमा संलग्न नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बललाई इप्पानले तदारुकतापूर्वक उद्धार कार्यमा लागेकामा धन्यवाद व्यक्त गर्दै, अहिले पनि जोखिम कायमै रहेकोले आवश्यक नीति तथा प्रक्रिया सहज बनाइ क्षतिग्रस्त संरचनाको पुनःनिर्माण र विद्युत् उत्पादन–प्रसारण सञ्चालनमा ल्याउन सरकारलाई आग्रह गरेको छ।

इप्पानले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। बेपत्ता हुनेको संख्या अझै बढ्न सक्ने तथा बाढीको जोखिम यथावत् रहेकोले सबै नदी बेसिनमा बसोबास गर्ने स्थानीयवासीहरुलाई उच्च सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया