NIMB Header 2
Nepal Life

माबिलुङ इनर्जीको आइपीओमा मागभन्दा ६.३८ गुणा बढी आवेदन, ५५ हजारभन्दा बढीले आवेदन दिए

Muktinath Bank
  • BFIS News
  • 2025 Jul 11 12:03
माबिलुङ इनर्जीको आइपीओमा मागभन्दा ६.३८ गुणा बढी आवेदन, ५५ हजारभन्दा बढीले आवेदन दिए
National Life

काठमाडौं, असार २७ – माबिलुङ इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ)मा उल्लेख्य संख्यामा आवेदन परेको छ। कम्पनीको १ लाख ५० हजार ४७१ कित्ता शेयरको लागि खुल्ला गरिएको आईपीओमा ५५ हजार ६२९ जना आवेदकले ९ लाख ६० हजार २० कित्ताका लागि आवेदन दिएका छन्। सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार असार २७ गते बिहान १०:२५ बजेसम्म जम्मा ९ करोड ६० लाख २ हजार रुपैयाँ बराबरको आवेदन परेको हो। यो माग तोकिएको भन्दा ६.३८ गुणा बढी हो।

NIMB

माबिलुङ इनर्जीले असार २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी आईपीओ खुला गरेको थियो। इच्छुक नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आवेदन दिने अन्तिम मिति साउन ४ गतेसम्म तोकिएको छ।

कम्पनीले कुल ३८ करोड ५८ लाख २४ हजार रुपैयाँ जारी पूँजीको ४८.९९९८ प्रतिशत हिस्सा अर्थात १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता साधारण शेयर निष्काशनको अनुमति पाएको हो। यस अन्तर्गत संखुवासभा जिल्लाका आयोजनाबाट प्रभावित मादि नगरपालिका वडा नं. ७, ८, ९ र चैनपुर नगरपालिका वडा नं. २, ३, ७, ८, ९ का स्थानीय बासिन्दाहरूका लागि ३ लाख ८५ हजार ८२४ कित्ता शेयर निष्काशन गरिनेछ।

त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको कुल शेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १० प्रतिशत, अर्थात् १ लाख ५० हजार ४७१ कित्ता शेयर छुट्याइएको हो, जसको कुल मूल्य १ करोड ५० लाख ४७ हजार १०० रुपैयाँ बराबर पर्छ।

शेयर निष्काशन तथा बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सि-आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था र 'मेरो सेयर' मार्फत आवेदन दिन सक्नेछन्। यस्तै, आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाहरूले ग्लोबल आइएमई बैंक चैनपुर, हिमालयन बैंक मादि नगरपालिका, लक्ष्मी सनराइज बैंक खाँदबारी तथा आयोजनास्थल मादि नगरपालिका–७ बाट आवेदन दिन सक्नेछन्। आवेदन फारममा २ रुपैयाँ शुल्क लाग्नेछ।

कम्पनीलाई इक्रा नेपालले दिएको क्रेडिट रेटिङ “इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी प्लस” रहेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको देखाउँछ। माबिलुङ इनर्जी लिमिटेडले ४.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजना सञ्चालन गर्दै आएको छ, जसको अनुमानित लागत १ अर्ब १३ करोड ६० लाख रुपैयाँ रहेको छ।

विद्युत अनुमति पत्रको अवधी अझै ३१ वर्ष बाँकी रहेको र लगानी फिर्ता हुने औसत अवधि ९.४३ वर्ष तथा छुट दिइएको मूल्यमा लगानी फिर्ता हुने अवधि १७.०९ वर्ष रहेको बताइएको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया